शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अखाद्य वस्तु मिसावट गर्ने ७९ उद्योगमाथि मुद्दा दायर

शुक्रबार, १० जेठ २०७६, १८ : ०८
शुक्रबार, १० जेठ २०७६

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । 

खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । 

मुद्दा दायर गरिएकामा खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, बिस्कुट, चाउचाउ, अचारलगायत खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरु रहेको उक्त कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख सोमकान्त रिजालले जानकारी दिए । 

एक महिनासम्म मनाइने खाद्य सुरक्षा दिवसका अवसरमा खाद्य स्वच्छतासम्बन्धी माइकिङ, प्रचारप्रसार, उद्योगी–व्यवसायी तथा बुद्धिजीवीहरुसँग छलफल एवं होटल र पसलहरुको अनुगमन गरिने सो अबसरमा बताइएको थियो । 

सडक निर्माण नहुँदा उद्योगलाई समस्या

पथलैया वीरगञ्ज व्यापारिक एवं औद्योगिक मार्गको सडक निर्माणमा भइरहेको ढिलाइका कारण   सवारी साधन सञ्चालन गर्न नपाउँदा औद्योगिक करिडोरका उद्योग समस्यामा परेका छन् । 

करिडोरमा उद्योगबाट उत्पादित सामान ओसारपोसार तथा कच्चापदार्थ ढुवानीका लागि सडकबाट प्रवेश बन्द गरिएकाले समस्या भएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले भने । 

नेपालको मुख्य नाका वीरगञ्जबाट हुने आयात, निर्यात र औद्योगिक उत्पादनका लागि बाराको पथलैयादेखि वीरगञ्जसम्म २७ किलोमिटर छ लेनको सडक विस्तार भइरहेको छ ।

अहिले भइरहेको सडक निर्माणले मुख्य लेनदेखि केही किलोमिटर टाढाबाट घुमेर ढुवानी गर्नुपर्ने भएकाले उद्योगको खर्च पनि वृद्धि भएको उनको गुनासो थियो । 

मुख्य सडकसँग जोडिएको करिडोरमा कतिपय स्थानमा दर्जनौं उद्योग सञ्चालनमा रहेका कारण छलेनको मुख्य सडकमा बार र सर्भिस लेन पछि नाला भएका कारण सडकबाट उद्योगमा गाडी जान सकेको छैन । 

नारायणी स्टिलका रोसिदका अनुसार उद्योग अगाडि प्रवेश मार्ग नहुँदा ठूलो समस्या भएको हो । ठेकेदार कम्पनीले भने उद्योगहरुलाई केही समस्या भए पनि छिटोभन्दा छिटो सडक निर्माण  हुने जनाएको छ । सडक खनिएका कारण धुलोले स्थानीय बासिन्दाको स्वास्थ्यमा समेत समस्या परेको जीतपुर सिमराका रामकुमार मण्डलले बताए । 

यसैबीच  हेटौँडामा रहेको युनिलिभर उद्योगका दुई सहायक उद्योगहरु बन्द हुँदा त्यहाँ कार्यरत मजदूर समस्यामा परेका छन् । लिभरको ब्राण्डमा साबुन, सर्फ र स्याम्पुहरु उत्पादन गर्ने सहयक कम्पनी बन्द भएकाले उनीहरू आन्दोलनमा उत्रेका छन् । 

मजदूरहरुले आफ्नो हकहितका लागि लागि पत्रकार सम्मेलन गर्नाका साथै श्रम तथा रोजगार कार्यालयमा उजुरीसमेत गरेका छन् । उद्योग बन्द हुँदा करीब दुईसय मजदूर बिचल्ली हुने मजदूर नेताहरुले बताएका छन । 

बन्द उद्योगका मालिकहरुले भने युनिलिभरले नेपाली साझेदारसँग सम्झौता रद्द गरेर भारतीय उद्योगलाई उत्पादनको जिम्मा दिन लागेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप