शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हत्या हिंसाले समाजका अन्य नागरिकलाई पनि मानसिक समस्या हुनसक्छ : डा. सरोज ओझा (भिडियोसहित)

मङ्गलबार, १४ जेठ २०७६, १२ : ५५
मङ्गलबार, १४ जेठ २०७६

काठमाडौँ । जेठ ७ गते पाँचथरमा ९ जनाको सामूहिक हत्या भयो । केही दिनअघि भक्तपुरमा जेठाजुले आफ्नै बुहारीको हत्या गरे । वैशाख ३ मा काभ्रेकी एक शिक्षिकाको श्रीमानले हत्या गरे । 
यी केही उदाहरण मात्रै हुन् । हिजोआज दैनिक यस्तै घटनाले सञ्चार माध्यम भरिन थालेका छन् । प्रेम सम्बन्ध, यौन सम्बन्ध र घरायसी भनाभन जस्ता सामान्य खटपटकै कारण हत्यासम्म भइरहेका छन् । यस्ता खटपट सामान्य देखिए पनि त्यसले ल्याएको परिणामलाई हेर्ने हो भने त्यो मानसिक विचलनको अवस्थाकै कारण हो । 

यस्ता घटना वृद्धि हुनुमा सामान्य नागरिकको मानसिक अस्वस्थताका कारण हो भन्ने मनोचिकित्सकहरुको विश्लेषण छ । मानिस स्वस्थ्य रहन सामाजिक, मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुपर्छ तर नेपालमा दैनिक घटना हुनुमा मानसिक र सामाजिक स्वास्थ्य राम्रो नभएर हो भन्ने चकित्सकहरूको भनाइ छ । 

मानसिक स्वास्थ्य भन्नाले मनोविज्ञान र सामाजिक स्वास्थ्य भन्नाले पारिवारिक र सामाजिक कुरा पर्छन् । नेपालीहरूको कुरा गर्ने हो भने आर्थिक समस्या, पारिवारिक कलह, लागू पदार्थ सेवन, बेरोजगार हुनु मानसिक समस्याका प्रमुख कारण मानिएको छ । यस्ता कारणले गर्दा नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट हुने घटना बढ्दै गएको त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभागका प्रमुख डा. सरोज ओझा बताउँछन् ।

फोटोः सुवास श्रेष्ठ

फ्रस्टेसन, डिप्रेसन अर्थात् जीवनमा बाँच्नको सार भएन जस्ता कुरा सोच्ने र ठूलो किसिमको तनावलाई झेल्न नसक्ने व्यक्तिले हत्या, आत्महत्या गर्ने गरेको मनोविद्हरु बताउँछन् ।

डा. सरोज ओझाका अनुसार ‘नेपालमा हुने गरेका हत्याका घटनालाई हेर्ने हो भने कति मानिसलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि हुन सक्छ, कतिले लागूपदार्थ सेवनका कारणबाट पनि हत्या गरेको हुनसक्छ । तर नेपालमा मानसिक स्वास्थ्यलाई पनि महत्त्वका साथ रोकथाम र उपचारमा लाग्ने हो भने यस्ता दैनिक घटनामा कमी हुने देखिन्छ ।’

यस्ता घटनाले समाजमा कस्तो समस्या निम्तिन्छ
हत्या हिंसाका घटना घटीसके पनि त्यसले परिवार, आफन्त र समुदायका विभिन्न व्यक्तिहरुमा लामो समयसम्म मानसिक त्रास बढाइरहन्छ । रातोपाटीसँग कुरा गर्दै डा. ओझा भन्छन्, ‘२०७२ को भूकम्प गएको धेरै वर्ष भए पनि मानिसमा त्रास भने अझैसम्म पनि छ । त्यसले गर्दा ती प्रभावित मानिसहरुले आफ्नो काममा पूर्ण रूपमा ध्यान दिन सकेका छैनन् ।’ यस्ता घटनापछि समुदायमा कस्तो असर पर्छ भन्ने कुरालाई सबैले महत्त्वको साथ हेनुपर्ने वरिष्ठ मनोचिकित्सक ओझा बताउँछन् । समाजमा हुने विभिन्न घटनाले नागरिकलाई त्रास थप्ने काम भइरहेको छ । ठूलो घटना, दुर्घटना, प्राकृतिक विपद् या मान्छेले नै निम्त्याएका विभिन्न घटनाले मानसिक रूपमा नागरिकलाई समस्या भइरहेको विज्ञहरु बताउँछन् । 

‘समाजमा हुने यस्ता घटनाले नागरिकलाई दैनिक काममा बाधा सिर्जना गराउँछ, ती काम गर्न गाह्रो हुन्छ । कतिपय मान्छेलाई त्यस्ता हिंसाका घटना र दुर्घटनाको झझल्को मनमा आउने, एक्कासि डर लाग्ने समस्या आउँछन् भने कति मान्छेलाई निन्द्रा नलाग्ने, मन आत्तिने समस्या देखिन सक्छ,’ डा. ओझा बताउँछन् । 

यस्ता घटनाले त्यस समाजका बस्ने नागरिकलाई दैनिक काम गर्न कठिन भएर आर्थिक, पारिवारिक रूपमा झन् झन् नराम्रो अवस्था आइपर्छ । विस्तारै डिप्रेसन र आत्महत्याका अवस्थासम्म पुग्ने मनोविद्हरुको भनाइ छ । 

यस्तो बेलामा विशेष सहयोग चाहिन्छ 
हाम्रो समाजमा हुने यस्ता प्रकृतिका नकरात्मक घटनाबाट प्रभावितलाई राष्ट्रले पनि मनोसामाजिक परामर्श दिने व्यवस्था गर्नुपर्छ । उनीहरुलाई विशेष ध्यान दिई गाँस, बास, कपासको व्यवस्था गर्नेतर्फ सरकार लाग्नुपर्ने डा. ओझा बताउँछन् । यस्ता घटना भएका ठाउँमा सुरक्षा व्यवस्था, मनोविद्हरुसँग परामर्शको व्यवस्था गर्ने लगायतका कुरामा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।

यस्ता घटना भएका ठाउँका नागरिकलाई सुरुका केही दिनमा आफ्नो कामलाई पहिलाको जसरी निरन्तरता दिनलाई निकै गाह्रो हुने, मन कमजोर हुने र विभिन्न समस्या देखापर्ने विज्ञहरुको तर्क छ । 

यस्ता घटनाका फोटो, भिडियो नहेर्नुस् 
पछिल्लो समय समाजमा घटेका बीभत्स घटनाका फोटो तथा भिडियो सामाजिक सञ्जालमा राख्ने गरिन्छ । यसले धेरै व्यक्तिलाई मानसिक तनाव गराउँछ । बीभत्स फोटोले टाउको दुख्ने, निन्द्राको समय बर्बराउने, एक्लै बसेको बेलामा एक्कासि छटपटी हुने जस्ता समस्या देखापर्छन् ।

जसले गर्दा व्यक्ति आफै पनि यस्ता दृश्य नहेर्दा राम्रो हुने मनोविद्हरु बताउँछन् । यस्ता घटनाका फोटोहरु सामाजिक सञ्जालमा राख्दा समाजमा सकारात्मक सन्देश जान्छ । त्यसैले त्यसलाई छानेर राख्नुपर्ने देखिन्छ  । व्यक्ति आफैले पनि आफूलाई गाह्रो हुने दृश्यहरु नहेर्दा नै राम्रो हुने चिकित्सकहरु बताउँछन् ।
मानसिक रोग भनेर छुट्टै नराख्दा नै राम्रो 

हत्या, हिंसा न्यूनीकरणका लागि सरकारले पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । नागरिकले आफ्नो परिवार या समाजमा कुनै घटना भएपछि मनोचिकित्सकसँग परामर्श लिने हो भने मानसिक स्वास्थ्यसम्बन्धी समस्या धेरै कम हुने डा. ओझा बताउँछन् । डा. ओझाका अनुसार  हरेक ५ जनामध्येमा १ जनालाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या पाइन्छ । तसर्थ स्वास्थ्य संस्थाले पनि मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिन सक्ने हो भने नेपालमा हुँदै आएको हत्या, आत्महत्याका घटना कम हुन सक्ने देखिन्छ । 

शरीरिक रोगको तत्काल उपचारका लागि जसरी अस्पताल गइन्छ त्यसरी नै मानसिक रोगको उपचारमा लागू भएको पाइन्न । मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई परिवारका सदस्यले पनि सहयोग र सकारात्मक रूपमा सोच्ने हो भने यस्ता समस्याबाट उत्पन्न हुने घटना पक्कै पनि कम हुन्छ । 

भिडियो हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप