शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि कम्पनी र बायर इण्डियाबीच सम्झौतापत्रमा हस्ताक्षर, किसानलाई सित्तैमा धानको बीउ

मङ्गलबार, ०७ जेठ २०७६, ११ : ४८
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं – नेपाल कृषि कम्पनी(एनकेसी) र बायर बायोसाइन्स प्रा.लि इण्डियाबीच सम्झौता भएको छ । नेपाली कृषि क्षेत्रमा काम गर्दै आएको कृषि कम्पनी र अन्तराष्ट्रिय बजारमा कृषि बीउ विजनका साथै प्राविधिक सेवा उपलब्ध गराउँदै आएको बायरबीच सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कृषि क्षेत्रमा एकले अर्कोलाई सहयोग गर्ने प्रतिवद्धतासहित सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

नेपाल कृषि कम्पनीका तर्फबाट कम्पनीका संस्थापक तथा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत र बायर बायोसाइन्सको तर्फबाट कम्पनीका कन्ट्रीहेड राजिव शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
नेपाली कृषि क्षेत्रमा काम गर्दै आएको कृषि कम्पनीले बायर बायोसाइन्ससँग उन्नत जातको धानको बीउ किन्ने र बायर इण्डियाले नेपालको कृषि सुधारका लागि आधुनिक टेक्नोलोजीसहितको प्रविधि प्रदान गर्ने सम्झौतापत्रमा भनिएको छ । 

बायर बायोसाइन्स मार्फत कम्पनीले उन्नत जातको जिरागोल्ड धानको बीउ किन्ने भएको छ । ६४÷४४ गोल्ड, तेजगोल्ड र आईडिया जातका जिरा मसिनो धानको बीउ किन्ने र सुनसरी र मोरङ्गका करिब ७५ विगा जग्गामा परीक्षण खेती गर्ने कम्पनीले जनाएको छ । बायरसँग धानको बीउ महंगोमा किनेर ल्याइए पनि परीक्षणका लागि किसानलाई भने निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

उत्पादन र उपभोगका हिसाबले अत्यन्त राम्रो जातको धान भएपनि महंगोका कारण किसानहरुले लगाउन नसक्ने हुँदा कम्पनीले आफ्नै जमानतमा बीउ उपलब्ध गराउन लागेको कम्पनीका कार्यक्रम निर्देशक विवेकानन्द झाले बताए । पहिलो चरणमा किसानलाई निःशुल्क बीउ उपलब्ध गराउने र पछि सफल भएपछि न्यून मूल्यमा किसानलाई उपलब्ध गराउने झाले बताए । 

‘उन्नत जातका तेजगोल्ड धानको बीउ महंगो र निकै उत्कृष्ट मानिन्छ । यसको उत्पादन अन्य जातका धानहरुको भन्दा अधिक छ । हाईब्रिट जातको यो धानको माग बजारमा उच्च छ । त्यसैले व्यवसायीक खेतिका लागि यो धान अतिनै उपयुक्त छ’, उनले भने, ‘परम्परागत खेती प्रणालीको अन्त्य गर्नकै लागि हामीले बायर बायोसाइन्ससँग सम्झौता गरेका हौं । बायरसँग हामीले हाइब्रिट जातको धानको बीउ किन्छौ र किसानलाई उपलब्ध गराउछौं । र उनीहरुले हामीलाई आधुनिक कृषि प्रणाली र आधुनिक बैज्ञानिक कृषि प्रणालीको प्राविधिक सहयोग उपलब्ध गराउने छन् ।’

बायर बायोसाइन्स प्रा.लिले पनि नेपाल र भारत पेसागत हिसाबले मात्र नभएर प्राकृतिक भूबनोट र वातावरण पनि उस्तैउस्तै भएकाले यी दुई देशको कृषि प्रणाली समेत मिल्दोजुल्दो भएको बताएको छ । सोही हिसाबमा तेजगोल्ड जात नेपाली भूमिमा उपयोगी हुने र उत्पादकत्व समेत वृद्धि हुने बायरले जनाएको छ । 

हाल बायरका १२० राष्ट्रहरुमा कृषि सेवा विस्तार छन् भने १५० स्थानहरुमा कम्पनीको संगठन विस्तार भएका छन् । 

यता नेपाल कृषि कम्पनीले सन् २०१२ देखि आधुनिक प्रणालीको अबलम्वन गर्दै कृषिमा मेसिनेरी औजारको प्रयोग गर्दै आएको छ । बुद्ध एयरको सहकार्यमा यो कम्पनीले सामाजिक सेवा भावमा एनजीओको रुपमा काम गर्दै आइरहेको छ । 

हाल कम्पनीले प्रदेश १ को मोरङ्ग र सुनसरीका कृषकहरु माझ कृषिमा प्रयोग हुने आधुनिक ट्याक्टर, कल्टिभेर, रोटाभेटर, हारवेष्टर तथा ट्रान्स प्लान्टर जस्ता आधुनिक मेसिनहरु उपलब्ध गराइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप