बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालमा के होला त्यसको असर ?

बिहीबार, ०९ जेठ २०७६, १७ : ०८
बिहीबार, ०९ जेठ २०७६

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदी पुनः भारतको प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ ।

यद्यपि लोकसभा चुनावको पूर्ण परिणाम आउन बाँकी नै छ तर नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालमा त्यसको असर के हुन्छ भन्ने चर्चा सुरु भएको छ ।

विदेश मामिलाका जानकार अरुण सुवेदी भन्छन्, नरेन्द्र मोदी भारतका प्रधानमन्त्री भएपछि नेपालका लागि परिस्थिति त्यति सहज हुँदैन । आधारभूत जीवन मूल्यमा नै फरक पर्छ ।’ सायद यस्तै आँकलन धेरैले गरेको हुनुपर्छ । दुवै देशले बाहिरी रूपमा सम्बन्धमा सुधार भएको पटक पटक भनिए पनि भित्री रूपमा त्यस्तो देखिएको छैन । सुवेदी भन्छन्, नेपाल–भारतको सम्बन्ध अन्तरिम व्यवस्थापन मात्र भएको हो ।’

सन् २०१४ मा चुनाव जितेर भारतका प्रधानमन्त्री भएपछि सुरुमा नेपालसँग राम्रो सम्बन्ध बनाउन सफल भएका प्रधानमन्त्री मोदीका कारण नेपालको सम्बन्धमा दरार उत्पन्न भएको थियो । पहिलो पटक उनी नेपाल भ्रमणमा आउँदा नेपाली जनताले हरहर मोदी घरघर मोदी नारा लगाएर सडकमै ओर्लिएका थिए ।

मोदीले संसदमा सम्बोधन गर्दा त झन् नेपालीहरु उनको ‘फ्यान’ नै भएका थिए तर लगातार दुई तीनवटा घटनाले मोदीप्रति नेपाली जनताको दिल टुट्यो । त्यसैको असर हो नरेन्द्र मोदी पुनः प्रधानमन्त्री नभइदिए हुन्थ्यो भन्ने धेरै नेपालको मुड बन्यो ।

विदेश मामिलाका जानकार केशव भट्टराई भन्छन्, ‘मतगणना जारी नै छ, अहिले नै प्रधानमन्त्री स्वीकार नगरिहालौँ तर सम्भावना मोदीको नै छ । नरेन्द्र मोदी प्रधानमन्त्री हुनुभयो भने त्यसलाई नेपाल सरकारले कुन रूपमा लिन्छ, त्यसमा दुई देशको कूटनीतिमा भर पर्छ ।’

विगतमा यी दुई देशबीचमा राम्रो सम्बन्ध थिएन । अहिले केही सुधार भए पनि एकअर्कालाई त्यही नजरले हेर्छन् । भट्टराईले भने, ‘नेपालमा जुन ढङ्गको राजनीतिक परिवर्तन भएको छ, त्यसलाई भारतले कसरी लिएको छ ? जुन प्रकारको सङ्घीय संरचना बनेको छ त्यसलाई भारतले कसरी लिएको छ ? ती कुराहरु पनि बाहिर आएका छैनन् । त्यसैले उहाँ प्रधानमन्त्री भइसकेपछि मात्र सम्बन्धमा के हुने तय हुन्छ ।’


नेकपाका सांसदसमेत रहेका परराष्ट्रविद् दीपक भट्टले नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुनु नेपालका लागि खुशीको कुरा रहेको प्रतिक्रया दिए । उनले भने, ‘मोदी प्रधानमन्त्री भएपछि नेपाल–भरतको सम्बन्ध झन् उचाइमा पुग्छ ।’


सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका टिप्पणी अध्ययन गर्ने हो भने नरेन्द्र मोदी भारतका प्रधानमन्त्रीमा पुनः नआऊन् भन्ने देखिन्छ । त्यसको मुख्य कारण हो– नाकाबन्दी । २०७२ वैशाख १२ गते आएको भुइँचालोबाट थिलथिल भएको नेपालमाथि नाकाबन्दी लागेपछि नेपालीको मन कुडिएको थियो ।

तत्कालीन मधेसी मोर्चाले गरेको आन्दोलनका कारण नाकाबन्दी भएको र त्यसमा भारतले सहयोग गरेको आरोप लाग्दै आएको छ । नेपाली जनताले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालमा नाकाबन्दी लगाएको कुरा अझै बिर्सन सकेका छैनन् । त्यही भएर मोदी प्रधानमन्त्रीमा नआइदिए हुन्थ्यो भन्ने मनोविज्ञान अझै प्रदर्शन भइरहेको छ । मोदीको पहिलो भ्रमणमा सडकमै ओर्लेर स्वागत गरेका नेपालीले गत वैशाख २८ गते नरेन्द्र मोदी नेपाल भ्रमणम आउँदा तिनै नेपालीले गो ब्याक मोदीको नारा लगाएका थिए । त्यो मनोविज्ञान अझै हटेको छैन । 

नरेन्द्र मोदी प्रधानमन्त्री भएको बेला भारतका तर्फबाट नेपालको संविधान निर्माण हुन लाग्दा त्यसलाई प्रभावित पार्ने काम भएको थियो । तत्कालीन विदेश सचिव एस जयशङ्कर नेपाल आएर संविधान निर्माण कार्यलाई केही दिन रोक्नका लागि आग्रह गरेका थिए । मधेसवादी दलको माग संविधानमा समावेश नभएको भन्दै आन्दोलन भइरहेको थियो ।

त्यसलाई मध्यनजर गर्दै केही दिनका लागि भए पनि संविधान निर्माण कार्य स्थगित गर्न गरेको आग्रहलाई स्वीकार गर्दै दुई दिनका लािग स्थगित गरिएको थियो । तर ती दुई दिनमा पनि कुनै सहमति हुन सकेको थिएन । यसले गर्दा पनि नेपाली जनता प्रधानमन्त्री मोदीप्रति नाकारात्मक हुँदै गइरहेका थिए । 

यसैगरी प्रधानमन्त्री मोदीले भारतमा नोटबन्दी लगाउँदा त्यसको असर नेपालमा पनि परेको थियो । नोटबन्दी लागेपछि नेपालमा रहेका भारतीय नोटको व्यवस्थापन गर्नमा भारतले सहयोग नगरेको भन्दै नेपाली जनता मोदीप्रति आक्रोशित भएका थिए ।


भाजपा हिन्दुवादी पार्टी रहेका हुनाले पक्कै पनि नेपाल हिन्दू राष्ट्र होस् भन्ने चाहना नरेन्द्र मोदीको हुने धारणा डा. प्रमोद जयसवालको रहेको छ । नेपाल, भारत र चीनको अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा अध्ययन गरेका डा. जयसवालले नेपाल हिन्दू राष्ट्र होस् भन्ने चाहन्छन् र त्यसका लागि प्रधानमन्त्री मोदीले प्रयास गर्ने बताए ।


त्यति मात्र होइन, नेपाल र भारतले संयुक्त रूपमा प्रबुद्ध समूह गठन गरेको थियो । समूहले प्रतिवेदन तयार गर्यो तर प्रधानमन्त्री मोदीले बुझ्न मानेका छैनन् । त्यसले गर्दा पनि नेपाली जनता मोदीप्रति सशङ्कित छन् । 

नेपालसँग भारतका दुईवटा चासो छन् । पहिलो चासो सुरक्षा नै हो । खुल्ला सीमाका कारण सुरक्षाको विषयलाई लिएर भारत नेपालप्रति दृष्टि जमाएर बसेको हुन्छ । त्यस्तै अर्को कुरा हो, सांस्कृतिक । हिन्दू धर्मको कट्टरपन्थी रहेको भाजपाले नेपालमा पनि हिन्दु धर्म आओस् भन्ने चाहना पक्कै राखेको होला । विदेश मामिला जानकार सुवेदीले भने, ‘नरेन्द्र मोदी प्रधानमन्त्री भइसकेपछि धर्मनिपेक्षताको विषयमा नेपालले ठूलो चुनौति सामना गर्नुपर्ने देखिन्छ ।’

भाजपा हिन्दुवादी पार्टी रहेका हुनाले पक्कै पनि नेपाल हिन्दू राष्ट्र होस् भन्ने चाहना नरेन्द्र मोदीको हुने धारणा डा. प्रमोद जयसवालको रहेको छ । नेपाल, भारत र चीनको अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा अध्ययन गरेका डा. जयसवालले नेपाल हिन्दू राष्ट्र होस् भन्ने चाहन्छन् र त्यसका लागि प्रधानमन्त्री मोदीले प्रयास गर्ने बताए ।

पछिल्लो समय नेपालमा चीन र अमेरिकाको प्रभाव बढ्दै गएको छ । त्यसका बारेमा पनि भारतले चासो राख्दै राख्दै आएको उनले बताए । खुला सीमाका कारण कुनै अरू देशको प्रभाव नेपालमा नहोस् भन्ने चाहना स्वाभाविक रूपमा भारतले राख्छ । त्यसका लागि प्रधानमन्त्री मोदीले नेपालसँग पहल पनि गर्न सक्छन् भन्दै डा. जयसवालले भने, ‘यद्यपि नेपालको विषयलाई लिएर भारतले चीनलाई चिढ्याउँदैन, भारत–चीनको सम्बन्ध आफ्नै खालको छ । त्यसमा मोदीले नेपाललाई नमुछ्ने टिप्पणी गरे ।

नेपालमा एन्टी इन्डियन ट्रेन्ड चलाएर राजनीति गर्ने परम्परा छ । भारतलाई जति विरोध गर्यो त्यति नै राष्ट्रवादी होइन्छ भन्ने मनोविज्ञान रहेको बताउँदै सुवेदीले यो कुरालाई नरेन्द्र मोदीले सहज रूपमा नलिने र कडा दृष्टिले हेर्ने आफूलाई लागेको बताए ।

नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि सांस्कृतिक पुनर्जागरण भएको भारतवर्षमा खुशीयाली मनाउने पक्कै हुन्छ र त्यसको असर नेपालमा पर्ने उनको दाबी छ ।

नेकपाका सांसदसमेत रहेका परराष्ट्रविद् दीपक भट्टले नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुनु नेपालका लागि खुशीको कुरा रहेको प्रतिक्रया दिए । उनले भने, ‘मोदी प्रधानमन्त्री भएपछि नेपाल–भरतको सम्बन्ध झन् उचाइमा पुग्छ ।’

भारतले नाकाबन्दी लगाउँदा नेपाललाई नाफा–नोक्सान दुवै भएको बताउँदै उनले नाकाबन्दी नलगाएको भए पनि नेपाल र चीनको सम्बन्ध यो स्तरमा बढ्ने थिएन । यो फाइदा हो तर त्योभन्दा धेरै नोक्सान नै भएको उनले बताए । यद्यपि नेपाली जनताले नाकाबन्दीको विषय विर्सिंदै गएका र नेपाल – भारत सम्बन्ध नयाँ ढङ्गबाट अगाडि बढ्ने उनले बताए ।

अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अध्ययन गर्नुभएका डा. प्रमोद जयसवालले पनि नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालमा खासै फरक नपर्ने र पुरानै सम्बन्धलाई निरन्तरता दिने प्रतिक्रिया दिए । मोदी पहिला जस्तो शक्तिशाली थिए, अहिले पनि त्यस्तै शक्तिशाली भएर आएका कारण सम्बन्धमा खासै असर नपर्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप