शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कसले जित्ला विश्वकप क्रिकेट ? पुरस्कार राशि हालसम्मकै सर्वाधिक

शुक्रबार, १० जेठ २०७६, १० : २६
शुक्रबार, १० जेठ २०७६

मे ३० देखि जुलाई १४ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको रौनकता चुलिएको छ । विश्वकप कस्ले जित्ला भन्ने अड्कल बाजी पनि सुरु भएको छ । क्रिकेटका पण्डितहरुले विश्वकप जित्ने टोलीको आआफ्नै हिसावले ब्याख्या र अनुमान गरिरहेका छन् ।  

यस पटकको विश्वकपमा आयोजक इङल्यान्ड सहित भारत, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, बंगलादेश र अफगानिस्तान गरि १० टोलीको सहभागिता रहेने छ ।

सहभागी सबै टोलीेले लिग चरणमा एकअर्कासँग एक एक खेल खेल्नेछन् । त्यसपछि उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सबै टोलीले एक अर्काविरुद्ध खेल्दा एउटा टोलीले नौ खेल खेल्नेछ । समग्रमा सबै टोलीले ४५ खेल खेल्नेछन् ।

सन् १९७५ देखि सुरु भएको विश्वकपको सफल टोली अस्ट्रेलिया हो । साविक विजेता अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकप उपाधि जितिसकेको छ । दुई पटक फाइनलमा पराजित भएको अस्ट्रेलिया अहिले उपाधिको रक्षा गर्दै हाफदर्जन उपाधि चुम्ने दौडमा छ । अष्ट्रेलिया सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा च्याम्पियन भएको थियो । आरोन फिन्चको कप्तानीमा रहेको अष्ट्रेलिया समग्रमा निकै बलियो देखिएको छ । बल टेम्परिङको एकबर्षे कारवाही पछि टोलीमा फर्किएका स्टिभ स्मिथ र डेभिड वार्नरको आगमनले अस्ट्रेलिया झनै बलियो भएको विश्लेषण क्रिकेटका पण्डितहरुले गरिरहेका छन् ।

हालसम्म विश्वकपको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड पनि यसपटक दावेदार देखिएको छ । इयान मोर्गनको कप्तानीमा रहेको इङ्ल्यान्ड टोलीमा आत्मविश्वासी र अनुभवी खेलाडीको जमघट छ । सिमित ओभरमा उत्कृष्ट क्रिकेट खेलिरहेको इङ्ल्यान्ड घरेलु मैदान भएकोले पनि यसपटक दावेदार देखिन्छ ।

यसैगरी भारत पनि विश्वकप उपाधिको दावेदार टोली हो । दुई पटकको विजेता भारत विराट कोहलीको कप्तानीमा यसपटक पनि उपाधि जित्ने अभियानमा छ । स्टार खेलाडीले भरिएको भारतले यसअघि सन् १९८३ र २०११ को विश्वकप जितेको थियो ।

दुई पटक विश्वकपको स्वाद चाखि सकेको वेस्ट इन्डिज पनि जाइन्ट किलर टोली हो । वेस्ट इन्डिजले सन् १९७५ र १९७९ मा लगातार दुई संस्करण जितेको थियो । एकसय एक खेलाडीले भरिएको वेस्ट इन्डिज जस्तोसुकै बलिया टोलीलाई हराउने क्षमता राख्दछ ।

यसैगरी एक एक पटक विश्वकप उपाधिको स्वाद चाखेका श्रींलका र पाकिस्तान पनि औसत टोलीको रुपमा देखिएका छन् । सदाबहार टोलीको छवि बनाएका यी दुवै टोली विश्वकपका बलिया दावेदार मानिन्छन् । पाकिस्तानले सन् १९९२ को विश्वकप जितेको थियो । श्रीलंका १९९४ मा विश्वकप च्याम्पियन भएको थियो ।

विश्वकप अहिलेसम्म पाँच देशले मात्र जित्न सकेका छन् । यद्यपी नतिजेका टोलीपनि उस्तै बलिया र अनुभवी छन् । विश्लेषहरुको विचारमा यसपटक नयाँ टोलीका लागि पनि विश्वकप जित्ने आधार उत्तिकै छ । अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङले विश्वकपको फरम्याटले सबै देशलाई उपाधि जित्ने मौका बराबरी दिएको बताएका छन् । विश्वकप पुगेका सबै टोली क्षमतावान भएकोले आयोजक इङल्यान्ड, दक्षिण अफ्रीका, बंगलादेश र अफगानिस्तानले पनि उपाधि हत्याउन सक्ने पोन्टिङको तर्क छ ।

बढ्यो पुरस्कार राशी

एकदिवसीय विश्वकपको विजेता टोलीले चार मिलियन अमेरिकी डलर (करिव ४५ करोड रुपैयाँ) पुरस्कार पाउनेछ । यो हालसम्मकै सर्वाधिक पुरस्कार राशी हो । 

यसअघि सन् २०१५ को विश्वकप विजेता अस्ट्रेलियाले ३.९७५ मिलियन डलर पुरस्कार पाएको थियो । सन् २०११ मा भारतले विश्वकप जित्दा ३.२५ मिलियन डलर पुरस्कार पाएको थियो । यसैगरी उपविजेताले दुई मिलियन अमेरिकी डलर (करिव २२ करोड ४६ लाख रुपैयाँ) पुरस्कार पाउनेछ । सन् २०१५ उपविजेता बनेको न्युजिल्यान्डलेम १.७५ मिलियन डलर पुरस्कार पाएको थियो । आईसीसीले पुरस्कारमा कूल १० मिलियन डलर (एक अर्ब १२ करोड २९ लाख रुपैयाँ) खर्च गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप