केन्द्रीय संस्करण

‘अहिलेसम्म कुनै कर्मचारी यो गाउँपालिकामा आएका छैनन्’

person explore access_timeजेठ ९, २०७६ chat_bubble_outline0

नेपालमा पहिलो पटक भएको संविधान सभाबाट संविधान निर्माण भई सदियौँदेखिको एकात्मक र केन्द्रीकृत शासन व्यवस्था अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रूपमा रूपान्तरण भयो ।

सोहीअनुसार नेपाल नयाँ संरचनामा परिणत भई ७५३ स्थानीय तहको निर्माण भयो । यीमध्ये प्रदेश नं ५ को नवलपरासी जिल्लामा (बर्दघाट (सुस्ता पश्चिम) ७ वटा स्थानीय तह रहेका छन् । 

सरावल गाउँपालिका चुरे पहाडदेखि भारतको सीमानासम्म फैलिएको छ । यो गाउँपालिका सुन्दर, ऊर्वर भूमि, औद्योगिक, कृषि, पर्यटन र व्यापारको प्रचुर सम्भावना भएको क्षेत्र हो । 

यो गाउँपालिका साविक तिलकपुर, मनरी, सरावल, बडहरादुबौलिया, रामपुर खडौना र भुजहवा गाविस मिलाएर गाउँपालिका गठन भएको हो । यसको केन्द्र साविक सरावल गाविसको कार्यालयमा रहेको छ ।

२०६८ को जनगणनाअनुसार ३७,४१८ जनसङ्ख्या रहेको यो गाउँपालिको क्षेत्रफल ७३.१९ वर्ग किमि र २०७४ को निर्वाचनको तथ्याङ्कअनुसार कुल मतदाता २०,८१९ रहेका छन् । 

यस गाउँपालिकाबाट स्थानीय तह निर्वाचन २०७४ मा नेपाल लोकतान्त्रिकबाट निर्वाचित जनप्रतिनिधि राधेश्याम चौधरीसँग रातोपाटीको ‘जनप्रतिनिधि संवाद’का लागि प्रतिक्षा भट्टले गरेको कुराकानी ।

तपाइँले आफ्नो गाउँपालिकामा कस्ता योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? 
–हाम्रो गाउँपालिकामा विशेष गरी चोतर्फी विकास गर्ने उद्देश्य लिएका छौँ । चौतर्फी रूपमा विकासको अवधारणलाई अगाडि बढाएका छौँ । हामीले सडक, खेलकुद मैदान, कृषि, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । भर्खरै एउटा खेलकुद मैदान शिलान्यास गरेका छौँ । यो खेलकुद मैदानले स्थानीय क्षेत्रमा नै खेलकुदमा रुचि भएका युवाहरुको क्षमता विकास गर्न सहयोग गर्ने अपेक्षा लिएका छौँ ।

यसैगरी बौद्ध सभाहल पनि निर्माणको क्रममा छ । बीउबिजन सङ्कलन केन्द्रहरु पनि निर्माण गरिरहेका छौँ । यसैगरी स्वास्थ्य चौकी पनि निर्माण गरिरहेका छौँ । विभिन्न वडाहरुका लागि पनि भवन निर्माणको काम भइरहेको छ । नयाँ सडक निर्माण गर्नुका साथै बाटोमा पिच गर्ने काम पनि भइरहेका छन् ।  यसैगरी हामीले पर्यटकीय क्षेत्र अन्तर्गत भगवान् गौतम बुद्धसँग सम्बन्धित विश्वकै लोपन्मुख वृक्ष कल्पवृक्ष संरक्षणका लागि विशेष कार्यक्रम ल्याएका छौँ । यो वृक्ष चर्मरोगको उपचारका लागि निकै फलदायी हुन्छ । यहाँका तालहरुमा रहने लोपोन्मुख सायबेरियन चराहरुको संरक्षणमा पनि विशेष ध्यान दिएका छौँ र बजेट छुट्याएर डीपीआर तयार गरिरहेका छौँ । यसका लागि गाउँपालिकाले १० लाख बजेट छुट्याएको छ । 
 
स्थानीय तह र प्रदेशबीचको समन्वय कसरी गरिरहनुभएको छ ?
–सरावल गाउँपालिका र प्रदेशबीच विभिन्न कार्यक्रममा सहकार्य र साझेदारी भइरहेका छन् । बजेटमा डुब्लिकेसन नहोस् भनेर हामीले प्रदेशसँग साझेदारी गरेर प्रदेशले लगानी गरेको आयोजनामा गाउँपालिकाको बजेट खर्च नगर्ने र गाउँपालिकाले खर्च गरेको क्षेत्रमा प्रदेशले खर्च नगर्ने गरी सहकार्य गरिरहेका छौँ । प्रदेशले खानेपानी आयोजनाका लागि २५, ३० लाख रूपैयाँ दिएको छ, जसमा गाउँपालिकाको बजेट थप गरी आयोजनालाई अगाडि बढाएका छौँ । प्रदेश र गाउँपालिकाले फरक फरक टोलमा फरक फरक आयोजना सञ्चालन गरिहेका छौँ । जस्तो कि प्रदेशले कुनै बाटोमा लगानी गरिरहेको छ भने प्रदेशले कहाँदेखि कहाँसम्म बनाउने र गाउँपालिकाले कहाँदेखि कहाँसम्म बनाउने भन्ने छुट्याएर काम अगाडि बढाएका छौँ । यसैगरी पर्यटकीय क्षेत्र निर्माणका लागि पनि प्रदेशले सहयोग गरिरहेको छ । 

स्थानीय तहका मुख्य समस्या के–के हुन् ?
–यो क्षेत्र धेरै बाढी र डुबानमा पर्ने क्षेत्र हो । पानी परेको समयमा पानी नबग्ने भएकाले यहाँ पानी भरिने र डुबानमा पर्ने गर्छ । खोला, नदी धेरै भएकाले पनि यो क्षेत्रमा डुबानको समस्या परिरहन्छ । यसैगरी, सिंचाइ आयोजना पनि भएकाले पानी परेको समयमा पानी भरिरहन्छ । 
कर्मचारी समायोजन भनाइमा मात्र भए जस्तो देखिएको छ । अहिलेसम्म कुनै कर्मचारी यो गाउँपालिकामा आएका छैनन् । 

स्थानीय क्षेत्रमा काम गरिरहँदा तपाईंसमक्ष जनताका केकस्ता गुनासा आइरहेका छन् ?
–जनताका गुनासा धेरै छन् । लगभग २०, २५ वर्षपछि जनताले आफ्ना जनप्रतिनिधि चुन्ने मौका पाएका छन्, जसले गर्दा उनीहरुलाई आफ्ना गुनासाहरु सुनाउने सहज वातावरण बनेको छ । समाजमा हुने झै–झगडा, बाटो हिलो वा धुँलो, चाँडै चाहिने विकास निर्माणका काम ढिलो भएमा जनताहरु गुनासो गर्न आउँछन् । 

स्थानीय तहमा बेरुजु धेरै देखिएको छ । यस्तो किन भइरहेको छ ?
–बेरुजु त सबै ठाउँमा देखिन्छ । यो स्वाभाविक नै हो । यहाँ पनि केही बेरुजु देखिएका छन् । 
 
तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरूभन्दा फरक र नमुना बनाउन केकस्ता योजना अघि सार्नुभएको छ र कसरी काम भइरहेका छन् ?
–सबैभन्दा पहिला हामीले हरेक योजनाका लागि गुरुयोजना बनाएका छौँ । सडक गुरुयोजना, सिंचाइ गुरुयोजना, कृषि गुरुयोजना साथै शिक्षाको क्षेत्रमा पनि हामीले गुरुयोजना बनाएका छौँ । 
सरकार निःशुल्क शिक्षा, स्वास्थ्य र औषधि निःशुल्क दिन सकेको छैन, त्यसका लागि हामीले पहल गरिरहेका छौँ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...