केन्द्रीय संस्करण

बुद्धजयन्ती मनाउनुको तात्पर्य

person explore access_timeजेठ ७, २०७६ chat_bubble_outline0
कमल रिजाल

रातोपाटी

गत शनिबार २५६३औँ बुद्ध जयन्ती मनायौँ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म तथा बुद्धत्व प्राप्ति र निर्वाण प्राप्तिको दिन भएकाले यस दिनलाई विशेष पर्वका रूपमा मनाउने गरिएको हो । वि.पू. ५०५ वर्षको वैशाख शुक्ल पूर्णिमाको दिन जन्मेका बुद्धले वि.पू. ४७१ को वैशाखशुक्ल पूर्णिमामा दिन बुद्धत्व र वि. पू. ४२६ को वैशाख शुल्क पूर्णिमाको दिन निर्वाण प्राप्त गरेका थिए ।  
बुद्धदर्शनको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ, जसमा सूत्तपिटक, विनयपिटक र अभिधम्मपिटक पर्छन् । यिनको सङ्कलन बुद्धको निर्वाणपछि उनका शिष्य आनन्द र उपालिले गरेका थिए । यीमध्ये सुत्तपिटकमा बुद्धका उपदेश वाक्यहरू समावेश छन् । विनयपिटक आचारसम्बन्धी र अभिधम्मपिटक दार्शनिक विषयसित सम्बन्धित ग्रन्थ हुन्, जसलाई बुद्धकै शिष्यहरूले सुत्तपिटकमा रहेका दार्शनिक अंशहरूको आधारमा तयार पारेका थिए ।

खासगरी बुद्धदर्शनमा दुई सम्प्रदाय देखिएका छन्, हीनयान र महायान । हीनयान बुद्धपछिको सर्वाधिक पुरानो बौद्ध मत हो । महायान त्यसभन्दा पछिको व्याख्या मानिन्छ, जसको प्रवर्तन अश्वघोषले गरेका थिए । हीनयानले एकल अर्थात् व्यक्तिगत मुक्तिको पक्ष लिएको छ । महायानले सबै प्राणीको मुक्तिको वकालत गरेको छ । बुद्धदर्शन धर्मको नामले बढी परिचित छ हिजोआज, पूर्वी गोलाद्र्धका धेरै स्थानमा फैलिएको छ यो । सम्राट अशोकको पालादेखि सुरु भएको फैलिने क्रम द्वितीय शताब्दीतिर आइपुग्दा तीव्र भएको थियो । 

बुद्धलाई हिन्दूसंस्कृतिले भगवानको एक अवतार मानेको छ । अहिले पनि वैदिक सनातनीहरू शुभकार्यको सुरुमा उनको नाम लिने गर्छन् । यस अनुसार विष्णुको नवौँ अवतार हुन् उनी । भागवतमा व्यासजीले भने २१औँ अवतार मानेका छन् तर सम्राट अशोकले शाक्यवंशीय महाज्ञानी व्यक्ति भनेका छन् । जसले जे भनेका भए पनि मानवतावादी दार्शनिक भने पक्कै हुन् । उनले जति गरे मानवधर्मकै लागि गरे, मानवताकै लागि गरे, मानवहितकै लागि गरे ।  

यसै पनि बुद्ध व्यक्ति होइन । व्यक्तिगत रूपमा उनी शिद्धार्थ गौतम हुन्, महाराज शुद्धोधनका पुत्र, महारानी मायावतीका लाड्ला यस्तै यस्तै तर सारमा उनी व्यक्ति होइनन् । व्यक्ति नभएपछि नर र नारायणको कुरै आएन । बुद्ध संस्था हो, संस्कृति हो, ज्ञान हो, चेतना हो, चिन्तन हो, बौद्धिकता हो, ऊर्जा हो, धर्ती हो, अकाश हो, त्यसलाई चिन्ने द्रष्टा हो, हेर्ने दृष्टि हो, बुझ्ने बुद्धि हो, बुझाउने बौद्धिकता हो, आस्था हो, आस्थिकता हो, विश्वास हो, दया हो, माया हो, मैत्री हो, करुणा हो, त्याग हो, तपस्या हो, ध्यान हो, धेय हो, साध्य हो । भर्ता होइन भरण हो, पोष्य र पोषक होइन पोषण हो, पदार्थ होइन चेतन हो, शोक होइन सोच हो, भोजन होइन भोक हो, आनन होइन आनन्द हो, राश होइन रस हो, हिमाल होइन शिखर हो, सागर होइन गहिराइ हो, मानव होइन मानतवता हो, भाव हो, भावना हो, ज्ञानका ज्ञान महाज्ञान, ज्योतिका ज्योति महाज्योति, चेतका चेत महाचेत हो । 

प्रायः मानिस तीन किसिमका पाइन्छन्– अज्ञानी, ज्ञानी, महाज्ञानी । जब मानिस यसबाट माथि ज्ञानातीतको अवस्थामा पुग्छ तब व्यक्ति हराउँछ । आफूमा अरूलाई र अरूमा आफूलाई देख्न थाल्छ । यही हो बुद्ध, यही अवस्था हो बुद्ध, जहाँ शान्ति र आनन्दबाहेक केही हुँदैन । सर्वत्र सून्य, सर्वत्र शान्ति, हावा नचलेको बेलाको बत्ती र तलाउको पानी जस्तो स्थिर, जहाँ सृष्टि सकिन्छ, सर्जक हराउँछ । ब्रह्माण्ड खुम्चेर विन्दुमा अटाउँछ । न रूप, न रङ, न गुण, न जात, न भात, न जाति, न वर्ण, न धर्म न सम्प्रदाय । न भोक, न शोक, न वर्षा न बादल, ‘अप्प दीपो भव’ सर्वत्र सून्य, सून्य, शून्य महाशून्य, शान्ति नै शान्ति, महाशान्ति ।  

पहिले आफूलाई चिन्नुपर्छ अनि अरूलाई चिनाउनुपर्छ । त्यस्तै गरेका थिए बुद्धले । आफैलाई नचिनेकाले न अरूलाई चिनाउन सक्छ न बुझाउन, जस्तो अहिलेका धर्मगुरुहरूले गरिरहेका छन्, धार्मिक सङ्गठनहरूले गरिरहेका छन् । सिद्धिपछि प्रसिद्धि, प्रसिद्धिपछि नमस्कार, नमस्कारपछि चमत्कार, त्यसपछि सुरु हुन्छ महाविनाशका शृङ्खला, जुन अहिले भइरहेको छ । ज्ञानीदेखि ध्यानीसम्म, नेतादेखि अभिनेतासम्म सबै सिद्धिका भोका, प्रसिद्धिका भोका, नमस्कारका भोका, चमत्कारका भोका । न उनीहरूले अरूलाई चिनाउन सकेका छन्, न बुझाउन । उनीहरू आफैलाई चिन्न नसकेर हराइरहेका छन् । आफू पनि हराएका छन् । अरूलाई पनि हराएका छन् । चाहने पनि हराएका छन् नचाहने पनि हराएका छन् ।  

सिद्धि प्राप्त गर्न खोज्नु नराम्रो होइन तर सिद्धि पाएपछि मार्न पनि सक्नुपर्छ तर यो काम त्यति सजिलो छैन । सिद्धि प्राप्त गर्न जति कठिन हुन्छ मार्न महाकठिन । यसका लागि त्याग चाहिन्छ, समर्पण चाहिन्छ, सबैभन्दा बढी दृढ विश्वास चाहिन्छ । बुद्धले त्यस्तै गरेका छन्, सिद्धि पाएका पनि छन्, मारेका पनि छन् । तब न बुद्ध बने, एसियाका तारा, सभ्यताका प्यारा, केके बने केके । 

तथापि रूपमा बुद्ध व्यक्ति हुन्, अहिंसाका पुजारी हुन्, मानवधर्म र मानवतावादका पक्षपाति । उनको मत यसैबाट आप्लावित छ । उनीपूर्व आसुरी, कपिल, पञ्चशिख, पतञ्जलि आदिले पनि अहिंसाको कुरा गरेका छन् तर विस्तृत र व्यवस्थित गर्ने काम उनैले गरेका हुन्, उनैबाट भएको हो । कतिपय पौराणिक ग्रन्थहरूमा देवताहरूको आग्रहमा भगवान्ले बुद्धावतार लिएर लोकलाई दुःख दिँदै हिँड्ने दैत्यहरूको नाश गरे भन्ने उल्लेख छ तर यो पनि रूपको मात्र कुरा हो, सारमा होइन ।

सारमा दैत्यहरू आफ्नै कामले तमाम भएका हुन् । बुद्धले धर्मको कुरा पनि गरेका छन् र सङ्घको कुरा पनि गरेका छन् । भिक्षुसङ्घको स्थापनै भएका छन् तर यसको अर्थ यो होइन कि उनले कुनै सम्प्रदाय विशेषको कुरा गरेका हुन् । आजको जस्तो राजनीतिक सङ्घ–सङ्ठनको कुरा गरेका पनि होइनन् । उनले भनेका धर्म सम्प्रदाय निरपेक्ष विशुद्ध मानवहितकारी काम हो । सङ्घ भनेको पनि त्यस्तै, सबै किसिमका राजनीतिक वाद र वादीबाट माथि उठेको विश्व–मानवतावादी सङ्घ । उनले सबै अतिवादलाई निषेध गरेका छन् । भोगविलासको विरुद्ध उभिएका छन् धर्मको नाममा हुने आडम्बरका विरुद्ध खनिएका छन् । तमाम अतिवादलाई छलेर सर्वहितवादको पक्षमा उभिकएका छन् ।

आज हत्या, हिंसा, आतङ्क, अन्याय, अत्याचार र अशान्तिले ग्रस्थ छ समाज । मानिसमाथि अत्याचार छ । पशुपक्षीमाथि अत्याचार छ । प्रकृतिमाथि अत्याचार छ । मानवसभ्यताले दुई पटकसम्म विश्वयुद्ध भोगिसकेको छ । अहिले पनि धर्मको नाममा पशुहत्या भइरहेका छन् ।  यदाकदा मानव हत्याकै कुरो पनि सुनिने गर्छ । त्यसैले उनको सन्देशको महत्त्व हिजो जति थियो आज झनै बढी हुन पुगेको छ । यसैको अभ्यास हो बुद्ध जयन्ती मनाउने परम्परा तर वर्षको एक दिन बुद्ध जयन्ती मनाएर मात्र पुग्दैन । सधैँभरि उनको सन्देशको चिन्तन हुनुपर्छ, मनन हुनुपर्छ, बहस हुनुपर्छ । बुद्ध जयन्ती पर्वले यही सन्देश दिएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...