शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा छोरीसँगै सुतेकी महिलामाथि धारिलो हतियार प्रहार, अवस्था गम्भीर

बिहीबार, ०९ जेठ २०७६, १२ : ५४
बिहीबार, ०९ जेठ २०७६

झापाको मेचीनगरपालिका – १० धुलाबारीमा गएराती मध्यरातमा सुतिरहेको बेला एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहार हुँदा स्थानीय ४० वर्षीया आरती चौहान (बुढाथोकी) गम्भीर घाइते भएकी छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेका हुन् । 

बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् ।

आक्रमणको घटना राति भएपनि आज बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा घटनाबारे थाहा भएको छिमेकी गोकुल हुमागाईंले बताए ।

एकतले पक्की सो घरको एउटा कोठामा आरती र उनकी छोरी बस्थे भने अर्को कोठामा प्यारालाइसिसकी बिरामी वृद्धा सासु थिइन्  । घर बाहिर एक कोठामा सुत्ने गरेकी आरतीका सासुको कोठामा पनि बाहिरबाट चुकुल लगाइएको थियो ।

सो घरसँगै जोडिएको अर्को घरमा कोही पनि बस्दैनन् भने अरु घर केही टाढा छन् । छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँमा आहाल भएको थियो । छोरी अर्पणा रोइरहेकी थिइन् । बिरामी सासु अर्को कोठामा सुतिरहेकी थिइन् । 

७ वर्षीया छोरीले घटनबारे जानकारी दिएरपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए । घटना भएको थाहा भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेश मैलानीले बताए । 

गाउँलेले खबर गरेपछि घटनास्थलमा धुलाबारी इलाका प्रहरी कार्यालयको टोली पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख  एसपी मैनाली आफँ प्रहरी टोली लिएर घटनाको अनुसन्धानमा जुटेका थिए । उनले घटनाको अनुसन्धान भइरहेको जनाउँदै अभियुक्त चाँडै पत्ता लगाइने बताए ।

बुधबार राति निकै ठूलो पानी परेको थियो । पानी परेकै बेला आक्रमणकारी सो घरमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाकी प्रत्यक्षदर्शी नाबालिका अर्पणाले दुई व्यक्ति कोठामा पसेर आक्रमण गरेको र आफूलाई कराएमा मारिदिने धम्की दिँदै घाँटीमा हातले च्यापेर हुत्याइदिएको बताएकी थिइन् । 

घटनामा संलग्न दुई जनामध्ये एक जना अग्लो, सेतो अनुहार भएको र अर्को कालो अनुहार भएको ति बालीकाले बताएकी छन् ।

घाइते आरतीका पति ओमबहादुर बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । आरतीको हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।

घटनाको बिषयमा प्रहरीले सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको र घटनामा संलग्न व्यक्तिहरुको खोजीकार्यमा लागेको प्रहरीले जनाएइको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप