बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?

शनिबार, ११ जेठ २०७६, १९ : ५१
शनिबार, ११ जेठ २०७६

    
फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझैँ कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । 

चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो टुट्दैन तर राति भने कोही हुँदैन ।
 
नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमायाको घर छ । 

कान्छीमाया बमबहादुरका काकाकी छोरी हुन् । उनै कान्छीमायाले बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइन् तर त्यो विभत्स हत्याको दृश्य देखेपछि उनले शान्तिको श्वास फेर्न पाएकी छैनन् । 

‘छ दिन भयो, निन्द्रा लागेको छैन । केही खाऔँ मन लाग्दैन’, चिन्तामा देखिएकी कान्छीमायाले भनिन्, ‘साह्रै डर लागेको छ, म त एक्लो मान्छे, अब कहाँ जाने ? के खाने ?’ 

त्यस्तै सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक । बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ । 

बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर आज सबै स्थानीय त्रासले कापेको देख्दा उनलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ । 

‘हाम्रो ज्यानधनको सुरक्षा छैन भने उदाहरण यो घटना हो’, बजिन्द्रप्रसादले भने, ‘कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न सकिएको छैन ।’ 

मिक्लाजुङ–३, आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको गत सोमबार राति सामूहिक हत्या भएपछि यो वडाका अधिकांश स्थानीय त्रासमा बाँचेका छन् । 

वडाध्यक्ष हस्तराज फियाक फिल्ममा हेरेको काल्पनिक कथा र कतै सुनेको घटनाभन्दा विभत्स र डरलाग्दो घटना आफ्नै आँखाअघि भएपछि स्थानीय त्रासमा बाँचेको बताउँछन् । 

‘अहिलेसम्म एक जना मान्छेले सबैको हत्या ग¥यो भन्ने पुष्टि भएको छ’, वडाध्यक्ष फियाकले भने, ‘तर, स्थानीयवासी यसलाई स्वीकार्न तयार नहुँदा त्रास कायम छ ।’

यहाँका अधिकांश स्थानीय हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई कसैले सहयोग गरेको ठान्छन् । नौ जनाको हत्या भएकै दिन माखिमको शव उनको घर नजिकै फेला परेको थियो । 

मिक्लाजुङ–२ दशमीका चन्द्रवीर शेर्माले भने, ‘स्थानीयवासी एक्लै हिँड्न र रातको समयमा निस्कन सक्ने अवस्था छैन, घरमा सुत्नसक्ने अवस्थामा छैन ।’

विभत्स हत्याको दृश्य अधिकांश स्थानीयका आँखामा ताजै छ । मृतक धनराज शेर्माकी छिमेकी यामकुमारी फियाकले भनिन्, ‘यस्तो घटना हामीले कहिल्यै सुनेका समेत थिएनौँ । नौ÷नौ जनालाई एक्लैले मा¥योभन्दा हामीले कसरी विश्वास गर्ने ?’

आफूहरु राम्रोसँग सुत्न नसकिरहेको यामकुमारीको भनाइ छ । ‘साना नानीलाई अब केही हुन्न भनेर सम्झाउँनै सकेका छैनौँ’, यामकुमारीले भनिन्, ‘आधामासु भएर बाँचिरहेका छौँ ।’

यो शान्त बस्तीलाई अहिले त्रासले गाँजेको छ । स्थानीयवासी निर्धक्क भएर बोल्न सकिरहेका छैनन् । ‘घरेलु हतियार साथमा लिएर, राम्रोसँग ढोका थुनेर सुत्न आग्रह गरिरहेका छौँ,’ स्थानीय अगुवा बजिन्द्रप्रसाद फियाकले भने । 

‘अहिले त प्रहरी र आफन्तको घुँइचो छ । भोलि स्थानीयवासी मात्रै भएका दिन कसरी डर हटाउने ? केही भन्न सकिरहेका छैनौँ,’ उनले भने । 

आमाबाबुको काजकिरिया गरिरहेकी बमबहादुरकी जेठी छोरी दिलमाया फियाक स्थानीयको कुराले आफूहरु असुरक्षित भएको महसुस गरिरहेको बताउँछिन् । 

‘सबैले डर मात्रै देखाउँछन् । घटनामा ज्वाइँ (मानबहादुर माखिम) बाहेक अरुको पनि हात छ भन्छन्’, दिलमायाले भनिन्, ‘खोइ भोलि कसरी ज्यान जोगाउने ?’ 

स्थानीयमा देखिएको मनोवैज्ञानिक त्रास कम गर्न प्रहरीले अझै घटनास्थल छोडेको छैन । पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेल ठूलो घटनापछि स्थानीयमा त्रास हुनु स्वभाविक भएको बताउँछन् । 

‘यत्रो घटना घट्यो, स्थानीयवासी त्रासमा हुनु स्वभाविकै हो’, पौडेलले भने, ‘त्रास कम गर्न तथा सामूहिक हत्याका थप प्रमाण फेला पार्न प्रहरीको एउटा टोली घटनास्थलमा परिचालित छ ।’

प्रहरीको उक्त टोली केही दिन घटनास्थलमै रहने भएको छ । घटनाको विस्तृत अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली आज फिदिम फर्कंदैछ । पौडेलले भने, ‘लामो अनुसन्धानपछि टोली फिदिम आउनेछ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप