शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्छ: मुख्यमन्त्री राउत

मङ्गलबार, ०७ जेठ २०७६, १६ : ३०
मङ्गलबार, ०७ जेठ २०७६

धनुषा– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताएका छन् ।  जनकपुरधाममा आज आयोजित खुला दिसामुक्त अभियानसम्बन्धी कार्यशालामा उनले भने, ‘सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौचालय बन्ने र यसले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सहयोग पुग्ने छ ।’ 

मुख्यमन्त्री राउतले धनुषा र महोत्तरी जिल्लामा सञ्चालित खुला दिसामुक्त अभियानमा सहयोग गर्नका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै शौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताका लागि प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गरिदिने बताए । 

उनले भने, ‘तपाईहरुले निर्माण गर्नुपर्ने स्थानबारे जानकारी गराउनुस्, प्रदेश सरकारले त्यहाँ सार्वजनिक शौचालय बनाउँछ ।’ मुख्यमन्त्री राउतले प्रदेश सरकारले सञ्चालन गरेको स्वच्छता अभियानअन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्न लागेको पनि जानकारी गराए । 

‘सम्पूर्ण प्रदेशवासीको महत्वपूर्ण अभिभारा खुला दिसामुक्त एवं स्वच्छ बनाऔँ, गाउँ शहर सारा’ भन्ने नाराका साथ प्रदेश खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति प्रदेश नं २ ले आयोजना गरेको कार्यशालामा धनुषा र महोत्तरीका गाउँ र नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ । 

सो अवसरमा उनीहरुले आउँदो असार १५ सम्म आफ्नो पालिकालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । धनुषामा ९५ र महोत्तरीमा ९६ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको तथ्याङ्कले देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप