शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै बारे प्रचार गराउन नसकेर ओझेलमा परेँ : साहित्यकार हरि अधिकारी

सोमबार, २३ साउन २०७४, १२ : ४६
सोमबार, २३ साउन २०७४

यहाँको रूचिको विषय के हो ?
समयको अध्ययन समय सँगसँगै मानिसहरुको अध्ययन र्नै मेरो रूचिको विषय हो । त्यही अध्ययन गर्ने क्रममा अनुभूति र अनुभवलाई विभिन्न विधामार्फत अभिव्यक्त गर्ने प्रयास गर्छु । 

ती विधाहरुमा के–के पर्छन् ?
मेरो मुख्य रूचिको क्षेत्र कविता हो । अहिलेसम्म धेरै विधामा कलम चलाए पनि आफूलाई चाहिँ कवि नै मान्दछु । सबैभन्दा बढी चाहिँ म कवि नै हूँ भन्ने लाग्दछ । कथा पनि लेखेको छु । कथाको सङ्ग्रह नै छापिएको छ ।  निबन्ध पनि लेखेको छु । अहिले उपन्यास पनि लेखिरहेको छु । यिनै साहित्यका विधामार्फत् आफूले भोगेको समय, अनुभवहरु र र अनुभूतिलाई बाँढ्ने काम गर्दछु । 

हरि अधिकारी कुण्ठित कवि हो भन्ने धारणा सार्वजनिक रुपमा व्याप्त छ; आफ्नै नजरमा हरि अधिकारी कस्तो मानिस हो ? 
केटाकेटीको भाषामा अरुले मलाई के भन्छन् भन्ने कुरालाई म बाल दिन्न । यो मेरो कुनै रूचिको विषय नै होइन । मलाई अरुले के भन्छन् भन्ने कुरालाई ध्यान दिएर हिँडे भने सम्भवतः मेरो जीवन नै चल्दैन र म आफ्नै ढङ्गले बाँच्न पनि सक्दिनँ । त्यसकारण अरुले के भन्छन् भनेर प्रश्न नगर्नुभएको भए पनि हुने थियो । तपार्इंले मलाई के ठान्नु हुन्छ; त्यो रूचिको कुरा हो  । तपाईंसँग म कुरा गरिरहेको छु भने तपाईंले मेरोबारेमा के धारणा बनाउनुभएको छ भनेर रुचि राख्न सक्छु होला  । अन्यथा मलाई अन्य मानिसले के भन्छन् भन्ने कुरामा बाल दिन्न । 

दुनियाँको नजरमा स्थापित हुने, प्रशंसा आदरसम्मान, पुरस्कार पाउने हिसाबले एकदमै पिछडिएको मानिसमध्ये पनि सबैभन्दा पिछडिएको हुँ । साथीहरुबाट के सिफारिस गराउने उनीहरु त पाए भने आफैं पुरस्कार थाप्छन् । मलाई किन दिलाउँछन् र ?

आफैंबारे राम्रोगरी भन्न सक्दिनँ होला किनभने जसरी अरु मानिसलाई मूल्याङ्कन गर्न गाह्रोहुन्छ । अरुबारे धेरै किसिमको अध्ययन गरेर राम्ररी अध्ययन नगरीकन भन्न सकिँदैन, त्यसैगरी आफ्नो बारेमा पनि भन्न अप्ठेरो पर्छ । तर, सामान्यतः म मध्यम वर्गको अलिकति पढेलेखेको, जीवन र जगतलाई हेर्ने आफ्नै दृष्टिकोण बनाउन सकेको एउटा सामान्य नेपाली मानिस हुँ । पारिवारिक व्यक्ति, समाजप्रतिको दायित्वलाई सकभर राम्रो गरी पूरा गर्न प्रयास गरिरहेको सङ्घर्षशील आम मानिस हुँ म । साहित्यिक मूल्याङ्कनको कुरा गर्नुहुन्छ भने म जुन विधा लेखे पनि जुन विधामा कलम चलाए पनि सकभर इमानदारीका साथ लेख्ने प्रयास गर्ने एउटा प्रयत्नशील लेखक हो भन्ने ठान्दछु । 

यदि हरि अधिकारी कुण्ठित कवि, व्यक्ति होइन भने आफ्नै बारेमा प्रोफाइल लेखाउन खोज्दै हिँड्नु पर्नेअवस्था सिर्जना हुन्थ्यो होला र ? 
मैले मेरो बारेमा प्रोफाइल लेख्न भनेको छैन । कसैले भनेको भए शतप्रतिशत झुठो हो । अहिलेसम्म मैंले आफ्नैबारे लेखाउने प्रयास गरेको छैन । कसैले यस्तो भनेको सुन्नुभएको छ भने शतप्रतिशत झण्डु कुरा हुन् । कुनै पनि मान्छेले हरि अधिकारीले प्रसङ्गमा मेरो प्रोफाइल लेख्दे भन्ने दाबी आधिकारिक रुपमा भन्छ भने म साहित्य लेख्न नै छोडिदिन्छु । तपाईंलाई याद हुनुपर्ने हो, आफ्नो बारेमा प्रचार कम गरेकै कारण, साहित्यको माध्यमबाट केही पाउनका लागि नहिँडेकै कारण यति धेरै काम गरेर पनि म अहिलेसम्म आफूलाई ओझेल परेको ठान्छु । 

कति मान्छेले ‘रिकग्नेसन’ गर्ने, पुरस्कार दिने, सम्मान दिन बोलाउने सारा कुराको हिसाबमा मलाई यस्तो लाग्छ । मैले लेखेको साहित्य कुन कोटिको छ, त्यो मूल्याङ्कन हुँदै जाला । यस्तो मूल्याङ्कन आज, अहिले नै हुने कुरा होइन । तर पनि यो दुनियाँको नजरमा स्थापित हुने, प्रशंसा आदरसम्मान पाउने पुरस्कार पाउने कुराकोे हिसाबले एकदमै पिछडिएको मानिसमध्ये सबैभन्दा पिछडिएको म नै हुँ । 

तपाईं आफूलाई ‘अन्डररेटेट’ कवि हुँ भन्ने लाग्छ ?
अरुको नजरबाट म ‘अन्डररेटेड’ कवि हुँ । यद्यपि मेरो कविताको ‘रेट’ कति हो भन्ने कुरा चाहिँ म भन्न सक्दिनँ । आफ्नै मूल्याङ्कनमा म राम्रै कवि हुँ । नेपाली सन्दर्भमा म राम्रै कवि हुँ । 

मित्रहरुबाट पुरस्कारका लागि सिफारिस भएन भनेर पीडा पनि रहेछ है ?
यसलाई पीडा भन्न मिल्दैन । यो त तपाईंकै प्रश्नमा प्रोफाइल लेखाउने सन्दर्भमा भनेको मात्र हुँ । साथीहरुबाट के सिफारिस गराउने उनीहरु त पाए भने आफैं पुरस्कार थाप्छन् । मलाई किन दिलाउँछन् र ? तपाईंले कुरा उठाएपछि केही भन्नै पर्नेभयो । मैले गम्भीरतापूर्वक साहित्य लेख्न थालेको २०२५ सालबाट हो । त्यसबेलादेखि अहिलेसम्म म निरन्तर लेखिरहेको छु । अथवा बीचमा मैले कति के कति लेखेँ; त्यो सबै सङ्कलन नै भएको छैन् । 

अहिलेसम्म मेरो पाँचवटा किताब निस्किएको छ । उपन्याससहित तीनवटा तयारीमा छन् । एकेडमीको ०२७ सालका राष्ट्रिय कविता महत्सवको म गोल्ड मेडलिस्ट हुँ । त्यसैको वरपर राष्ट्रिय कथा महोत्सवमा पहिलो पुरस्कार जितें । सहिद दिवसको कवि सम्मेलनमा पहिलो पुरस्कार पाएँ, अहिलेसम्म निरन्तर लेखि नै रहेको छु । निरन्तरता पनि कस्तो भन्नुहुन्छ भने स्तरमा धेरै खस्किएर होइन एउटा ‘लेभल’को स्तर ‘मेन्टेन’ गरेर म अहिलेसम्म लेखिरहेको छु । मेरो स्तर मैले निर्धारण गरेको पनि होइन । 

नेपालको गिनेचुनेका समीक्षकहरुले नेपाली कविताको, नेपाली कथाको कुरा गर्दा अनिवार्य रुपमा उनीहरुले मलाई उचित ठाउँ दिएका छन् । साझा प्रकाशनले एकेडमीले कविता र कथाको सङ्कलन निकाल्यो भने मेरो पनि छाप्ने गर्छ । पछिल्लो समयमा साझा प्रकाशनसहित एकसे एक प्रकाशकले छापेका छन् । रत्न, फाइनप्रिन्ट, वाणी प्रकाशनले मेरो स्तर देखेर नै छापेका हुन् । आफ्नो पैसा खर्च गरेर मैले पुस्तक छापेको छैन । यसको अर्थ के हो भन्दा यो लेखक छाप्नयोग्य हो भन्ने उनीहरुले ठानेर नै छापिएका हुन् । १० वटाभन्दा धेरै साहित्यिक पत्रिका सम्पादन गरेको छु । 

बीपी कोइरालाको जीवनको अन्तिम र एउटा मात्र साहित्यिक अभिनन्दन पनि मैले मात्र गरेको हो । मोहन कोइराला बिरामी हुँदा उनलाई बचाउन दिल्ली पुगेर बचाएर ल्याउने पनि म मात्र हुँ । तर यावत यी कुरा हुँदाहुँदै पनि त्यसबेलाको श्री ५ को सरकार र अहिलेको नेपाल सरकारले राखेको कुनै पनि साहित्यिक प्रतिभा पुरस्कार क्षेत्रीय पुरस्कार र विशिष्ट प्रतिभा पुरस्कार अहिलेसम्म एउटा पनि पाएको छैन । 

मैले नपाउनुका कारण पनि थाहा छ । एउटै कारण भनेको म भन्न गइनँ । म भन्न गएको भए यो पुरस्कारको थैलो लिएर बाँड्न बसेका संस्कृति मन्त्रीहरु चाहिँ मेरा भाइहरु थिए । जस्तै, पूर्णबहादुर खड्का, बलबहादुर केसी पनि मन्त्री भए । दीपकुमार उपाध्याय पनि मन्त्री भए तर मैले अहिलेसम्म पुरस्कार पाएको छैन । यो कुरालाई कुन्ठा भन्नुहुन्छ भने तपाईंको कुरा हो तर यो यथार्थता हो मैले बयान मात्र गरेका हुँ । 

जसले आफ्नोे अवस्थाको पीडा थाँती राखेर परिवार र समाजप्रति केही गर्छु भनेर जिम्मेवारी प्रस्तुत गरेका छन् तथा आफ्नो परिवारप्रति जो जिजीविषाको लागि सङ्घर्ष गरिहेका छन्, त्यस्ता महिलाहरुप्रति मेरो दृष्टि पर्नेगर्छ ।

तपाईंले आफ्नो एउटा अन्तर्वार्तामा भूपिलाई ‘ओभररेटेड’ र मोहन कोइरालालाई ‘अन्डररेटेड’ भन्नुभएको छ । अनि हरि अधिकारी पनि ‘अन्डररेटेड’ कवि भएछ  । भनेपछि कोइराला र अधिकारीका बीचमा के समानता र के भिन्नता छ ? 

मोहन कोइराला मभन्दा अघिल्लो पुस्ताका हुन् । कोइरालाबारे थोरै अवधिमा धेरै कुरा भन्न सक्दिनँ । तर कोइरालाको र मेरो कुनै तुलनै हुन सक्दैन । मोहन कोइराला कविताको समुद्र हुन् र अरु त थाहा छैन तर मेरो पुस्ताको म र मेरो जस्तै अन्य कैयौँ मानिसहरुमाथि कोइरालाको ठूलो प्रभाव छ । ममाथि पनि कोइरालाको ठूलो प्रभाव परेको छ । 

म मोहन कोइरालाको प्रभाव बोकेको कवि हुँ । तर यसमा ‘आइरोनी’ के छ भने कतिपय समालोचकहरुले तपाईं यति बुझ्ने कविता लेख्नुहुन्छ र मोहनजी नबुझ्ने कविता लेख्नु हुन्छ, तर पनि मोहन कोइरालालाई किन आदर्श मान्नु हुन्छ भनेर सोध्ने गर्दछन् । मैले मेरो कविताको आदर्श मोहन कोइराला हो भनेर म मान्दिनँ किनभने मेरो आफ्नै कवित्व छ । मोहन कोइरालाको आफ्नै कवित्व छ । तर मोहन कोइरालाको स्कुललाई आफ्नो ढङ्गले अगाडि बढाएको मान्छे भन्ठान्छु । 

उहाँको र मेरो समानता के हो भने मोहन कोइरालाले पनि कवितालाई कहिल्यै पनि एउटा प्रतिक्रियात्मक रुपमा लेखको अथवा कविका रुपमा ‘न्यारेटर’को भनाइ राख्ने माध्यम कहिलै बनाएनन् मैले पनि कवितलाई सोझो प्रतिक्रियात्मक वक्तव्यवाजीको माध्यम बनाउन चाहिनँ । मेरा कविता पढ्नुभयो भने तपाईंले काही पनि कविले कुनै पनि कुराको बारेमा प्रतिक्रिया दिएको पाउनु हुन्न । मैले जति भन्ने प्रयास गरेको छु त्यो कविताको माध्यमबाट नै भन्ने गरेको छु । विम्बको माध्यमबाट नै भन्ने गरेको छु ।

मोहन कोइरालाले पनि त्यही गरेको भएर मलाई उनी मन परेका हुन् । अर्को कुरा के भने मोहन कोइरालाले जति नेपाली प्रकृतिलाई खासगरी नेपालको प्राकृतिक सौन्दर्यलाई जति व्यापकताका साथ कवितामा लिएर आएका छन् त्यस्तो संसारका अरु कुनै पनि भाषाका कविहरुले गर्न सकेका छैनन् । 

विषय बदलौँ, महिलाप्रतिको तपाईंको दृष्टिकोण कस्तो हो र महिलासँगको पहिलो प्रेमको कुनै अनुभूति छ ?
महिलाप्रतिको मेरो दृष्टिकोण भनेको म उनीहरुको हरेक भूमिकालाई सम्मान गर्छु । म हरेक महिलालाई प्रेम र सम्मान गर्छु । जसले जे भने पनि महिलालाई जतिसुकै ‘विम्निस्ट’ गर्न खोजे पनि यो सृष्टिको चक्रको सबैभन्दा महत्वपूर्ण चुकुल र कडी  महिला हो । महिलाकै कारण यति धेरै सुन्दर र विशाल संसारको अस्तित्व सम्भव भएको छ । 
अर्को पाटो भनेको मैले चाहिँ अलिक कथात्मक ढङ्गबाट आफ्नो कवितामा नेपाली महिलाको विभिन्न पेसा, व्यवसाय र वर्गका विभिन्न मानसिक र भौतिक अवस्थाका आइमाईलाई प्रस्तुत गर्ने प्रयास गरेको छु । दाबी त के गरौँ तर मेरो नेपाली कविताप्रतिको अल्प जानकारीमा नेपाली महिलाहरुलाई यति व्यापक ढङ्गबाट उनीहरुको चित्रण गर्ने कवि म मात्र हुँ जस्तो लाग्छ । यो मैले नेपाली आइमाईहरुलाई दिएको ‘ट्रिव्युट’ नै हो । उनीहरुप्रति व्यक्त गरको श्रद्धा नै हो । 

भन्नुको अर्थ तपाईंको महिलाप्रतिको सुरुचिपूर्ण र यौनिक दृष्टिकोण पनि त होला नि, जसले गर्दा तपाईंलाई यो लेख्न भित्रैदेखि कुत्कुत्यायो अथवा उद्वेलित गरिदियो ?
जीवनको अध्ययन गर्दै जाँदा एउटा साहित्यकारको नाताले म जहाँतहीँ महिलाहरुलाई देख्छु । देख्छु मात्र होइन, विभिन्न अवस्थामा देख्छु । अप्ठेरोमा, सप्ठेरोमा प्रेममा बाँडिरहेको, दुःख पाइरहेको, सुख पाइरहेको देख्छु । आमा बनेर सेवा गरिरहेका युवती बनेर युवाहरुलाई तृप्त पारिरहेको, विभिन्न किसिमको आइमाईहरुलाई देख्छु र मलाई जीवनको बडो आनन्द र मोहको गजबको दिग्दर्शन हुन्छ । पूर्ण त भन्न सक्दिन तर उनीहरुलाई पनि नेपाली साहित्यमा उनीहरुको विभिन्न अवस्थाका महिलाहरुको अनुभव अनुभूतिहरुलाई चाहिँ साहित्यमा उतार्नुपर्छ भन्ने मेरो धारणा हो । 

त्यही हिसाबले लेखेको छु । बादी र एकदम मिहिनेत मजदुरी गरेर बाँच्नुपर्ने महिलामाथि कविता लेखेको छु । क्याबिन रेस्टुरेन्टहरुमा बसेर ग्राहकलाई सेवा दिइरहेकी, सम्भ्रान्त, इँट्टा भट्टामा काम गर्ने र तरुण विधवा महिलामाथि कविता लेखेको छु । पुतली सडकको किनारमा बसेर ग्राहक पर्खिरहेकी माहिलाको बारेमा कविता लेखेको छु । मैले काँठबाट दिनका दिन सहरमा नोकरी गर्न आउने परिचरको कविता लेखेको छु । मैले मधेसमा बस्ने आइमाईको सहित मैले धेरै कविता लेखेको छु । 

महिलाहरुको विभिन्न रुपदेखेर आनन्दित हुन्छु भन्नुभयो; तपाईंलाई कस्ताखालका महिलाहरुले आनन्दित गराउँछन् ?
जसको जीवनप्रति ठूलो मोह छ र गाह्रो अवस्थमा पनि सङ्घर्ष गरेर बाँचिरहेका छन्, उनीहरुप्रति । जसले आफ्नोे अवस्थाको पीडा थाँती राखेर पनि परिवार र समाजप्रति केही गर्छु भनेर जिम्मेवारी प्रस्तुत गरेका छन्, आफ्नो परिवारप्रति जो जिजीविषाका लागि सङ्घर्ष गरिहेका छन् । त्यस्ता महिलाहरुप्रति मेरो दृष्टि पर्नेगर्छ र उनीहरु मेरो नजरमा स्तुत्य हुन र उनीहरुको बारेमा लेखिनुपर्छ जस्तो लाग्छ । 

मलाई विस्मृत खालको एउटा सम्झना आइरहेको छ, तपाईंले मोमिलाका विषयमा उनी आकर्षक महिला लाग्छिन् भनेर भन्नुभएको थियो । उहाँसँगको तपाईंको केही... (प्रश्नको बीचमै )
उहाँसँगको मेरो प्रेम, माया र स्नेह केही पनि होइन । तर, मोमिला आकर्षक महिला हुन् । नेपाली सन्दर्भमा यसलाई कसरी लिइन्छ, थाहा छैन राम्रो गरी लिइँदैन क्यार । तर पश्चिमा समाजमा अङ्ग्रेजी भाषामा राम्रो मानिन्छ त्यो के भने– सेक्सी । ‘मोमिला एज अ भेरी सेक्सी लेडी’ । उनको शरीर अलिबढी ‘भलप’ जस्तो छ, त्यसैले कतिलाई उनी नराम्री पनि लाग्न सक्छिन् तर मलार्इ चाहिँ ‘सी लुक्स भेरी एटट्र्याक्टिभ एन्ड सेक्सी’ लाग्छिन् । तर उनको र मेरो कुनै निकटताको सम्बन्ध छैन । हामी अपरिचित होइनौँ । उनले साहित्यको खेती गरिराखेकी छन् । त्यो फाइदाजनक पनि भइरहेको छ भन्ने बुझ्छु तर त्यो मेरो सरोकारको विषय भएन । मोमिला ‘आकर्षक र सेक्सी कवि’ हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

लेखकबाट थप