केन्द्रीय संस्करण
टिप्पणी

गणतन्त्रको छहारीमा भीआइपी कि यमराजको सवारी ?

person explore access_timeजेठ १४, २०७६ chat_bubble_outline3

लोकतान्त्रिक गणतन्त्र नेपालमा भीआइपी नाम धारण गरेको, आफूलाई आमजनताभन्दा अति उँचो, अति विशिष्ट ठान्ने एउटा ‘अनौठो वर्ग’ अस्तित्वमा छ । असनका मैमत्त साँढेलाई जस्तै यो वर्गका अधिकांशलाई ऐन, नियम, कानूनको मर्यादा, ख्याल र परवाह हुँदैन । सिद्धान्ततः कानूनको नजरमा सबै समान हुने गर्छन् । तर बोली र बचनमा अग्रगमनको रटान लगाएर पनि हिजोको राणाकालीन र शाही राजतन्त्रकालीन ‘भिभीआइपी’ संस्कारलाई ग्वाम्मै अंगालो हालेर बसेको यो वर्गलाई विद्यमान ऐन, कानून, नियमहरुले रोक्दैन, छेक्दैन । जब भीआइपी दर्जा पाएको यो वर्गको ‘सवारी’ सडकमा चल्छ, सडकमा हिँड्ने, गुड्ने सर्वसाधारणहरु असनको मैमत्त साँढे सडकमा हिँडेको बेलामा भन्दा पनि तीन गुना बेसी आतंकित हुनुपर्ने स्थिति पैदा हुन्छ ।

‘‘भीआइपी’ को सवारी चलाउँदा हामीले पटक्कै गाडी रोक्नु हुँदैन र मानिस नै मारेपनि हामीलाई कुनै कानून लाग्दैन’ भन्ने भयानक मतिभ्रमले दीक्षित सुरक्षा दस्ताको अगुवाइमा चल्ने भीआइपीको सवारीको बेला अधिकांशतः उनीहरु चढ्ने र अगुवापछुवाको गाडीको बेग, तीब्रता र हकाइको शैली र तौरतरिकाहरु हलिउडका फिल्ममा देखाइने राजनेताहरुलाई आतंककारीहरुले हमला गरेपछि जोगाउनलाई भगाएका गाडीहरुलाई पनि माथ गर्ने खालका हुन्छन् ।

सवारी गुड्न र मान्छे हिँड्नका लागि बनाइएका सार्वजनिक सडक, फुटपाथ, पेटीहरु कसैको वपौती होइन । तर जब सडकमा भीआइपी नामधारी वर्गको सवारी चल्छ, यस्तो दृश्य पैदा हुन्छ, मानौं सडक र सडकछेउका पेटी मात्र त के, यो सम्पूर्ण चराचर जगत् ब्रम्हाण्डलाई नै तिनीहरु आफ्नो वपौती ठान्छन् । सडकमा कहाँ कसरी, कुन लेनमा, कति गतिमा गुड्नुपर्ने हो; कहाँ, कसरी, किन, कुन सवारीले पालो पर्खनुपर्ने हो, कुन खालको सवारीलाई कुन ठाउँमा कसले बाटो छाड्नुपर्ने हो; कुन ठाउँमा कहाँ कताबाट ओभरटेक गर्न मिल्ने–नमिल्ने हो— यो वर्ग र तिनलाई परिचालन गर्ने जिम्मा बोकेका सुरक्षानामधारी समूहलाई कुनै चासो, चिन्ता र मतलब हुँदैन । ‘‘भीआइपी’ को सवारी चलाउँदा हामीले पटक्कै गाडी रोक्नु हुँदैन र मानिस नै मारेपनि हामीलाई कुनै कानून लाग्दैन’ भन्ने भयानक मतिभ्रमले दीक्षित सुरक्षा दस्ताको अगुवाइमा चल्ने भीआइपीको सवारीको बेला अधिकांशतः उनीहरु चढ्ने र अगुवापछुवाको गाडीको बेग, तीब्रता र हकाइको शैली र तौरतरिकाहरु हलिउडका फिल्ममा देखाइने 'राजनेताहरुलाई आतंककारीहरुले हमला गरेपछि जोगाउनलाई भगाएका गाडीहरु'लाई पनि माथ गर्ने खालका हुन्छन् ।  बंगालको खाडीमा उठेको तुफान जस्तो, जथाभावी, तीब्र गतिमा दाैडाइनुमा पुरुषार्थ ठानिइन्छ; फलत: सडकमा नियमसंगत गुडिरहेका सवारी चालकहरुलाई भयानक रुपमा आतंकित बनाउँदै, कतिपय अवस्थामा त ठोक्दै, पछार्दै अनियन्त्रित गतिमा गाडी कुदाउने गरिन्छ । त्यो दृश्य देख्दा यस्तो लाग्छ,  जति बढी सर्वसाधारणलाई आतंकित पार्दै अगुवापछुवासहित सवारी कुदाउन सक्यो, उति नै लोकले आफूलाई अलौकिक जगतका विशिष्ट प्राणी ठान्छ भन्ने खालका अनौठो मनोविज्ञानले त्यो वर्ग ग्रसित छ र त्यस्तो कर्म जति बढी गर्न सक्यो, त्यति नै उनीहरु त्यसमा आफ्नो महान् पुरुषार्थ प्रतिविम्बित हुने ठान्छ । सडकमा तिनको सवारी चल्दा यस्तो दृश्य पैदा हुन्छ, मानौं त्यहाँ कुनै भीआइपीको गाडी कुदिरहेको छैन, बरु त्यहाँ यमराजको सवारी चलिरहेको छ, जसले कुनै पनि बेला, कुनै पनि ठाउँबाट जो कसैलाई पनि सहजै यमलोकको टिकट कटाइदिन सक्छ ।

Source: https://i0.wp.com/

अचम्म र उदेकलाग्दो थप कुरा त के भने, यो वर्गलाई सडकमा गुड्दा तीखो स्वरमा साइरन बजाएर दगुर्दा असीम आनन्दको अनुभूति हुन्छ कि जस्तो प्रतीत हुन्छ । सयौं मिटर पर मस्त सुतिरहेका बालबालिकालाई समेत कहालिँदै उठ्न बाध्य बनाउने गरी तिनको सवारीमा त्यसरी साइरन बजाइएन भने यसलोकका पददलित नेपाली जनताले भीआइपीको सवारी आएको थाहा पाउँदैनन् भन्ने असीम भय तिनमा हुन्छ कि जस्तो पनि भान हुन्छ ।  तिनको सवारीलाई निकण्ट सम्पन्न गर्न र जोरीपारीलाई देखाउनका लागि नै भएपनि ‘काले काले मिलेर खाउँ भाले’ शैलीमा राज्यबाट दिइने/लिइने आवश्यकताभन्दा बढी नै सुरक्षाकर्मीको तामझामबीच सडकमा तीब्र गतिमा गुडिरहेका अगुवापछुवा गाडीबाट शरीरको आधाजसो भाग बाहिर निकालेर राताे डण्डा हल्लाउँदै उनीहरुले सडकमा गुडिरहेका सवारी चालकहरुलाई गर्ने गालीगलौच र हप्कीदप्की अनि पछाडि बसेका सुरक्षाकर्मीहरुका तीर जस्ता छेडिहाल्ने खालका रोषपूर्ण नजर देख्दा मानिसहरुमा भीआइपीको सवारी आयो भन्नेबित्तिकै अनौठो आतंक र भय सिर्जना हुन्छ । त्यसक्षण ती हप्कीदप्की गर्ने तथा बन्दुक बोकेर गाडीमा गुड्ने मनुवाहरु सर्वसाधारणका लागि भीआइपीका सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी कम खतरनाक यमदूत बढी लाग्ने गर्छ ।

ती हप्कीदप्की गर्ने तथा बन्दुक बोकेर गाडीमा गुड्ने मनुवाहरु सर्वसाधारणका लागि भीआइपीका सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी कम खतरनाक यमदूत बढी लाग्ने गर्छ ।

हिजोको पञ्चायतकालीन, राजतन्त्रकालीन अँध्यारोकालखण्डमा पनि यस्ता र यीभन्दा पनि खतरनाक, डरलाग्दा भीआइपी नामधारी वर्ग अस्तित्वमा थिए र तिनीहरुको कथित ‘सवारी’ चल्दा चलाइँदा कतिपय अवस्थामा योभन्दा डरलाग्दो अवस्था, दृश्य सिर्जना गराइन्थ्यो । तर पनि त्यस कालखण्डमा आमजनताले तुलनात्मक रुपमा कम दुःख सास्ती खप्नुपथ्र्यो, खप्नुपरेको महसुस गर्थे । त्यसबेला अहिले जस्तो गल्लीगल्ली, चोकचोक, नाकानाकामा भीआइपी नामधारी वर्ग वर्खामासका देवले च्याउजस्तै पलाएका थिएनन्, समाजमा तिनको उपस्थिति पातलो थियो । अनि त्यसबेला अहिलेको जस्तो काठमाडौमा मान्छेको अनि सडकमा सवारी साधनको चाप थिएन । त्यसैले त्यसबेला भीआइपी नामधारी यो अनौठो वर्गको सवारी चल्दा आम जनताले झेल्न सिकेका थिए ।

हेक्का राख्नुपर्ने कुरा के हो भने, हिजोको पञ्चायत, राजतन्त्रलाई जनताले बागमतीमा लगेर मिल्काउनुका अन्तर्य यस्ता भीआइपी वर्गहरुको चुरीफुरी सहन नसक्नु पनि एक थियो । कुरै गर्ने हो भने जन्मेकै आधारमा शासक बन्ने, भीआइपी बनाइने त्यो अँँध्यारो कालखण्डमा भीआइपी नामधारीहरुले आफूलाई आमजनताभन्दा भिन्न, विशिष्ट वर्गको ठान्नु र तद्अनुरुपको व्यवहार गर्न खोज्नु उनीहरुभित्रका पछौटे, अविकसित राजनीतिक चेतना र मानसिकताको उपज थियो भनेर चित्त बुझाउन सकिन्थ्यो । तर जनताले स्थापित गरेको, अग्रगामी परिवर्तनको द्योतक मानिएको लोकतान्त्रिक गणतन्त्रमा पनि जब भीआइपीको नाममा यमराज आएजस्तै गरी सवारी चल्ने चलाउने क्रम निर्वाध चलिरहन्छ, तब आम जनतालाई चित्त बुझ्ने बुझाउने ठाउँ बाँकी रहँदैन । त्यसको स्वभाविक परिणति भनेको भीआइपीका विरुद्ध मात्रै हैन, त्यो भीआइपी नामधारी सामन्ती संस्कार र संस्कृतिको मैमत्ता प्रदर्शन गर्न निर्वाध अवसर प्रदान गर्ने शासन व्यवस्थाका विरुद्धमा पनि जनताको आक्रोश फुट्न सक्छ ।

यो स्थिति आउनु भनेको अहिले शीर्षस्थ भनिएका, मानिएका नेताहरुले क्रन्दन गर्दै आएको लोकतन्त्र–गणतन्त्रमाथि खतरा छ भन्ने दिशातिर अघि बढ्नु नै हो । र, यो भनेको अहिले जनतामा ‘शासनव्यवस्था फेरियो, शासक फेरियो, तर संस्कार र शैली फेरिएन’ भनेर उत्पन्न भइरहेको चरम निराशाजनक आक्रोशको आगोमा घीउतेल थप्ने काम नै हो ।  साँच्चैनै नेपालमा परिवर्तन आमजनताका लागि भएको हो र अहिलेको लोकतन्त्र–गणतन्त्रको शासनशैली र संस्कार हिजोको निरंकुशतन्त्र जस्तो हुँदै होइन भन्ने मान्यतालाई मलजल गर्ने हो भने आफूलाई जनताभन्दा अलगथलग गरेर बाँच्न खोज्ने तथा आफू विशिष्ट र छुट्टै ग्रहका प्राणी हुँ भन्ने भ्रमबाट भीआइपी कहलाइएका वर्गहरु मुक्त हुनु जरुरी छ । आफूहरु पनि यही धर्तीका प्राणी हौैं, हामी आमजनताभन्दा भिन्न र विशिष्ट होइनौं, बरु जनताका सेवक, तिनले चुनेर पठाएका वारिस मात्रै हो भन्ने तत्त्वज्ञान यो वर्गमा जति चाँडो  पलाउँछ, उति नै बेसी आमजनताले लोकतन्त्र र गणतन्त्रको सुन्दरतालाई महसूस गर्ने र त्यसको प्रतिफल भोग्न पाउने छ । त्यो स्थितिमा यो शासनव्यवस्थाका विरुद्धमा उठ्ने वा उठ्न सक्ने कुनै पनि खतराका विरुद्धमा,  त्यसको प्रतिरक्षामा आफूलाई उभ्याउने हुटहुटी आमजनतामा  जाग्नेछ भन्ने हामीलाई लाग्दछ । 

कमेन्ट

  1. May 28, 2019, 9:33 p.m. Sanak raj shrestha
    Good article.
  2.  0 Reply
  3. May 28, 2019, 6:39 p.m. Binod Dhungana
    सुबिधा को गाडी हुँदैन अगि पछी स्कटिङ हुँदैन फरक यत्ती हो तपाइले माथी उल्लेख गरे भन्दा धेरै रबाफ र हुकार पत्रकार महोदय हरुमा पाइन थालेको छ आजभोलि भिभिआइपी भन्दा पनि निकै सिनियर भन्ठान्छन पत्रकार हरु !!
  4.  0 Reply
  5. May 28, 2019, 2:14 p.m. वासुदेव नेपाल
    यस्ता सामन्त प्रबृतिको अन्य हुनु
  6.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...