बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तातोपानी नाका खुल्ने खबरले दिएको खुशी

सोमबार, १३ जेठ २०७६, १५ : ३२
सोमबार, १३ जेठ २०७६

–रमेश लम्साल 
सिन्धुपाल्चोक– यही साता, चार वर्षपछि तातोपानी नाका सञ्चालनमा आउँदैछ । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने पुरानो नाका बन्द हुँदा त्यसको सबैभन्दा ठूलो प्रभाव मुलुकको अर्थतन्त्रमा प¥यो । व्यापार व्यवसायको प्रवद्र्धनका लागि अग्रपङ्क्तिमा रहेका निजी क्षेत्र पनि समस्यामा परे । सोही नाका भएर सञ्चालित एक हजार बढी ट्रक तथा कन्टेनर अन्यत्रै पलायन भए । 

प्राकृतिक विपत्तिले दिएको पीडाको आम नेपाली भुक्तभोगी भए । काठमाडौँ ल्याउनुपर्ने सामान लामो समय लगाएर कोलकाता बन्दरगाह हुँदै घुमाएर ल्याउनुपर्ने भयो । कैयौको रोजगारी गुम्यो । 

सरकारको सार्थक प्रयासपछि तातोपानी नाका गणतन्त्र दिवसको दिन खुल्ने भएको छ । पहिलो दिन तिब्बतको खासाबाट ऊन बोकेका ६ ट्रक नेपाल प्रवेश गर्नेछन् । नाका खुल्ने खबरसँगै उद्योगी व्यवसायीमा पनि ठूलो आशाको सञ्चार भएको छ । उनीहरु विगतको जस्तै नाका व्यस्त हुने र व्यापार व्यवासाय फस्टाउने प्रतिक्षामा छन् । 

भूकम्पबाट खण्डहर भएको सडक निर्माण भइरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल विगतकोभन्दा फराकिलो बनाइएको छ । चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन् । हालको भन्सार कार्यालय रहेकोभन्दा ६ किलोमिटर तल अत्याधुनिक सुक्खा बन्दरगाह निर्माण भइसकेको छ ।

भूकम्पले समस्यामा पारेको बन्दरगाहलाई चिनियाँ कम्पनी चाइना रेल्वे १४ औँ ब्यूरो समूहले उक्त बन्दरगाह निर्माण गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिले सो बन्दरगाहलाई सञ्चालनमा ल्याउँदैछ । अत्याधुनिक संरचनासहितको उक्त पूर्वाधारले पनि व्यापार व्यवसायको प्रवद्र्धन गर्न सहयोग पु¥याउनेछ । 

नाका खुल्ने खबरसँगै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पनि तातोपानी नाकाको स्थलगत अनुगमन गरेको छ । यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य महासङ्घ, नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घलेसमेत आवश्यक तयारी गरेको छ । 

नाका खुल्ने खबरले उत्साहित भएका व्यवसायी सरकारवालाले समेत शान्तिसुरक्षाको उचित प्रबन्ध गर्ने वचन दिएकाले पनि थप आशावादी देखिएका छन् । नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेल ओइलाएका व्यवसायीलाई खडेरीमा पानी परे जस्तै भएको छ नाका खुल्ने खबर । उनले भने, ‘विगतको जस्तै बजार व्यस्त हुने, रोजगारीको अवसरमा वृद्धि हुने र मुलुकलेसमेत त्यसबाट फाइदा लिन सक्नेछ ।’ 

चार वर्षसम्म व्यापार व्यवसाय चौपट हुँदा त्यसको प्रभाव मुलुकलाई व्यवसायीलाई कति पीडा भयो होला भन्ने थाहा पाएका व्यवसायी पनि नाका आसपासमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिनेमा प्रतिबद्ध देखिएका छन् । 
    
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठ मुलुकको प्रतिष्ठासँग जोडिएको नाकालाई मर्यादित र व्यवस्थित बनाउनु उद्योगी व्यवसायीको पनि कर्तव्य भएको बताउँछन् ।  ‘व्यापार व्यवसायका लागि सहज वातावारण बनोस्, विगतको जस्तै व्यापार र वाणिज्यको अवस्था सिर्जना होस् भन्नेमा हामी प्रतिबद्ध छौँ । महासङ्घकोतर्फबाट नाका खोल्न सहयोग पु¥याउने सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ’, अध्यक्ष श्रेष्ठको भनाइ थियो । 

भूकम्प र बाढीपहिरोका कारण तहस नहस भएको भोटेकोशीको किनार लार्चामा अत्याधुनिक भवन देखिन्छ । आकर्षक पुल तरेपछि देखिने भव्य भवन र संरचना सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आउने तयारीमा छ । 

कूल चार दशमलब दुई हेक्टरमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका उपनिर्देशक हरिकृष्ण मिश्रले बन्दरगाहलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन विद्युत्, सञ्चार, अन्य भौतिक सामग्री उपलब्ध गराइदिन यहाँस्थित चिनियाँ दूतावासलाई आग्रह गरिएको र केही समयभित्रै आइपुग्ने बताए ।

बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालय पनि तयार भएका छन् । यस्तै भण्डारण क्षेत्र कार्गो र गोदामसमेत आधुनिक शैलीमा निर्माण गरिएको छ । भन्सार रहने क्षेत्रमा नै ६० देखि १०० मेट्रिक टनसम्म तौल गर्न सक्ने मेसिनसमेत जडान गरिएको छ ।

यस्तै कर्मचारीका लागि आवाससमेत बन्दरगाहभित्रै निर्माण गरिएको छ । भन्सार र अध्यागमन विभागले कार्यालय स्थापना गरिसकेको छ । महाभूकम्पले तोडेको देशको ‘जीवनरेखा’ सञ्चालनमा ल्याउन नेपाल सरकारको जस्तै चीन सरकारको पनि उत्तिकै चासो र हुटहुटी देखायो । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले हालै गर्नुभएको चीन भ्रमणका क्रममा नै नाका खुल्ने विषय प्रकाशमा आएपछि त्यसले आम नेपालीलाई खुशी तुल्याएको थियो । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणका क्रममा नाका खुलाउने विषयमा सहमति भएको थियो । 

नाका सञ्चालनमा आउने खबरले स्थानीयवासी मात्रै नभई आम नेपालीलाई खुशी तुल्याएको बताउँछन् नेकपाका स्थायी समिति सदस्य एवं सांसद अग्निप्रसाद सापकोटा । नेता सापकोटाले भने, ‘हामी सबैको प्रयासले सार्थकता पाएको छ । सबै नेपालीलाई खुशी तुल्याएको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप