बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाले नेपालबाट माग्यो घरेलु कामदार

स्वास्थ्य परीक्षणको गाँठो एक हप्ताभित्र फुकाउने मलेसियन मन्त्रीको आश्वासन
शुक्रबार, १० जेठ २०७६, १० : २४
शुक्रबार, १० जेठ २०७६

काठमाडौँ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले स्वास्थ्य परीक्षणको गाँठो एक हप्ताभित्र फुकाउने आश्वासन दिएका छन् ।

बिहीबार क्वालालुम्पुरस्थित नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनबीच भएको भेटवार्तामा मन्त्री सेगरनले यस्तो आश्वासन दिएका हुन् ।

मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड अर्थात् एसओपी नेपाललाई पठाएपछि नेपालले त्यही आधारमा नयाँ तथा पुराना स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणका लागि दर्ता हुन सार्वजनिक आह्वान गरेको थियो ।

अहिले नयाँ तथा पुराना स्वास्थ्य संस्था गरी २ सय ९० स्वास्थ्य संस्थाले मलेसिया रोजगारीको स्वास्थ्य परीक्षणमा जोडिन निवेदन दिएका छन् । त्यसबाहेक सरकारी अस्पताललाई समेत यस कार्यमा सहभागी गराउन खोजिएको छ । सरकारी अस्पतालको हकमा स्वास्थ्य मन्त्रालयले नै सिफारिस गर्न सक्ने अधिकार छ । यसरी हेर्दा करिब ३ सय नयाँ तथा पुराना गरी स्वास्थ्य संस्थाले मलेसिया रोजगारीको स्वास्थ्य परीक्षणमा जोडिन चाहेको छ ।

तर मलेसियाबाट स्वास्थ्यको मापदण्ड आएपनि अनुगमनका लागि टोली नआउँदा स्वास्थ्य संस्था छनोट हुन सकेको छैन । यद्यपि नेपालको तर्फबाट हालसम्म ९४ वटा स्वास्थ्य संस्थाको अनुगमन भइसकको छ ।

मलेसियाबाट टोली नआउँदा स्वास्थ्य संस्था छनोट हुन नसकेपछि नेपालले दूतावासमार्फत् यसको गाँठो फुकाइदिन मानव संशाधनमन्त्री कुलासेगरनलाई आग्रह गरेको थियो ।

बिहीबारको भेटमा मन्त्री कुलासेगरनले स्वास्थ्य परीक्षणको गाँठो एक साताभित्र फुकाउने आश्वासन दिएको क्वालालुम्पुरस्थित नेपाली राजदूत उदयराज पाण्डेले रातोपाटीलाई बताए ।

बिहीबारको छलफलमा नेपालले स्वास्थ्य परीक्षणको टोली पठाइदिन आग्रह गरेको राजदूत पाण्डेले जानकारी दिए । जवाफमा मन्त्री सेगरनले अबको एक साताभित्र अन्तर मन्त्रालय छलफल गरेर यसको टुङ्गो लगाउने जवाफ दिएका थिए ।

मलेसियाले माग्यो घरेलु कामदार

यसैबीच बिहिबारको भेटमा मलेसियाले घरेलु कामदारको मागसमेत गरेको छ । अहिले मुख्यतः महिलाहरुलाई लिने गरी मलेसियाले घरेलु कामदारको माग गरेको राजदूत पाण्डेले बताए जवाफमा नेपालले घरेलु कामदारको सेवा, शर्त तथा सुविधासम्बन्धी नेपालले लिएको नीतिबारे जानकारी गराएका थिए । मलेसियाले पनि घरेलु कामदार लिनेसम्बन्धी आफ्नो कानुनबारे नेपाललाई जानकारी गराउँदै दुई पक्षीय छलफल गरी घरेलु कामदार लिने प्रस्ताव राखेको छ । मलेसियाले हाल फिलिपिन्स तथा इण्डोनेसियाबाट घरेलु कामदार लिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप