बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले सुनौलो अवसर गुमाएको आरोप

सोमबार, ०६ जेठ २०७६, २१ : ४३
सोमबार, ०६ जेठ २०७६

काठमाडौं- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले सुनौलो अवसर गुमाएको बताएका छन् । कैलालीको टीकापुरमा आज काङ्ग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान सरकारसँग प्रशस्त अवसर भए पनि समय खेर फालिरहेको आरोप लगाए । 

उनले भने, “यस्तो शान्त र दुई तिहाइको अवसर इतिहासमा पाइँदैन ।” उनले दुई तिहाइको सरकारले जनताको काम गर्नुपर्ने भए पनि काम गर्न नसकेको बताए । “शक्ति पृथकीकरणको सिद्धान्त विपरीत चल्नु हुँदैन”, नेता पौडेलले भने, “संवैधानिक निकायलाई मनपरी ढङ्गबाट प्रयोग गर्न थालिएको छ ।” उनले नागरिकको चाहनाअनुसार काम गर्न सरकारलाई सुझाव दिए। 

काङ्ग्रेस केन्द्रीय सदस्य कमला पन्तले संविधानले दिएको अधिकार प्रयोग गर्न महिला जागरुक हुनुपर्ने बताए । “जिन्दगी भर जेल बस्न तयार छु भन्ने नेताहरुले यतिखेर नेतृत्वको सामुन्ने मुख खोल्न सकेको देखिँदैन”, उनले भने, “सबैलाई एउटै डालामा हालेर तुलना गर्नु हुँदैन ।” उनले पार्टीमा मूल्याङ्कनको परिपाटी मर्दै जाँदा सक्षम नेतृत्व अघि बढ्न नसकेको दाबी गरे ।

काङ्ग्रेस क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री सञ्जय गौतम, सांसद रामबहादुर विष्ट, कैलालीका जिल्लाका पार्टी सभापति नरनारायण शाह, सांसद तेजुलाल चौधरी, पूर्वमन्त्री रामजनम चौधरी, प्रदेशसभा सदस्य डा रणबहादुर रावल, पूर्वमन्त्री जनकराज चौधरीलगायतले आ–आफ्नो धारणा राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप