शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुबई छोडेर मटन भुटन

शनिबार, ११ जेठ २०७६, ११ : २७
शनिबार, ११ जेठ २०७६

विदेशमा ६ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम ग¥यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गरे । 

दुबईमा मासिक रु ३० हजार हाराहारी कमाइ गर्ने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्छन् ।
 
भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी विसं २०६० बाट ६ वर्ष दुबई बसेर स्वदेशमै केही गर्ने योजना बुन्दै नेपाल फर्किए । चोक बजारमै काकाले शुरुआत गरेको होटल उनले सम्हाले । 

होटलको नाम थियो अधिकारी रेष्टुराँ । खाजा पाक्थ्यो भुटन र मटन । उत्साहित हुँदै अधिकारीले भने, ‘पहिलो दिनमा मैले रु छ हजारको व्यापार गरेँ, निकै खुशी लाग्यो ।’ उनको होटलमा दैनिक स्थानीय जातको खसी काटेर  भुटनका परिकार बनाइन्छन् ।  
 
व्यापार बढ्दै गएपछि उनी उत्साहित हुँदै गए । बजार नजिकै एक कट्ठा जग्गा किनेर घर र रेष्टुराँसँगै बनाए । अधिकारीले अहिले दैनिक रु १५ हजारको हाराहारीमा व्यापार गर्छन् । 

श्रीमती अम्बिका र एकजना कामदारले उनलाई सघाउँदै आएका छन् । उनले भने, ‘विदेशको कमाइभन्दा यहाँ धेरै राम्रो छ, म सन्तुष्ट छु ।’ दुई सन्तान छन् अधिकारीका । 

छोरीले निजी विद्यालयबाट एसइई दिएकी छिन् भने छोरा निजी विद्यालयमा पढ्दै छन् । दुई सन्तान पढाउनेदेखि घरखर्च टार्दै बचत पनि गर्न सकेको अधिकारी बताउँछन् । 
 
एकै प्रकारको खाजा खुवाउने हुँदा जिल्लाका विभिन्न ठाउँबाट ग्राहक आउने गरेको उनको भनाइ छ । बैंकका कर्मचारी, शिक्षक, घर जग्गा व्यवसायी, सरकारी कर्मचारी उहाँका नियमित ग्राहकजस्तै छन् । 

आफ्नै घर भएकाले भाडा तिर्न नपर्ने र कर्मचारी एकजना मात्रै भएकाले बचत राम्रो हुने गरेको छ । अधिकारीले भने, ‘लगन लगाएर काम ग¥यो भने नेपालमै केही गर्न सकिन्छ ।’ नियमित खट्दा उपलब्धि हुन्छ भन्ने अनुभव उनले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप