शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउडका अनु मलिक जस्तो बन्नु छः रेखा

शुक्रबार, १० जेठ २०७६, १३ : ०१
शुक्रबार, १० जेठ २०७६

रेखा पौडेल नेपाली फिल्म क्षेत्रकी पहिलो महिला सङ्गीतकार हुन् । मित्रता सिने मूभि प्रालिको ब्यानरमा निर्मित तथा स्वर्गीय शिव रेग्मीद्वारा निर्देशित ‘फूल’बाट उनले फिल्म सङ्गीत थालेकी हुन् । त्यसपछि उनले प्रदर्शनमा आइसकेका फिल्म हमेसा, पीपल, चिहान, कोइला लगायत सङ्गीत दिएकी थिइन् । उनले सङ्गीत गरेको चर्खा, काले दाइ लगायत केही फिल्म रिलिजमा आउन बाँकी छन् । 
०६४ मा आकृति एल्बममार्फत सङ्गीत सिर्जनामा होमिएकी पौडेलले करिब आधादर्जन सोलो एल्बम र १०० भन्दा बढी फुटकर गीतमा सङ्गीत भरेकी छन् । चितवन भण्डारा स्थायी घर भएकी उनी एल्बम र फिल्म सङ्गीतको अलवा काठमाडौँका केही निजी विद्यालयमा समेत सङ्गीत सिकाउँछिन् । ललितपुरको कुपन्डोलमा आफ्नै स्वामित्वको आरोह सङ्गीत विद्यालयसमेत चलाउँदै आएकी सङ्गीतकार रेखालाई रातोपाटीका यस्ता छन् दस प्रश्न ।

 सङ्गीतमा किन होमिनुभयो ?
– गीत सङ्गीतमा मेरो सानैदेखि रुचि थियो । सानोमा म विभिन्न गीत गाउँथे । २०५९ मा चितवनमा एउटा महोत्सव आयोजना भएको थियो । सो महोत्सवमा आयोजित आधुनिक गीत प्रतियोगितामा म प्रथम पनि भएको थिएँ । त्यहाँ प्रथम त्यसपछि अब गीत गाउनुपर्छ । गाउन सक्छु भन्ने मलाई लाग्यो । त्यही भएर म ०६१ मा काठमाडौँ छिरेँ । काठमाडौँ छिरेपछि सङ्गीत सिक्न थालेँ । करिब ५ वर्ष सङ्गीतमा प्रशिक्षण लिएपछि मैले मदन गोपाल भन्ने एक गायकको गीतमा सङ्गीत गर्ने अवसर पाएँ । उहाँको गीत बजारमा आएपछि सङ्गीतका लागि कामहरु धमाधम आउन थाल्यो । यसैमा बिजी हुन थालेँ । त्यसपछि पछाडि फर्किएर हेर्नुपरेको छैन । 

कस्तो पाउनुभयो यो क्षेत्र ?
मिहिनेत गर्नुपर्छ सफला पाइँदो रहेछ । नाम, दाम लगायत सबै मिल्दो रहेछ । अहिले जस्तो शब्द भए पनि म बुझ्न सक्छु र त्यसमा सङ्गीत गर्न सक्छु । अहिले मेरा लागि सङ्गीत सजिलो भएको छ ।
सङ्गीतमै लागेर जिउन सजिलो होला ?
–सङ्गीत नै गरेर जिउँछु भन्नेका लागि गाह्रो छ । म त स्टेज कार्यक्रम पनि गर्छु । स्कुलमा पनि सङ्गीत सिकाउँछु । पहिले ५ वटा स्कुलमा सङ्गीत सिकाउँथे । अहिले ३ वटा स्कुलमा सिकाउँछु । कुपन्डोलमा आरोह नामक एक सङ्गीत प्रशिक्षण केन्द्र खोलेकी छु । त्यसको अलवा एल्बम, फिल्मका सङ्गीत गरिरहेकी छु । यी सबै कामले सजिलो भएको छ ।

सङ्गीतको पहिलो आम्दानी ?
–एक फिल्मको सङ्गीतबाट ३५ हजार पाएकी थिएँ । त्यो पैसा आमाबुबालाई सपिङ गराएर सिध्याएँ ।

सिर्जना गर्न मन लागेको सङ्गीत ?
– यस्तो भन्ने छैन । जस्तो अफर आउँछ  त्यस्तो सङ्गीत गर्न सक्छु । फिल्म, आधुनिक लगायतका सङ्गीत अहिले गरिरहेकी छु । भर्खर एक भोजपुरी फिल्मको पनि अफर आएको छ । त्यो गर्दैछु । सङ्गीतमा जस्तो माग हुन्छ त्यस्तो फिलिङ मलाई आउँछु । नेपाली फिल्मका आइटम, लभ, रोमान्टिक लगायतका गीत गरेको छु ।

मनपर्ने खाना ?
– सिम्पल खालको भेजिटेरियन खाना मनपर्छ । 

पूरा नभएको सपना ?
–सङ्गीतमा लागेर सफलता पाएको बुबाले देख्नुहोस् भन्ने सपना थियो तर बुबा बित्नु भएपछि मात्र मलाई सफलता हात पर्यो । बुबालाई सफल सङ्गीतकार भएको देखाउने सपना पूरा हुन सकेन ।
रुचिको विषय ?
– नपुगेको, नदेखेको नयाँ ठाउँ पुग्ने, घुम्ने ।

कस्तो महिला ?
– म सिम्पल, शान्त स्वभाव भएको महिला हुँ । सबैसँग मिल्न, घुल्न सक्ने । छोटकरीमा भन्नुपर्दा म सहयोगी, मिलनसार र मिहिनेती छु ।

कस्तो सङ्गीतकार बन्ने इच्छा छ ?
– बलिउडका अनु मलिक जस्तै बन्ने इच्छा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप