बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कविता : रोगी चस्मा

शनिबार, ११ जेठ २०७६, १४ : ०६
शनिबार, ११ जेठ २०७६

किशोर सापकोटा

रातोलाई रातो र कालोलाई कालो देख्ने म
आजकल रातोलाई कालो देख्न थालेको छु 
अनि कालोलाई रातो देख्न थालेको छु
किनभने मैले एउटा चस्मा लगाएको छु । 

आफ्नोलाई आफ्नै र अरूलाई पराइ देख्ने म
आजकल आफ्नालाई नि पराइ देख्न थाल्या छु 
अनि पराइलाई नि आफ्ना देख्न थाल्या छु 
किनभने मैले एउटा चस्मा लगाएको छु । 

अमृतलाई विष देख्न थालेको छु
अनि विषलाई अमृत देख्न थालेको छु
आफ्नो मान्छेलाई माहान देख्न थालेको छु
अनि अरूको मान्छेलाई, ठग देख्न थालेको छु
किनभने मैले एउटा चस्मा लगाएको छु । 

हजारलाई हजार र लाखलाई लाख देख्ने म
आजकल हजारलाई लाख र लाखलाई हजार देख्न थालेको छु ।

कसैले देशको सिमाना मिच्दा पनि
मैले राम्रो देख्न थालेको छु
कसैले मातृभूमिलाई आत्मीय माया गर्दा पनि
मैले त्यहाँ राष्ट्रघात देख्न थालेको छु
किनभने मैले एउटा चस्मा लगाएको छु ।

सत्य तथ्यलाई दूधको दूध, पानीको पानी देख्ने म,
आजकल आँखै अगाडिको कुरा पनि फिटिक्कै देख्दिनँ
फेरि कहिले हुँदै नभएको कुरा पनि प्रष्टै देख्छु
किनभने मैले एउटा चस्मा लगाएको छु ।

हो, आजकल मैले एउटा रोगी चश्मा लगाएको छु
योग्यता, कर्तव्य र नैतिकतालाई बेचेर किनेको
एउटा राजनीतिक चस्मा लगाएको छु 
मैले एउटा दलको रोगी चस्मा लगाएको छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप