शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुद्धकालीन बोलबम धाममा १० लाख भक्तजनद्वारा जलार्पण

सोमबार, २३ साउन २०७४, १० : ४९
सोमबार, २३ साउन २०७४

तेजेन्द्र केसी

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका बार्ड नम्बर ५ मणिग्रामकी २८ वर्षीया सीता कार्की शनिबार दिउँसो हतारमा थिइन् ।

रुपन्देहीको सैनामैना नगरपालिकाको पर्रोहा बोलब धाममा  सोमबार बिहान जलार्पण गर्न शनिबार उनीहरुको टोली रुरु क्षेत्रमा जाने तयारीमा थियो ।  

तीन जना साथीसँग पहिलो पटक  जल ल्याउनका लागि उनी रुरु जाँदै थिइन् । यस्तो हतारमा शनिबार दिउँसो पर्रोहा बोलबम धाममा अन्य धरै जना देखिन्थे । शनिबार पर्रोहाबाट हिँडेको टोली  सोमबार फकर्ने कार्यक्रम  थियो ।

कार्कीसँगै धामबाट  ८ वटा बसमा झन्डै ४ जना जाँदै थिए । भने निजी सवारी सधानमा जानेको सङ्ख्या पनि उत्ति नै थियो ।
 पर्रोहा बोलबल धाम समितिले  सवारी साधनको व्यवस्था, खानेकुरा तथा बास आदिको  प्रवन्ध मिलाएको थियो ।

जल ल्याउनका लागि रुपन्देहीको सैनामैनास्थति धाम क्षेत्रबाट बसमा बस्नेको खचाखन थियो । उक्त दिन समितिले रुरुका लागि  ८ वटा बस लागएको थियो । धामले व्यवस्था गरेको बसमा बोलबम लेखेका झण्डाहरु फहराइ रहेका थिए भने पहेँला कपडा लगाएका भक्तजन खाली खुट्टा थिए ।

 धामका पदाधिकारी तथा यात्रा  समिति पदाधिकारी पनि निकै व्यस्त  देखिन्थे । पहिलो पटक जल ल्याउन जाने कार्कीले भनिन्– “गतवर्ष जान खाजेको थिएँ, घरमा आमा बिरामी हुनुभयो, आज जाँदै छु । निकै खुसी लागेको छ ।”

 उनले रुरु क्षेत्रबाट जल ल्याएर पर्रोहा बोलबम धामको ज्योतिर्लिङ्ग  चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिनन् । भनिन्– “सबैले पुग्छ भन्छन्, मेरो आमाले पनि त्यही भन्नुहुन्थो ।”

उनीहरुको टोली दुई दिनपछि सोमबार बिहान फकर्ने छन् । टोलीले  हिन्दूहरुको पवित्र स्थल  रुरुबाट ल्याएको जल पर्रोहा बोलबम धामा चढाउने छ ।

यो स्थान पर्रोहाबाट ८४ किलोमटर दूरी गुल्मी र पाल्पाको जिल्लाको सङ्गममा पर्छ ।  यसरी बसहरु दैनिक रुपमा जाने र आउने क्रम साउन महिनाभरि रहन्छ  ।
 कार्की जस्ता पर्रोहा बोलबम धाममा जल चढाउने भक्तजनहरू वर्षमा कम्तीमा १० लाख रहेको पर्रोहा बोलवल धामका अध्यक्ष राबवली चौधरीले बताए  ।

 जल जढाउनका लागि नेपालका २५ जिल्ला र भारत केही स्थानबाट भक्तजन आउने छन् ।  साउनको गुरुपूर्णिमादेखि सुरु हुने श्रावणी मेला अर्थात्  पार्रोहा धामको लिङ्गमा विभिन्न ठाउँबाट जल ल्याएर चढाने पर्व चल्छ  । खासगरी तराईका जिल्लाहरु यो विषेश रुपमा मान्ने चलन बढ्दै गएको छ । 

 साउन महिलाभरि  जय भोले बाबा  लेखेका  पहेला रङका टिसर्ट, टोपी र हाप पाइन्ट  लगाउनेहरु रुपन्देही, नवलपरासी तथा कपिलवस्तुमा धेरै देखिन्छन् ।

जल बोक्नका लागि ग्यालेन  पनि  प्रायः पहेँलो कलरको प्रयोग गर्छन् । बोलबम यात्रीले पहेँलो वस्त्र धारण गर्ने गर्दछन् । पहेँलो वस्त्रलाई पिताम्बर वस्त्र पनि भनिन्छ । पिताम्बर वस्त्र शिवजीलाई मनपर्ने बस्त्र हो । अर्कोतर्फ पहेँलो बस्त्र लगाउँदाको प्रभाव मानिसको मनमा पनि पर्ने धामका संरक्षक व्यासाचार्य किशोरकुमार गौतमको भनाइ छ । पहेँलो वस्त्र लगाउँदा विचार पवित्र हुने र मनमा राम्रो सङ्कल्प आउने हुँदा जलार्पण कार्यमा पहेँलो वस्त्र लगाइने  विश्वास पनि छ ।
उनीहरु साउन महिनामा माछा मासु खाँदैनन् ।

  दुई दशकअघि  नेपालीहरु जल चढाउन भारत जान्थे, अहिले भारतीयहरु यहाँ आउँछन् ।

गत मङ्गलबार पार्रोहा बोलबम धाममा १६० बस आए । ती बसमा सवार सबै भारतीय थिए ।  बसको पार्किङको समस्या भएको धाममा समस्या थियो  ।

बुटवल सालझण्डी सडक खण्डको रानिबगिया क्षेत्रमा  ६० वटा बस रोकिए । जहाँबाट  दुई किलो मिटर हिँडेर भक्तजन पर्रोहा धामसम्म पुग्ने अध्यक्ष चौधरीले बताए । निकै भीड भएका कारण बस बाहिर राखेर  भक्तजनहरु जाने गर्दछन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल सालझण्डी सडक खण्ड अन्तर्गत रानिवगिया भन्ने ठाउँबाट दुई किलो मिटरमा उत्तर जाँदा धाममा प्ुग्न सकिन्छ । राजमार्गबाट पनि धाम पुग्ने सडक बनेको छ ।  

सडक बिस्तारले पनि भक्तजनलाई बढाएको हो । भारतको बिहार राज्य, महाराजगन्ज जिल्ला सिद्धार्थनगर यस्तै बस्ती जिल्ला भक्तजनहरु गत मङ्गलबार १३० वटा बसमा लिएर आएका थिए ।
 अध्यक्ष रामबलि चौधरी भन्छन्, ‘लामो लाइन भएकाले उनीहरूले बस रानी बगिया छाडेर पैदल हिँडेर  मन्दिरमा आएका थिए ।
खासगरी  भारतीयहरु भैरहवा आएर नेपाली बस रिजर्व गरेर आउने गर्छन् ।

२०४८।४९ सालतिर  यहाँको हिन्दू धर्मप्रति आस्था भएकाहरू बोल बोल भन्दै भारतको झारखण्ड रहेको बैजनाथ धाममा जल चढाउनका लागि बसमा जाने प्रचलन थियो । अहिले साउन महिनाभरि भारतीयहरु बसका बस यहाँ जल चढाउन आउने गरेको बोलबम धामका कोषाध्यक्ष प्रदीप विकले बताए ।  उनले  दुई दशकदेखि  यहाँको ज्योतिर्लिङ्गको महत्व र प्रचार प्रसारका कारणले भारतीयहरुको आकर्षण बढेको बताए ।

मुख्य तीन ठाउँको जल 
 रुरु, त्रिवेणी र लक्ष्मणघाट  धार्मिक स्थालबाट मुख्य रुपमा भक्तजनले जल ल्याएर चढाउने गर्दछन् ।
गुल्मी र पाल्पा  जिल्लोको सङ्गमस्थल  तथा  पवित्र स्थल रुरुबाट जल ल्याएर सोमबार चढाउन कार्की साथीहरुसँग जाने हतारमा थिइन् ।
रुरु जानको बोलबल धामबाट शनिबार ८ वटा बस तयारी अवस्थामा थिए । तीन बससँगै निजी कारमा पनि जानेको लामो ताँती थियो । धामको यात्रा व्यवस्थापन समितिले लामो दूरीमा जानेहरुको छुटै बस छुट्याउने व्यवस्था मिलाएको थियो ।

यस्ता बस दैनिक रुपमा जाने आउने साउन महिनाभरि हुन्छ ।

 ती बसमा सवार करिब ४ सय जनाको टोली शनिबार साँझ  रुरु पुग्छ । उनी सो रुरुमा भजन कीर्तन गर्दछन् ।  

 साउनको महिनाभरि चल्ने यस्तो यात्रा रुरु, कपिलवस्तुको लक्ष्मणघाट, नवलपरासीको त्रिवेणीजस्ता पवित्र स्थलमा पुग्छ ।

 रुरु पुगेको टोलीले आइतबार बिहानै कावरमा (जल बोक्ने भाँडो) जल उठाइ हिँड्छन् । पाल्पाको हार्थोक, तानसेन जस्ता ठाउँमा उनीहरुले पर्रोहा बोलबम धामको महत्व तथा भजन कीर्तन गर्छन् । आइतबार साँझ बुटवल आएर प्रायः राधाकृष्ण मन्दिरमा बास बस्छन् । अनि सोमबार बिहानै बुटवलदेखि  १७ किलो मिटर पश्चिम बोलबम धाम जान्छन् । यस्तो दैनिक रुपमा चले पनि विशेष शनिबार र सोमबार हुन्छ  ।

 अधिकांशले धामले व्यवास्था  गरेको भन्दा  फरक व्यवस्थाबाट जल ल्याउने गर्छन् भने मुख्य ठाउँबाट  लामो दूरीबाट जल नल्याएन पनि पूजा गर्ने र पर्रोहा धामको जल  चढाउनेहरु भीड सधँै हुन्छ ।

 कपिलवस्तुको लक्ष्मणघाट पार्रोह बोलबम धामबाट ३७  किलोमटिर दूरीमा छ ।  यस्तै नवलपरासीको त्रिवेणी धाम ९५ किलो मिटर  दूरीमा छ ।  धामको टोलीले दुई दिन लगाएर त्रिवेणी धामबाट जल ल्याउने गर्छन् । यस्तै देवघाट पनि दुईदेखि तीन दिन लागएर  भक्तजनहरु  जल लिनका लागि जाने गर्दछन् ।

धामबाट छुटेका टोलीले ठाउँठाउँमा पर्रोहा बोलबम धामको महत्व र इतिहास व्याख्या गर्छन् । साथै गुरुहरुको प्रचवन तथा राष्ट्रिय भक्तजनको टोली भजन कीर्तन गर्छन् भने धामको टोलीभन्दा बाहिरबाट आफै सवारी साधानको व्यवस्था गरेर जानेहरु कम समयमा आउने  गर्छन्  ।

धामका उपाध्यक्ष गोविन्द कँडेल २०५७ सालमा देवघाटबाट पैदल बोलबमसम्मको यात्रा गरेका छन् । उनीजस्ता  प्रत्येक वर्ष  निरन्तरता प्रदान गर्नेहरु बुटवल, सैनामैनामा क्षेत्रमा धरै जना भेटिन्छन् ।  केही वर्ष पदैल नै यात्रा चलेको थियो । पछिल्लो समय भने सवारी साधनमा जाने चलन आएको हो ।

बोेलबम यात्राका क्रममा चर्को घाम र भारी वर्षाको पनि पर्वाह गर्दैनन् भक्तजनहरु । बोलबम यात्रामा अलौकिक शक्ति प्राप्त हुने बोलबम धामका प्रमुख संरक्षक धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले बताए ।

 आफू पनि निरन्तर रुपमा हिँड्दा कुनै समस्या नआएको गुरुको भनाइ छ । गङ्गा स्नानबाट वैदिक विधिपूर्वक सङ्कल्प लिएर जल उठाएपछि देख्नेले कठिन देखे पनि कठिन महसुस नहुने भनाइ छ ।  पैदल मात्र नभई सुतेर शरीर नापेर यात्रा गर्ने, श्रवणकुमार झैँ बाबुआमा बोकेर तीर्थस्थलदेखि बोलबम धामसम्म यात्रा गर्नेहरु पनि भेटिने गरेका छन् ।

यस्तो छ पर्रोहा परमेस्वर धाम
पौराणिक कालको ज्योतिर्लिङ्ग रहेको  पर्रोहा परेस्वरधामा ३२ कठ्ठा  जमिनमा विस्तारित छ  । जुन बुटवलबाट १४ किलोमिटर दूरी छ । भने पूर्व–पश्चिम राजमार्गबाट दुई किलोमिटर उत्तरमा धाममा पुग्न सकिन्छ । धाममा  मूल मन्दिर, १०८ शिव लिङ्ग, अर्धचन्द्र आकारको धाम सरोवार, धाम सरोवरमा साढे ५ फुट अग्लो शिवजीको मूर्ति छ । गणेश, हनुमान, सन्तोषीमाता, पार्वती, लक्ष्मी नारायण, राधकृष्ण मन्दिर पनि  छन् ।

 साधु सन्त निवास, पुरानो धर्मशाला, पाकशाला रहेका छन् । यस्तै तीन तले नयाँ पाक खाल पनि निर्माण हँुदैछ । मास्टर प्लान पनि बनेको छ । सोहीअनुसार काम पनि हुँदैछ ।

धाम अङ्कित हुलाक टिकटमा  गत साल माघ महिना सरकारले  टाँचा लगाएको छ । त्यहाँ धामको मूल मन्दिरको फोटो छ भने पर्रोहा परेस्वर बोलबल धाम  उल्लेछ गरिएको छ ।

३६ सालदेखि विशेष रुपमा मन्दिरको व्यवस्थापन गरिको छ । यहाँ दैनिक रुपमा पूजापाठ गर्नका लागि  पुजारीहरु तैनाथ छन् ।

श्रावणी मेलाको अवसरमा विभिन्न  उपसमिति गठन गरेर काम  गरिन्छ ।  ज्योतिर्लिङ्ग   विषेश महत्व रहेकाले पूजा आजा गर्नेहरु दैनिक रुप हुन्छ ।

जसका लागि तीनबाट प्रवेशद्वार बनाएको छ । उहिले  श्रवणी मेला अवधिमा  प्रत्येक मिनेटमा ३२ जनाले उक्त ज्योतिर्लिङ्ग  जलार्पण गर्ने व्यवस्था मिलाएको छ ।  पर्रोहा बोलबम धामका  समितिका अध्यक्ष रामवलि चौधरीका अनुसार विभिन्न धार्मिक स्थलबाट जल ल्याएर आउनेहरुका लागि बिहान ३ बजेदेखि धामको ढोका खुला गरिएको  हुन्छ  । धाममा जलयात्रीको व्यवास्थापनका लागि स्थानीय स्वयम् सेवक, आमा समूह  र प्रहरीले निकै सक्रियतापूर्वक काम गरेको  छन् ।
 
 
पर्रोहा बोलबम धामको इतिहास
पश्चिम क्षेत्रको पशुपति भनेर समेत चिनिने  पर्रोहा बोलबम धामको इतिहास निकै पुरानो छ ।

धामका अध्यक्ष रामवली चैधरीले लुम्बिनीको इतिहासभन्दा अगाडिको समयको भएको अनुमान अहिलेसम्म सबै अुनसन्धान खुलेको  दाबी गर्छन् ।  उनले धामभन्दा २ किलोमिटर टाढा रहेको रानीबगियाँ तथा सैनासैनामा प्रचीन  समय ठूलो मानव बस्ती रहेको इतिहास रहेको बताए ।  जहाँ अहिले पनि पौराणिक कुवा, इँटा  आदि रहेको बेलाबेला अनुसन्धान भइरहेको छ । सोही समय पर्रोहा पर्मेश्वर बोलबम धाम गौतमबुद्धका पिता शुद्धोधन र आमा मायादेवी बुद्धको माओल देवदह जाँदा कपिलवस्तुबाट यही बाटो भएर पर्रोहा पर्मेश्वरको दर्शन गरेर जाने गरेको बताइन्छ भने पुराण पनि पर्रोहा धामको महत्व लेखिएको छ ।  त्यसैले बोलबम धाम ऐतिहासिक र पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छ । पर्रोहा बोलबम धाममा रहेको शिव ज्योतिर्लिङ्ग र यहाँ रहेका पार्वती र गणेशका मूर्ति पनि प्रचीन हुन् ।

पर्रोहा पर्मेश्वरबाहेक बुद्धले गृहत्याग गरेपछि पहिलोपटक बास बसेको स्थान कपिलवस्तुको ताम्रेश्वर, लुम्बिनी मार्गमा रहेको पर्कटेश्वरमा रहेका शिवलिङ्ग पनि ऐतिहासिक मानिन्छ । यिनीहरुको उत्पत्ति पनि बुद्धकालभन्दा पहिले नै भएको अनुमान गरिएको  खोजकर्ताहरुको रहेको छ ।

करिब डेढ सय वर्षअघि सौनामैनाको पर्रोहाका चन्दभान चौधरीका  (जो केही वर्षअघि स्वर्गे भइसके) छन् । जिजुहजुरबुवाले जङ्गल र झाडीभित्र शिवलिङ्ग फेला पारेका थिए । उनले शिवलिङ्गलाई आफ्नो घरमा लगेर स्थापना गर्नको प्रयास गरेका थिए । शिवलिङ्गलाई खन्दाखन्दै त्यसको फेद फेला पर्न सकेका थिएन् ।  त्यसै समयमा ती चौधरीले सपनामा देखेका थिए । सपनामा मलाई कोही कसैले कहीँ लान पाउँदैन भन्ने सुनेपछि सोही ठाउँमा मन्दिर निर्माण प्रयास गरेका थिए ।

तर मन्दिर निर्माण पूरा नहुँदै उहाँको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ पूजाआजा सुरु भएको थियो । अहिले पनि स्थानीय थारुहरुले मन्दिरलाई विषेश महत्व दिएर पूजा आज गर्छन् । २०३५ सालमा भारतको पञ्जागढ झारढोर भन्ने ठाउँबाट १०८ स्वामी रमेश गिरी बोलबमधाममा आएका थिए । उनलाई  नागाबाबा रुपमा पनि  चिनिन्छ ।  ती नागाबाबाले सो स्थानको संरक्षण र व्यवस्थापनमा लागेका थिए ।

नागाबाबाले मन्दिर निर्माणका लागि व्यक्ति तथा सरकारी जग्गा उपलब्ध गराएका थिए । व्यवस्थित रुपमा २०४८ सालमा त्यहाँ शिव पञ्चायन मन्दिर स्थापना भएको हो २०४९ सालबाट बोलबमधाममा जलार्पण कार्यक्रम सुरु भएको  धामका महासचिव रामकृष्ष्ण अधिकारीले बताए ।

नागाबाबा बसेपछि यो स्थानको महत्व बढ्न थालेको  हो । २०४५ सालको फागुनमा पर्रोहा बोलबम धाममा शिव पञ्चायन मन्दिर बनाउन जग बसालिएको थियो । नयाँ मन्दिर निर्माण भएपछि २०४९ सालबाट जलार्पण कार्यक्रम सुरु भएको हो ।

२०५३ साल र त्यसयता पटक पटक महायज्ञ गरी पर्रोहा बोलबम धामको विकासका लागि पहल गरिएको छ भने स्थानीय नगरपालिका, एकृकीत लुम्बिनी पर्यटन विकास बोर्डलगायतले आर्थिक सहयोग गरेका छन् ।

के भन्छन् बोलबम धामबारे स्थानीय मेयरसावहरु
 

बुटवल उपमहानगरपालिका मेयर शिवप्रसाद सुवेदी
बुटवल उपमहानगर पालिका मेयर शिवप्रसाद सुवेदीले पर्रोहा बोलबलधामको महत्वलाई थप  प्रचार प्रसार गर्नुपर्ने बताए  ।

उनले पर्रोहा धामलाई धार्मिक पर्यटनसँगै जोडेर विकास गर्दा रुपन्देहीबासीको मात्रै नभई लुम्बिनी अञ्चलको विकासमा महत्वपूर्ण यागदान पुर्याउने बताए ।

 यो हिन्दूहरु आस्थाको केन्द्र बनाउँदा भारतयि धार्मिक पर्यटकहरु थप भित्रने छन् । ती पर्यटकका कारणले आर्थिक गतिविधि बुटवलमा पनि बढ्ने छ । म भन्छु– सवै मिलेर  विषेश योजना बनाए काम गर्दा बुटवल उपहानगरपालिकाले  सक्दो सहयोग गर्छ  ।

चित्रबहादुर कार्की  सैनासैना नगरपालिका
यो बोलबम धामले सैनासैनाको छुटै परिचाहन बनाएको छ । यसलाई  व्यवस्थित गर्नका लागि नगरपालिकाले विगतदेखि सहयोग गरेको छ ।  अब हामी जनप्रतिनिधि आएपछि  थप व्यवस्थित गरेर  धार्मिक आस्था र धार्मिक पर्यटन दुवै दृष्टिकोणले आगाडि बढाउनुपर्छ । 


हामीले गर्न सक्ने भौतिक तथा अन्य सहयोगका लागि सधैँ नगरपालिको ढोका खुल्ला छ ।  यो धामको विकासले यहाँको आर्थिक गतिविधिलाई समेत अहिले प्रत्यक्ष फाइदा  पुगेको छ ।


श्रवणी मेला अवसर एक महिनासम्म यहाँ  बजार नै लाग्ने गर्छ । जहाँ नरिवल तथा  फलफूलका लाखौँ रुपयाँको कोरोबार हुन्छ । यसले यहाँका बासिन्दालाई प्रत्यक्ष लाभ दिएको छ ।  नगरपालिका संरक्षण, सम्बधन विकासका लागि क्रियाशील हुने छ ।

 सिद्धार्थनगर नगरपालिका हरि अधिकारी
 हाम्रो नगरपालिकाबाट नजिकै रहेको यो धामलाई  थप व्यवस्थित गर्नु आवश्यक छ । नजिकै रहेको लुम्बिनी छ । त्यहाँ आउने  धार्मिक पर्यटकलाई यसको महत्व बुझाउँदा धाममा पनि आउन सक्ने हुन्छन्  ।
अर्कोतर्फ सडक सञ्जाल थप विस्तार पनि आवश्यक छ । म अलि धार्मिक स्वभावको व्यक्ति पनि हुँ । यहाँको महत्वबारे थप प्रचार गर्न जरुरी छ  । यसका विकासका लागि तपस्या पनि चाहिन्छ । हामीले यहाँ आउँदा शान्ति पाएका छौँ । तसर्थ भौतिक तथा अन्य विकास गर्नका लागि नगरपालिका तयार छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप