मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

होटल याक एण्ड यतिबाट समातिएका भारतीयका आफन्तले सुष्मा स्वराजलाई बुझाए पत्र

आइतबार, ०५ जेठ २०७६, ११ : २५
आइतबार, ०५ जेठ २०७६

महानगरीय प्रहरी परिसर काठमाडौँ, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले गत वैशाख २७ गते राति ११ बजे होटल याक एण्ड यतिबाट १२ जना भारतीय नागरिकलाई  पक्राउ गर्यो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार नेपालमा बसेर अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकाहरुको परिवारले भोलि सोमबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट्दैछन् । स्वराजलाई भेट्दै परिवारले उनीहरुलाई छुटाउन सहयोग माग्ने भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । 

उनका अनुसार आफूसहितका पीडितका परिवारले स्वराजलाई इमेलमार्फत पत्र पठाइसकेको छ । 

‘हामीले पूर्ण विवरणसहित इमेल लेखेर सुष्मा स्वराजलाई पठाएका छौँ । हामीले हाम्रो मान्छे फिर्ता ल्याउन विदेश मन्त्रालयको सहयोगको आशा गरेका छौँ,’ पक्राउ परेका अभियुक्त गजेन्द्र सिंहका भाइ देवेन्द्रले हिन्दुस्तान टाइम्सलाई बताए ।

उनीहरुका परिवारले नयाँ दिल्लीस्थित विदेश मामिला मन्त्रालयका अधिकारीहरुलाई उक्त घटनाको बारेमा जानकारी गराएका छन् ।  

‘उनीहरु नेपालमा तीन दिने व्यवसायिक कार्यशालामा सहभागि हुन गएका थिए । तर उनीहरुलाई नेपाली महेन्द्र सिंहले उजुरी दर्ता गराएपछि पक्राउ परेका हुन्,’ देवेन्द्रले बताए ।

देवेन्द्रले नेपाली नागरिकले हालेकोे उजुरीको आधारमा भारतीय नागरिकलाई पक्राउ गर्नु निन्दनीय भएको बताए ।

यता यस विषयमा काठमाडौं प्रहरी प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले उनीहरुलाई छुटाउन आफूलाई कहीँकतैबाट दबाब नआएको बताए । 

उनले भने, ‘उनीहरुका विषयमा विभिन्न क्षेत्रबाट उजुरी आइरहेकाले ठगी र सङ्गठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।’

एसएसपी सुवेदीका अनुसार तीन जनाले महानगरीय प्रहरी परिसरमा रु एक करोड २३ लाख ठगी भएको भन्दै उजुरी दर्ता गराएका छन् । उनले यस्ता अबैध व्यवसायमा नफस्न सर्वसाधारणलाई अपिल समेत गरेका छन् । 

पक्राउ परेकासँग केही ल्यापटप र १७ थान क्यामरा बरामद गरेको छ ।

पक्राउ पर्नेहरु
पक्राउ परेका १२ जनानै भारतको उत्तर प्रदेशका हुन् । पक्राउ पर्नेहरुमा भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद  घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्याय छन् । 

यस्तै भारत उत्तर प्रदेश घर भएका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरात घर भएका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश घर भएका वर्ष ३८ को सुनिल उपाध्याय, उत्तरप्रदेश घर भएका वर्ष ३२ को काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्ली घर भएका वर्ष ४३ को रसिद नसिम पक्राउ परेका हुन् । 

रसिद याक एण्ड यतीमा नबसी दैनिक भण्डै रु दुई लाख तिरेर हायत रिजेन्सी होटलमा कोठा लिएर बसेको समेत प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप