शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मीको विजयी सुरुवात, १०७ रनमा समेटियो प्रदेश २

शुक्रबार, १० जेठ २०७६, १६ : ४४
शुक्रबार, १० जेठ २०७६

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले प्रदेश नम्बर २ लाई एक सय ७१ रनले हरायो । 

आर्मीले दिएको दुई सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१.४ ओभरमा सबै विकेट गुमाएर एक सय ७ रनमा समेटिएको थियो । 

प्रदेश २ का लागि हरी शंकर साहले सर्वाधिक २१ रन बनाए । संसद शेखले १६, सुधीर चौधरीले १५ र राशिद खानले १४ रन बनाए । बलिङमा आर्मीका साहब आलमले चार  विकेट हात पारे । जितेन्द्र मुखिया र सुसन भारीले दुई दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर नौ विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो । आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ खेले । 

ओपनर राजुले ९० रन बनाए । विनोदले ६६ रन बनाएका थिए । रोहित कुमार पौडेलले ४७, हरि चौहानले २६ र सुशन भारीले अविजित १२ रन बनाएका थिए । 

बलिङमा प्रदेश २ का हरिशंकर साहले तीन विकेट लिए । जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले तीन अंक जोडेको छ  । 

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । 

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप