बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बम विस्फोटको घटनामा गृहमन्त्रीको अभिव्यक्तिको आलोचना, ‘मर्ने नेपाली नभए कुन देशका हुन् ?’

सोमबार, १३ जेठ २०७६, १४ : ०७
सोमबार, १३ जेठ २०७६

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाईप्रति आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षा लगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री राम बहादुर थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको अभिव्यक्रि दिएको भन्दै कांग्रेसका सांसदहरुले त्यसप्रति आपत्ति जनाएका हुन् । उनीहरुले घटनामा मारिने ‘कुन देशका नागरिक हुन्’ भनि गृहमन्त्रीलाई प्रतिप्रश्न गरे ।

सांसद पुष्पा भुसालले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसक्ने सरकारले हठ नत्याग्ने र विप्लवले पनि आफ्नो हिंसा नत्याग्ने हो भने त्यसको पीडा सर्वसाधरणले कहिले सम्म भोग्नुपर्ने भनी प्रश्न गरिन् ।
उनले सोधिन्,“गृहमन्त्रीले राजधानीमा भएको विष्फोटमा परि मृत्यु भएका ४ जना नेपाली जनता होइनन्, नेपाली नागरिक होइनन् भन्नुभयो । उनीहरु नागरिक होइनन् भने को हुन् ?”

सांसद देवेन्द्रराज कँडेलले ‘हिजोको द्धन्द्धकालीन समयमा तात्कालिन सरकारले बोल्ने भाषा नै गृहमन्त्रीले प्रयोग गरेको भन्दै हिजोको सरकारले गरेको काम गलत थियो कि सही भनी प्रश्न गरे । उनले प्रश्न गरे, “जो मरे पनि के ती नेपाली नागरिक होइनन् ? हिजो मरेका पनि नेपाली नागरिक होइनन् ?”

सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारलाई हठ छोड्न र विप्लबलाई हिंसा छोड्न आग्रह गरे । 

सांसद राजेन्द्र कुमार केसीले बमविस्फोट संगै राजधानीबासीहरु त्रसित भएको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति कसरी गराउनुहुन्छ भनी प्रश्न गरे । 

सांसद लक्ष्मी परियारले मृत्यु भएकाहरु नेपाली होइनन् भने को हुन् ? भनी प्रश्न गरिन् । 

सांसद पार्वति डिसी चौधरीले पनि बम विष्फोटमा परि मृत्यु हुने नेपाली नभए को हुन् भनी प्रश्न गरिन् । 

सांसद उमा रेग्मीले राजधानीको बमकाण्डले सबैलाई तात्कालिन माओवादीको झल्को दिलाएको भन्दै वार्ता मार्फत समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद देव प्रकाश तिमिल्सिनाले वार्ता मार्फत समस्या समाधान खोज्न आग्रह गरे । 

राजपाका सांसद शरद सिंह भण्डारीले राजनीतिक स्थायीत्व र स्थिरतको जतिसुकै नारा लगाएपनि राजनीतिक समस्या अझै रहेको भन्दै त्यसलाई स्वीकार गर्न सरकारको ध्यानाकर्षण गरे । 

त्यसैगरी, सांसद लक्षमणलाल कर्णले राजधानीको बम विस्फोटको घटनाले समग्र देशबासी नै चिन्तित रहेको भन्दै राजनीतिक रुपले समस्यामा समाधान खोज्न माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप