शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्रहरी हुँ’ भन्दै रकम असुली गर्ने ‘भगौडा प्रहरी’ पक्राउ

आइतबार, १२ जेठ २०७६, १८ : ३१
आइतबार, १२ जेठ २०७६

काठमाडौं– आफूलाई ‘प्रहरी हुँ’ भन्दै रकम असुली गर्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी प्रहरी हुँ भन्दै रकम असुली गर्ने दुई जनालाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरुमा अर्घाखाँची सीतापुर–६ घर भई हाल बानेश्वर बस्ने वर्ष ३० का हरिलाल खनाल र सोही ठाउँका वर्ष १९ का कपिल रिजाल रहेका छन् ।  उनीहरुलाई गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको विशेष टोलीले जमलबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । 

वनस्थलीस्थित सनराइज बेकरी सप सञ्चालन गर्दै आएका विनोद नेपालबाट हामी प्रहरी हौँ भन्दै उनीहरुले १ लाख रुपैयाँ ठगी गरेका थिए । 

यस्तो थियो घटना

जेठ ६ गते अपराह्नको करिब ४ बजेको समय। राजधानीको वनस्थलीमा रहेको सनराइज बेकरी सपमा एक जोडी पुग्छन् । दुवै जनाले ‘हामी प्रहरी हौँ’ भनेर बेकरी सपका सञ्चालक विनोद नेपाललाई भन्छन् । 
तत्कालै विनोदले नरम भएर ‘के सहयोग गरौँ?’ भनेर ती अपरिचित व्यक्तिलाई सोध्छन् । ‘नो थ्याङक्स’ भन्दै ती अपरिचितमध्ये एकजनाले विनोदलाई तपाईंले बेकरीमा कुहिएको सामान हालेर बिक्री गर्नुहुँदोरहेछ भनेर प्रश्न गर्छन् । 

महानगरीय प्रहरी परिसरकाठमाडौँ हिँड्नु भन्दै विनोदलाई उनीहरुले ट्याक्सी चढाएर परिसर नजिकै ल्याउँछन् । परिसर नजिक आएपछि ती अपरिचित व्यक्तिले विनोदसँग यो कुरा गोप्य राख्ने हो भने ५ लाखको बार्गेनिङ गर्न थाल्छन् । 

‘डीएसपी उता पर्खेर बसिरहेका छन्, ५ लाख दिने भए दिनुस् ! होइन भने परिसरमा लगेर मुद्दा चलाइदिन्छु, थुनिदिन्छु र पत्रकार बोलाएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरिदिन्छु,’भन्दै ती अपरिचित व्यक्तिहरुले विनोदलाई धम्की दिन्छन् । 

बार्गेनिङको क्रममा ट्याक्सीमै उनीहरुबीच २ लाख दिने सहमति हुन्छ । विनोदले ती अपरिचित व्यक्तिलाई २ लाख दिने सहमति भएपनि १ लाखको एनआईसी एशीया बैंकको चेक तत्कालै दिन्छन् । बाँकी १ लाख जेठ७ गते भोलिपल्ट दिने सहमति हुन्छ । 

छुट्टिन अघि उनीहरुले यो कुरा कसैलाई भनेको थाहा पाए नराम्रो हुने भन्दै विनोदलाई धम्की समेत दिन्छन् । तर, प्रहरीसम्म यो घटनाको सूचना पुगेपछि परिसरबाट तत्कालै बालाजु वृत्तलाई घटनाबारे जानकारी गराइन्छ र त्यहाँबाट खटेको टोलीले ठगी गर्ने दुई जनालाई पक्राउ गर्छ । 

पत्रकार सम्मेलनमा एसएसपी सुवेदीले घटनाबारे एक स्थानीयमार्फत जानकारी आएको बताए । उनले भने, ‘यो घटनाबारे पनि एक शिक्षित व्यक्तिले जानकारी दिनुभयो । तत्कालै हाम्रो टोली परिचालन भयो र पक्राउ गर्न सफल भयौँ ।’

‘हरिलाल खनाल भन्ने व्यक्ति भगौडा प्रहरी हो । ०६९ सालमा प्रहरीको जागिर छाडेर भागेको व्यक्ति हो,’ काठमाडौं प्रहरी प्रमुख सुदेवीले भने, ‘अर्को पक्राउ परेको व्यक्ति हरिलालको लहलहैमा लागेको बुझ्न आएको छ ।’

विनोदले पनि बेकरीमा कुहिएको समान प्रयोग गर्थे

बेकरी सञ्चालक विनोदले पनि बेकरीमा कुहिएको सामान प्रयोग गर्ने गरेको पाइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । प्रवक्ता बोगटीले भने, ‘अनुसन्धान गर्दै जाँदा विनोदले बेकरीमा कुहिएको अण्डा जस्ता सामान प्रयोग गर्ने गरेको पाइएको छ ।’

पक्राउ परेका हरिलाल र कपिलसँगै बेकरी सञ्चालक विनोदमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीलाई स्थानीयले दिने सूचनाको स्रोत बढ्दो छ: एसएसपी सुवेदी

पत्रकार सम्मेलनमा एसएसपी सुवेदीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले प्रहरीलाई स्थानीयले दिने सूचनाको स्रोत बढेको समेत जानकारी दिए । उनले भने, ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम एकदम ‘इफेक्टिभ’ भएको पाइएको छ ।’

प्रहरीले उपत्यकामा स्वीप अप्रेशन थालेको जानकारी दिँदै प्रमुख सुवेदीले टो–टोलमा हुने ग्याङपाmइट जस्ता घटनाहरु रोक्न प्रहरी सफल भएको बताए । टोले गुण्डाहरुलाई निमूल बनाउन काठमाडौं प्रहरीले छुट्टै अभियान ल्याएको समेत बताए । 

सार्वजनिक यातायातमा हुने खालका महिला हिंसा, पिक पकेट जस्ता समस्याहरुलाई निर्मुल पार्न पनि प्रहरीको सक्रियता झनै बढ्दो रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप