केन्द्रीय संस्करण
बिर्सियो प्रतिबद्धता

हावामै उड्यो काठमाडौँमुनिको ग्याँस निकाल्ने सरकारको ‘गफ’ (फोटो/भिडियो)

२ वर्षअघि १ महिनाभित्रै टेकुको ग्याँस प्लान्टबाट ग्याँस निकाल्ने वाचा अझै पूरा भएन

person explore access_timeजेठ ९, २०७६ chat_bubble_outline0
शम्भु दंगाल

रातोपाटी

काठमाडौँको टेकुस्थित भैरव मन्दिरको नजिकै पुग्नुभयो भने तपार्इंले एउटा पुरानो ग्याँस स्टोरेज बुलेट देख्नुहुनेछ । कम्पाउन्डको गेट खोल्नेवित्तिकै तपार्इंले जमिनमा गाडिएको ठूलो पाइप देख्नुहुनेछ । त्यसको छेउमा जमिनको ३ ठाउँबाट पानीका फोका उडाउँदै प्राकृतिक ग्याँसबाहिर आइरहेको महसुस गर्न सकिन्छ ।

२०७२ सालमा भारतले अघोषित नाकाबन्दी गरेर काठमाडौँमा ग्याँसको चरम अभाव गराएपछि सो स्थालको पुनः परिचय गराएको थियो ।

सोही वर्षको माघमा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सो स्थलमा पुगेर मिथेन ग्याँस प्लान्टको अवलोकन गर्दै सरकारले त्यसको उपभोगका लागि सरकारले काम गर्ने बताएका थिए ।

यस्तै २०७३ कात्तिकमा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशी ललितपुरको इमाडोलस्थित ग्याँस उत्खनन् स्थलमा पुगेर प्राकृतिक गाँस जोडिएको स्टोभ बालेका थिए । उनले पनि त्यतिबेला १ महिनाभित्रै टेकुको ग्याँस प्लान्टबाट ग्याँस निकाल्ने बताएका थिए ।

तत्कालीन दुई मन्त्रीले गरेको वाचा अझै पूरा हुन सकेको छैन । यता इमाडोलमा ३ सय ५० मिटर खनेर ग्याँस परीक्षण गरिएको त थियो तर सो स्थानको ग्याँसको पनि प्रयोग हुन सकेको छैन ।

३ वर्षपछि सो क्षेत्रमा पुगेर हेर्दा एउटा ग्याँस कुवा खनिएको बाहेक अन्य काम भएको देखिँदैन । नजिकै अर्को ठाउँमा ग्याँस निकाल्ने कुवा खन्न ठेक्का दिए पनि आधा काम गरेर ठेकेदार भागेको खानी विभागअन्तर्गत ग्याँस अन्वेषण शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठले रातोपाटीलाई बताए ।

भारतको नाकाबन्दीका बेला काठमाडौँको जमिनमुनि रहेको ग्याँसको उपभोग गर्न सकिने कुराले ठूलो चर्चा पाएको थियो तर नाकाबन्दीको अन्त्यसँगै यो स्थलको चर्चा पनि सेलाउँदै गयो ।

कति छ ग्याँस, के छ अध्ययन ?

२०३५ सालमा जापानी संस्था जाइकाले अध्ययन गरेर काठमाडौँको टेकुदेखि कोटेश्वर, ललितपुरको टीकाथलीसम्म जमिनमुनि ४० प्रतिशत ग्याँस र ६० प्रतिशत पानीको मिश्रण रहेको प्रतिवेदन तयार पारेको थियो ।

विभागका उपसिचिव श्रेष्ठले भने– ‘जापानी नियोग जाइकाले १९७८ देखि ग्याँसको अध्ययन थालेर सन् १९८२ सम्ममा टेकुमा ग्याँस प्लान्ट स्थापना गरेर वितरण थालेको थियो । ८ वर्षसम्म टेकु आसपासका सरकारी कार्यालय उद्योग विभाग, पशु अस्पताल, नेपाली सेनाको क्याम्पमा निःशुल्क परीक्षणका लागि पाइपलाइनबाट वितरण गरेको थियो ।’

अध्ययनमा काठमाडौँको २६ वर्ग किमि क्षेत्रफलमुनि ३१ करोड घनमिटर मिथेन ग्याँसको भण्डार रहेको पत्ता लागेको थियो । सो अध्ययनले काठमाडौँका २० हजार परिवारलाई ५० वर्षसम्म ग्याँस प्रयोग गर्न पुग्ने अनुमान गरिएको थियो । अध्ययनबाट टेकु–त्रिपुरेश्वर, कोटेश्वर–तीनकुने र महाराजगन्ज–इमाडोल क्षेत्रमुनि ग्याँसको घनत्व बढी पाइएको थियो ।

जाइका र खानी विभाग मिलेर गरेको अध्यनमा काठमाडौँमुनिको ग्याँसको ३ ब्लक बनाएर अध्ययन गरेको थियो । काठमाडौँको जमिनमुनि ३ सय मिलियन क्युबिक मिटर रहेको भनेर जाइकाले रिपोर्ट दिएको थियो । त्यही आधारलाई टेकेर खानी विभाग, जाइका र यूएनडीपीको संयुक्त सहकार्यमा १४ ठाउँमा ग्याँस परीक्षणका लागि ग्याँस कुवा खनिएको थियो । कतै ३ मिटर तल पुग्ने वित्तिकै ग्याँस भेटिएको र कतै १५ सय मिटर तल ग्याँस भेटिएको श्रेष्ठले बताए ।

७२ ठाउँमा त्यस्ता ग्याँस कुवाबाट ग्याँस वितरण गर्न सके २० वर्षलाई ग्याँस पुग्ने अनुमान गरिएको थियो । तर अहिले जनसङ्ख्या बढ्नु र इनार, टुवेल धेरै खनिएका कारण जमिनमुनिको पानी निकाल्दा ग्यासको मात्रा घटेको हुन सक्ने श्रेष्ठ बताउँछन् । उनले भने– ‘जमिनमुनिबाट जति पानी निकाल्छौँ, ग्याँसको मात्रा पनि त्यही अनुसार घट्दै जान्छ । ग्याँस फेरि बढ्दै जाने कुरा हैन ।’

काठमाडौँ उपत्यकामा ११ वटा ग्याँस निकाल्ने क्षेत्र पहिचान गरिएको छ भने केही स्थानमा ड्रिलिङ गरेर ग्याँस निकाल्ने परीक्षणसमेत सफल भएको छ । एक ठाउँमा ड्रिलिङ गरेर ग्याँस परीक्षण गर्न ५० लाखमाथि खर्च हुने विभागका अधिकारीहरु बताउँछन् । ग्याँस परीक्षण गर्न नै धेरै खर्च लाग्छ भने व्यावसायिक रूपमा उत्पादन गर्ने हो भने १ अर्ब बढी खर्च लाग्ने अनुमान छ । 

तर पछि सरकारले त्यसको मर्मत सम्भारमा ध्यान नदिएपछि सो प्लान्ट बन्द भएको थियो । २०७२ सालमा भारतको नाकाबन्दीपछि मात्र सो प्लान्टलाई पुनर्जीवित गर्ने प्रयास गरिएको थियो । तर पुरानो ग्याँस कुवामा तल गाडिएको पाइप भाँचिएको पाइएपछि पुनः ड्रिलिङ गरेर नयाँ कुवा बनाइएको छ ।

टेकुमा ३ वटा ग्याँस कुवाबाट ग्याँस निकालेर त्यसलाई स्टोरेज बुलेटमा राखेर वितरण गर्ने योजना बनाइएको थियो । आधा काम सकेर ठेकेदार भागेपछि सो काम अलपत्र परेको छ भने यो वर्ष तीनकुने क्षेत्रमा ड्रिलिङ गरेर ग्याँस परीक्षण गर्न लागिएको श्रेष्ठले बताए । तीनकुनेमा ड्रिलिङका लागि झन्डै ६५ लाख खर्च हुने अनुमान छ  ।

किन रोकियो ग्याँस उत्खनन्को काम

२०३५ सालमा जाइकाले गरेको अध्ययन अहिलेको समयमा सान्दर्भिक नहुने भन्दै कति ग्याँस छ, कस्तो अवस्थामा छ भनेर पुनः सर्वे गरेर मात्र काम सुरु गर्नुपर्ने खानी विभागको निष्कर्ष छ । तर अहिले जमिनमुुनि कति ग्याँस छ भन्ने यकिन नभएको र त्यसका लागि पुनः सर्वे गर्नुपर्ने खानी तथा भूगर्व विभागका महानिर्देशक सोमप्रसाद सापकोटा बताउँछन् ।

विभागले जाइका लगायतका संस्थालाई पुनः सर्वेका लागि भनेको महानिर्देशक सापकोटाले बताए । आजभन्दा ४० वर्षअघि अध्ययन गरेकाले पुनः अध्ययन गर्न आवश्यक रहेको उनले बताए । अहिलेको अवस्थामा पहिलाको अध्ययनले काम गर्न नमिल्ने भन्दै पुनः अध्ययनको आवश्यकता रहेको उनले बताए । टेकुमा खनिएको ग्याँस कुवाबाट मात्र ग्याँस वितरण सम्भव नभएको उपसचिव श्रेष्ठ बताउँछन् ।

ग्याँस उत्खनन् र वितरणमा सरकारी उदासिनता

हरेक वर्ष एक ठाउँमा ग्याँस परीक्षण गर्नका लागि सीमित बजेट मात्र आउने गरेको विभागको भनाइ छ । सरकारले यो विषयलाई आफ्नो नीति तथा कार्यक्रममा पनि स्पष्ट व्यवस्था गरेको छैन । अर्कोतिर पहिलेको अध्ययनअनुसार जुन परिणाममा ग्याँस थियो त्यो अहिले नहुन सक्ने विभागको आँकलन छ । 

यस्तै विभागसँग यसबारेको दक्ष जनशक्तिको पनि अभाव छ । ड्रिलिङ गर्नका लागि पनि सिंचाइ विभागबाट कर्मचारी ल्याउनुपर्ने आवश्यकता रहेको श्रेष्ठले बताए । सरकारले ठूलो लगानी गर्न सके वा विदेशी ठूला लगानीकर्ता वा सहयोगकर्ता आए मात्र काठमाडौँको ग्याँसको प्रयोग गर्न सकिने विभागको निष्कर्ष छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...