केन्द्रीय संस्करण

कथा : भाइराजाको स्वदेश मोह

person explore access_timeजेठ ११, २०७६ chat_bubble_outline0

–शैलेश भट्टराई
बिहानको दस बज्नलाई करिब बीस मिनेट बाँकी नै थिया । सेतो सर्ट, नीलो कोट र नीलै कटराइजको पाइन्टमा चिटिक्क परेर भाइराजा सर आफ्नो सिल्की कपाल हल्लाउँदै जुँगामा ताउ लाउँदै स्कोर्पियोमा अफिस आउनुभयो । अफिस कम्पाउन्डभित्र गाडी रोकियो । एकछिनपछि ड्राइभर ओर्लिए । गाडीको ढोका खोल्दिए । अनि उहाँ गाडीबाट उत्रिनुभयो । उहाँ उत्रिएपछि ड्राइभरले उहाँको ब्रिफकेस बोकिदिए । 

उहाँ कार्यकक्षतर्फ अघि बढ्नु भयो, उहाँ अघिअघि ड्राइभर पछिपछि । आफ्नो च्याम्बरमा छिर्नु भयो । ड्राइभर पनि छिरे जो ब्रिफकेस राखेर फर्किहाले । अफिस टाइम सुरु हुन बाँकी नै भएर होला सेवाग्राहीको भीड थिएन । एकजना सेवाग्राही भने प्रमुखलाई कुरेर बसिरहेका देखिन्थे । एकछिनपछि भाइराजा सरले उनलाई भित्र आउने इसारा दिनुभो । इसारा पाउनासाथ ऊनी काखीमा फाइल च्यापेर कौतुहल र मन्द मुस्कानका साथ छिटो छिटो हिँड्दै भाइराजा सरको च्याम्बरमा छिरे । करिब तीन चार मिनेटसम्म त शान्त नै थियो उहाँको च्याम्बर । त्यसपछि त अलिक चर्कै आवाज आउन थाल्यो । आवाज एकतर्फी थियो । भाइराजा सर ठूलो ठूलो आवाजमा बोल्दै हुनुहुन्थ्यो । 

के भा’रैछ भनेर म उहाँको च्याम्बरको ढोकाको सामुन्नेमा भित्रको आवाज सुनिने गरी कान त्यतै सोझ्याएर उभिएँ । उभिएँ के भनौँ कनसुत्लो लागेँ । भएको कुरा किन ढाँट्ने ? नेतागिरीमा निपुण मेरा लागि यसरी चियोचर्चो गर्नु सामान्य कुरा नै थियो । भनौँ भने ‘जागिरभित्रको जागिर’ पनि थियो । साइड जब थियो । भाइराजा सर भन्दै हुनहुन्थ्यो–

‘अहिले म विदेश गएँ भने एक से एक युनिभर्सिटीले स्वागत गर्छन्, जानासाथ पीआरको ग्यारेन्टी छ । महिनाको आठ दस हजार डलर त लेक्चर दिएकै भरमा यत्तिकै कमाउँछु । रिसर्चको काम गरेँ भने त झन् कति कति । अरू सेवा सुविधाको त कुरै गर्नु परेन । त्यत्रा त्यत्रा अवसरहरू छोडेर म यहाँ किन छु ? किनकि आफ्नै देशमा केही गरूँ भन्ने भावना हो मेरा । 

‘आफ्नो देशको सेवा गर्नमा जुन मजा आउँछ, त्यो अरूमा पाइन्न । आफ्नो देशमा उन्नति गर्नुको मजा नै बेग्लै हुन्छ । त्यसैले म नेपालमा छु ।’

उहाँ रिसाउँदा, झोक्किँदा कसैले उहाँको चित्त दुखाउँदा, उहाँलाई कसैले इन्सल्ट गर्दा, लघुताभाष हुँदा उहाँको मुखबाट बारम्बार निस्किइरहने सूत्रवाक्य हुन् यी । यस्तो लाग्थ्यो यी वाक्यहरू उहाँले भनिरहनुभएको छैन, उहाँको मुखारबिन्दुबाट स्वचालित रूपमा आफ से आफ निस्किरहेका छन् । 

कहिलेकहीँ सडकमा धुवाँधूलो खाँदा, जाममा घण्टौँ फस्दा, बजारमा तेल ग्यास नपाउँदा, लोड्सेडिङको मारमा पर्दा, सामान किनेर ठगिँदा, कानुनी उल्झन आइलाग्दा चाहिँ ‘थुक्क बेकारै आइएछ यो देश’ भन्नुहुन्थ्यो । 

उहाँको आजको झोँकका कारण के हो, त्यो चाहिँ मैले बुझ्न सकिरहेको थिइनँ । तर नबुझी पनि धर थिएन मलाई । मेरो ‘जागिरभित्रको जागिर’को सवाल जो थियो । यसको छुट्टै अघोषित तलब, भत्ता थियो । सेवा, सुविधा, उन्मुक्ति, छुट र लुटका अरू अनेक अवसरहरू थिए । 

भाइराजा सरको कुरो सोह्रै आना सत्य थियो । उहाँ पढाइमा अति ट्यालेन्ट हुनुहुन्थ्यो । उहाँको प्रतिस्पर्धी कोही थियो भने त्यो उहाँ आफैँ हुनुहुन्थ्यो । आफ्नो विषयवस्तुमा धुरन्धर अनि अङ्ग्रेजी भाषामा प्रखर भएको कारणले विदेशमा प्रतिनिधित्व गर्नुपर्दा उहाँको नेतृत्व र उपस्थिति निर्विकल्प जस्तै थियो । उहाँले वाकओभर दिएपछि मात्रै अरूको चान्स आउँथ्यो । यस्तै सिलसिलामा कतिपय विदेशीविज्ञहरू पनि उहाँका सामु परेपछि हीनताबोधले ग्रसित भएर जान्थे रे भने कतिपय तारिफ गरेर अघाउन्नथे रे । कतिपय त ‘मलाई तपाईंको चेला बनाउनुस्, केही सिक्न चाहन्छु’ पनि भन्थे रे । साँच्चै नै ! आफ्नो क्षेत्रको ज्ञान र

सीपको शास्त्रार्थमा एक से एक मै हुँ भन्ने घाघडानहरू पनि उहाँको अघि लखतरान हुन्थे । कुनै शङ्कै थिएन । 

त्यसैले त पूर्ण छात्रवृत्तिमा पाँच पाँच वर्ष अध्ययन बिदामा बेलायतमा पढ्ने अवसर पाउनुभयो । अवसरको सदुपयोग गर्न उहाँ बेलायत जानु भयो । 

उहाँ विदेश जाँदा धेरैले अनुमान गरेका थिए–‘भाइराजा भासिए, केको आउँथे अब ? आउँदैनन् । उतै सेटल हुन्छन् । एक से एक अफरहरू छोडेर त्यस्तो धुरन्धर मान्छे यहाँ धुवाँ धूलो खान किन आइरहन्थे ? 
साँच्चै नै विदेशमा उहाँलाई उतै राख्ने प्रयत्न पनि खुब भाथ्यो र । पढाइ सकिएपछि बेलायत मात्र नभई अरू अरू देशका विश्वविद्यालयबाट पनि एक से एक अफर पनि आएका थिए । त्यस्ता अफरले अहिले पनि उहाँलाई छोडेको छैन ।

बेलायतमा उहाँले झन् अत्याधुनिक, उन्नत ज्ञान र सीप सिक्ने अवसर पाउनुभयो । मास्टर्स डिग्री सकेर जानुभएको भाइराजा सर सबको अनुमानलाई समसान पुर्याउँदै, सब अवसरहरूलाई आगो लगाउँदै पीएचडी उपाधि लिएर नेपाल आउनुभयो । देशको सेवामा दत्तचित्त भएर लाग्नु भयो । आएको एक वर्षभित्रै प्रमोसन हुनुभयो । अब त झन् खारिएर आउनुभएको थियो । त्यसैले उहाँका प्रतिस्पर्धीहरूको हीनताबोधको हाइट झनै बढेर जाने पक्का भइसकेको थियो । 

बेलायत जानुअघि आलाकाँचै हुनुहुन्थ्यो तर अहिले अलिक परिपक्व हुनुभएछ । सेतै फूलेको कपालले पनि सायद यसैलाई इङ्गित गथ्र्यो । कालो वर्णको हुनुहुन्थ्यो । अहिले अलिक गोरो हुनुभएछ । कागलाई माथ गर्ने चलाख हुनुहुन्थ्यो । त्यसमा भने कुनै कमी आउन दिनुभएको थिएन । साह्रै मरन्च्याँसे हुनुहुन्थ्यो । खपटे अनुहारमा गाला स्याप्प बसेका थिए । तपाईंले उहाँलाई नमस्कार गर्दा उहाँका हातले होइन, गालाले नमस्कार फर्काउलान् जस्तो थियो । गालाका हड्डीहरू अघि बढ्नलाई तँछाडमछाड गरेको देखिन्थ्यो । ती हड्डीहरू पनि पछि हटेछन् । गाला अघि बढेछन् । गाला पुक्क लागेर खाइलाग्दो हुनुभएछ । ह्यान्डसम हुनुभएछ । वास्तवमा मान्छेको गालामा सुन्दरताको ठूलै रहस्य लुकेको हुन्छ । बेलायत जानुअघि चुरोट खाएर नअघाउने मान्छे अब चुरोट खानेलाई अघाउन्जेल अर्ती दिने भएर आउनुभएछ । रक्सी पनि बेपत्तै पिउनुहुन्थ्यो । त्यो बानी पनि बेलायतमै बगाएर आउनुभएछ । रक्सी खाएर दुनियाँको हुर्मत लिने मान्छे अहिले भने रक्सी खानेको हुर्मत लिन थाल्नुभएछ । यी र यस्ता परिवर्तन बोकेर आउनुभएको थियो भाइराजा सर बेलायतबाट । 

बेलायतबाट आएपछि उहाँको विद्वता र ज्ञानले देश नै लाभान्वित हुँदै थियो । यही क्रममा उहाँ चर्को स्वरले बोल्नुपर्ने यस्तै एकाध घटनाहरू बेलाबखत हुने गर्थे । 

आज पनि फेरि त्यस्तो के भएछ त ? मेरा कान फेरि उहाँको च्याम्बरतिर सोझ्याउनै पर्ने बाध्यता थियो । सोझ्याएँ । 

उहाँ भन्दै हुनुहुन्थ्यो– ‘म के भिखारी हुँ ? मेरो त्यत्रो ‘अपच्र्युनिटी कस्ट’ मजाक हो ? तपाईं मेरो इन्सल्ट गर्न आउनु भाको ? ’ 
र अन्त्यमा भन्नुभयो–

‘म यो फाइलमा ज्यान गए नि सही गर्दिनँ ।

जानुस् तपाईं ।’ एकछिनपछि ‘देशमै केही गर्नु भाइराजा सरको भव्य भावनामाथि खेलवाड गर्ने तत्त्व कालोनीलो मुख लाउँदै उहाँको च्याम्बरबाट भिजेको मुसो झैँ लुरुक्क बाहिर निस्केको देखियो । 

त्यो तत्त्व त्यही समयमा भोलिपल्ट पनि भाइराजा सरको सोही च्याम्बरबाट निस्केको देखियो । तर अघिल्लो दिनको भन्दा नितान्त फरक दृश्य, फरक मुद्रा र फरक हाउभाउका साथ । भाइराजा सर र ऊ दुवैजना डीभी परेका बेरोजगारझैँ मखलेल मुद्रामा कान्तिमय मुहारका साथ बाहिर निस्कँदै थिए । दुवैजना मधुर मुस्कानका साथ हात मिलाएर बिदावारी भए । म पनि मखलेल हुँदै आफ्नो ‘जागिरभित्रको जागिर’ खानतिर लागेँ ।’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...