शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले समृद्धिको जग बसायो : उपप्रधानमन्त्री पोखरेल

शनिबार, ०४ जेठ २०७६, १९ : ५०
शनिबार, ०४ जेठ २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिको जग बसाइसकेको बताएका छन् । ओखलढुङ्गाको रुम्जाटारमा नवनिर्मित बौद्ध गुम्बाको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाको सरकार गठनपछिको एक वर्ष सङ्घीयता कार्यान्वयन र आवश्यक कानून निर्माण गरेर जग बसाउने काम गरेको बताए । 

‘सरकारले अहिलेसम्ममा समृद्धिको जग बसाउने काम गरेको छ । अब समृद्धिको महल बनाउन सरकारको ध्यान केन्द्रित हुनेछ’, उनले भने, ‘हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा जनतालाई ढाँट्न लगाएको होइन, जनतालाई सुखी र देशलाई धनी बनाउने अभियानमा जुट्न र सबै नेपालीलाई सम्पन्न बनाउन भनिएको हो ।’

मन्त्री पोखरेलले जनतासँग गरेका वाचा पूरा गर्न सरकार तयार रहेको बताए । निर्वाचनमा गरेका वाचाअनुसार अघि बढ्न र शिर झुकाएर जनतासँग परीक्षा दिन सरकार तयार रहेको उनको भनाइ छ ।
 
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई १ नम्बर बनाउन आफूहरु लागिपरेको बताए । प्रदेशवासी नागरिकलाई घरघरमा सरकारको सेवा महसुस गराउन प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताए । 

केन्द्र प्रदेश र स्थानीय सरकारको साझा लक्ष्य समृद्ध नेपालको रहेकाले यस अभियानमा जुट्न मुख्यमन्त्री राईले सबैलाई आग्रह गरे ।
 
कार्यक्रमलाई सङ्घीय सांसद यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ लगायतले सम्बोधन गरेका थिए । प्रदेश नं १ कै नमूनाका रुपमा निर्माण गरिएको रुम्जाटार गुम्बाको आज भव्य समारोहकाबीच उद्घाटन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप