शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिशूली थ्री ‘ए’बाट राष्ट्रिय प्रशारण लाइनमा ३० मेगावाट विद्युत् थपियो

सोमबार, ०६ जेठ २०७६, २२ : ४६
सोमबार, ०६ जेठ २०७६

रसुवा- रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । 

गत शुक्रबार साँझ ५ बजेदेखि शुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीन दिन (७२ घण्टा) सञ्चालनको अवधिमा शतप्रतिशत हुन आउने प्रतिघण्टा ३० मेगावाट विद्युत्को उत्पादन सफल रुपमा गरिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिए ।

विद्युत् थ्री ‘ए’ आयोजनामार्फत नै निर्माण गरिएको त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल सर्किट’ प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थ सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आपूर्तिको माग बढिरहेको अहिलेको सुख्खायाममा थप भएको उक्त विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएसँगै विद्युत् अभावमा महत्वपूर्ण राहत महशुस भएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए । 

उनको अनुसार आयोजनाको एक युनिटको परीक्षण सफल भएसँगै आज साँझदेखि कम्तिमा आठ दिनको लागि पहिलो युनिटलाई पुनःपरीक्षणको लागि बन्द गरिएको छ । 

पहिलो चरणमा प्रथम युनिटबाट ३० मेगावाट विद्युत् उत्पादनको परीक्षणमा सफलता हासिल गरेको आयोजनाले आगामी असार दोस्रो सातासम्म दोस्रो युनिटबाट थप ३० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यको साथ अन्तिम चरणमा पुगेको निर्माण कार्यलाई थप तीव्र बनाएको छ । 

यस आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा एक्जिम बैंक र चीनले आर्थिक व्यवस्थापन गरेको छ । आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप