शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अझैं टुंगिएन नेकपा एकता, तीन जिल्लामा विवाद

सोमबार, ०६ जेठ २०७६, १२ : ४९
सोमबार, ०६ जेठ २०७६

काठमाडौ– एकता प्रक्रिया अन्तर्गत नेकपाले जिल्ला कमिटीहरुलाई पूर्णता दिने क्रमलाई अन्तिम चरणमा पुर्‍याएको छ । 

केन्द्रले प्रदेश र जिल्ला इन्चार्ज तोकेसँगै जिल्ला कमिटीलाई पूर्णता दिएर सपथ लिने क्रम जारी रहेको सम्बन्धित प्रदेश इन्चार्जहरुले बताएका छन् । 

नेकपाका अधिकांश जिल्ला तहमा एकता भैसकेको र केही जिल्लामा मात्रै बाँकी रहेको नेकपा केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

यसअघिको सहमति अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच ५५ र ४५ का आधारमा जिल्ला कमिटीलाई पूर्णता दिने काम भइरहेको छ । 

यसै क्रममा तीन नम्बर प्रदेशका जिल्लाहरुमा एकता प्रक्रिया टुङ्ग्याउन आइतबार बसेको प्रदेश कमिटिको बैठकमा १० वटा जिल्लाको मात्रै एकता घोषणा गरिएको छ । 

ललितपुर, काभ्रे र चितवन जिल्लाको एकता घोषणा गर्न नसकिएको नेकपा प्रदेश नम्बर ३ की प्रमुख अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । 

उनले चितवन र ललितपुरमा तत्कालीन माओवादी केन्द्र र काभ्रेमा तत्कालीन एमालेका तर्फबाट गृहकार्य हुन नसक्दा तीन जिल्लाको एकता घोषणा हुन नसकेको बताइन् ।

 शाक्यले यस्तो दावी गरेपनि काभ्रेमा जिल्लामा तत्तकालीन एमालेका तर्फबाट ७८ जना हनुपर्नेमा १५ जना सदस्य खाली रहेको छ । जसमा ती १५ जना कुन पक्षका सदस्य राख्ने भन्नेमा विवाद रहेको छ । जिल्ला कमिटि अध्यक्ष टोपबहादुर वाइवाले पेश गरेका नाममा केही सदस्यले आपत्ति जनाएपछि एकता घोषणा हुन नसकेको हो । जसमा केन्द्रीय सदस्य समेत रहेको सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले समेत वाइवाले पेश गरेका नाममा असहमति जनाएका थिए । 

एकताका क्रममा काभ्रे,ललितपुर काभ्रे र चितवनमा सामान्य समस्या आएको नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए । 

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नम्बर प्रदेश कमिटीको बैठकमा तीन जिल्लामा पुराना जिल्ला कमिटीमा केही सदस्यहरु खाली रहेकाले ती सदस्यहरु मनोनित गरेर मात्रै गर्नुपर्ने आवाज उठेकाले रोकिएको हो ।

‘पछि थप्ने गरी घोषणा गर्ने या थपिसकेर भन्नेमा प्रदेश कमिटीमा छलफल भयो । छलफल हुँदा पहिला जिल्लामा थप्ने अनिमात्रै एकता घोषणा गर्ने सहमति भएको हो’ तामाङले रातोपाटीलाई बताए । 

उनले तीनै जिल्लामा तत्कालै जिल्ला कमिटिका सदस्यहरु नियुक्त गरेर एकता घोषणा गरिने पनि बताए । गत बैशाख ९ गते जिल्ला तहको नेतृत्वमा एकता घोषणा गरेको केन्द्रले एक महिनाभित्र सवै जिल्ला कमिटीहरुलाई एकता गरिसक्न प्रदेश कमिटिलाई निर्देशन दिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप