शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफूलाई समलिङ्गी बताएपछि भारतीय धावक चन्दलाई परिवारले गर्‍यो बहिष्कार

मङ्गलबार, ०७ जेठ २०७६, १३ : १८
मङ्गलबार, ०७ जेठ २०७६

सय मिटरको दौडमा राष्ट्रिय रेकर्ड बनाउने दुती चन्दले जीवनसाथी भेटिएको जानकारी दिएकी छिन् । एशियाली खेलकी रजत पदक विजेताले उनी ओडिशामा आफ्नो गृहनगरकी एक महिलासँग समलिङ्गी सम्बन्धमा भएको खुलासा गरेकी छिन् ।

यद्यपी, चन्दको परिवारले उनको यो सम्बन्धलाई स्विकार गरेका छैनन् । उनलाई परिवारले बहिष्कार नै गरेको छ ।

चन्दले सन् २०१८ को एशियन गेम्समा दुई सिल्भर मेडल जितेकी थिइन् । दुती चन्द यस्तो पहिलो भारतीय खेलाडी हुन् जसले आफू समलिङ्गी भएको स्विकार गरेकी छिन् ।

यद्यपी, २३ वर्षे चन्दले आफ्नो पार्टनरबारे कुनै जानकारी दिइनन् । आफ्नो पार्टनर आकर्षणको केन्द्र बन्न नचाहने भएकाले आफूले उनीबारे केही नभनेको बताइन् ।

उनले इन्डियन एक्सप्रेससँग भनिन्, ‘मैले आफ्नो जीवनसाथी पाइसकेकी छु । मेरो मान्यता यो छ कि आफू कोसँग बस्ने भन्ने स्वतन्त्रता सबैलाई हुनुपर्छ । मैले सधैं ती व्यक्तिको अधिकारको समर्थन गरेको छु जो समलिङ्गी सम्बन्धमा बस्न चाहन्छन् । यो हरेक व्यक्तिको इच्छामा निर्भर हुन्छ ।’

उनले थपिन्, ‘अहिलेका लागि मेरो ध्यान विश्व च्याम्पियन र ओलम्पिक खेलमा छ तर भविष्यमा म उनीसँग घर बसाउन चाहन्छु ।’

उनले भनिन्, ‘हरेक व्यक्ति प्रेम गर्न स्वतन्त्र हुनुपर्ने मेरो मान्यता छ । प्रेमभन्दा ठूलो अरु कुनै भावना नै हुँदैन र यसलाई नकार्न सकिँदैन । भारतको सर्वोच्च न्यायालयले पनि पुराने कानुन खारेज गरेको छ ।’

चन्दले थपिन्, ‘कसैले मेरो यो निर्णयको आधारमा एक एथलिटको रुपमा मलाई ‘जज’ गर्ने अधिकार छैन । यो मेरो व्यक्तिगत निर्णय हो जसको सम्मान गर्नुपर्छ । म अन्तरराष्ट्रिय स्तरमा भारतका लागि पदक जित्ने प्रयास जारी राख्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप