मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ ३ गते प्रदेश नम्बर ५ हेडलाइन: कहाँ के-के भयो ?

शुक्रबार, ०३ जेठ २०७६, १९ : १५
शुक्रबार, ०३ जेठ २०७६

सहकारीलाई व्यापारीकण नगरौंः मुख्यमन्त्री पोख्रेल

बुटवल– पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सहकारीहरुको काम स्थानीय आर्थिक स्थिति न्युन भएका व्याक्तिहरुको जीवनस्तर माथि उठाउनुपर्ने भएको भन्दै यसलाई व्यापारीकरण नगर्नको लागि आग्रह गरेका छन् । मुख्यमन्त्री पोखरेलले बचत तथा ऋणको नाममा सहकारीहरुले मिनि बैंक जस्तै चर्को ब्याज अशुल्ने, व्यापारीकरण गर्ने कार्यमा लागेको भन्दै उक्त कार्य तत्काल रोक्नुपर्ने बताए   ।


दिगो विकास लक्ष्यका लागि सहकारी भन्ने मूल नाराका साथ बुटवलमा भएको  समृद्ध प्रदेश निर्माणका लागि व्यवसायिक गोष्ठीको बुटवलमा आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सिमान्तकृत समुदायको जीवन स्तर माथि उठाउनेतर्फ सहकारीहरु केन्द्रीत हुनुपर्ने बताए ।

सहकारीहरुलाई स्थानीय तहसँग जोडेर विकास गर्नुको विकल्प नभएको मुख्यमन्त्री पोखरेलको भनाई रहेको थियो । कृषिलाई आधुनिकीकरण गर्नको  लागि सहकारीहरुको मुख्य भूमिका रहेको भन्दै तर यसमा सोचेजस्तो गरी विकास नभएको बताएका थिए । कार्यक्रममा केन्द्रीय सहकारी महासंघका अध्यक्ष तथा नेपाल सरकारका  पूर्वमन्त्री केशव बडालले सहकारीहरुले नेपालमा गरेको कार्य उत्कृष्ट रहेको बताए ।

उनले सबैको साथ र सहयोग प्राप्त भएमा अझै धेरै कार्य गर्न सक्ने धारणा राखे । ५ नम्बर  प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले  प्रदेश सरकारले केही नमुना कार्यको सुरुवात गरेको बताइन् ।

कार्यक्रममा सहकारी विज्ञ डा.खगराज शर्मा, राष्ट्रिय सहकारी  संघका अध्यक्ष केशव बडाल, नेपाल सरकार सहकारी तथा गरिबी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश ५ का विभिन्न जिल्लाबाट सहकारीकर्मीहरु, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो

२५६३ औं बुद्ध जयन्तीको भव्य तयारी, राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

बुटवल– २५६३ औं बुद्ध जयन्ती शनिबार बुद्धधर्मप्रति आस्था राख्नेहरुले विभिन्न ठाउँमा कार्यक्रम गरी मनाउँदै छन् । शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम हुँदैछ ।   लुम्बिनी भ्रमण बर्ष उद्घाटन कार्यक्रमका लागि बिशेष तयारी  पुरा गरिएको लूम्बिनी विकास कोषका नि.सदस्य सचिव सरोज भट्टराई बताए । त्यसअवसरमा आजदेखि लुम्बिनीमा विशेष कार्यक्रमहरु शुरु गरिएको छ

सरसफाई रंगरोगन लगायतका कार्यहरु सम्पन्न भइसकेका छन् । मायादेवी मन्दिरमा आजदेखि ३ दिनसम्म विशेष पुजा गरिँदै छ । त्यस्तै लुम्बिनीस्थित विभिन्न बिहारहरुमा पनि बौद्ध भजन तथा प्रवचन सुरु भएका छन् ।

के–के छन् कार्यक्रम ?

बुद्धजयन्तीका अवसरमा हुने भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी शनिबार बिहान लुम्बिनी आउने छिन् भने प्रधानमन्त्री ओली लुम्बिनी आइसकेका छन् ।  प्रधानमन्त्री आज साँझ लुम्बिनीमै फर्केर दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

बुद्धजयन्ती र लुम्बिनी भ्रमण वर्ष उद्घाटनको अघिल्लो दिन आज लुम्बिनीमा सुजाता खीर उत्सव शुरु भएको छ । आज ९ बजेदेखि ११ बजेसम्म लुम्बिनीमा रहेका दुई सय बढी भिक्षु–भिक्षुणी र अन्य आगन्तुकलाई ‘सुजाता खीर’ खुवाइएको छ । बुद्ध जयन्तीको अवसर पारेर प्रदेश सरकारले  लुम्बिनीमा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा फहराइरहेको छ भने शनिबार लुम्बिनीमा प्रधानमन्त्री ओलीले फलफुलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

जेठ ५ गते मायादेवी प्रसुति उत्सव मनाउने कार्यक्रम छ । यसका लागि देवदह र रामग्रामबाट दुईवटा टोली लुम्बिनी आउनेछ । त्यसपछि लुम्बिनीबाट संयुक्त टोली बनेर मायादेवीको भेषमा एक महिलाले शिशु बुद्धको प्रतिक लिएर सयौंको संख्यामा बाजागाजा र झाँकीसहित कपिलवस्तुतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

तिलौराकोटबाट राजा शुद्धोधनको भेषमा सजिएका एक पुरुषसहित एउटा टोली सुत्केरीलाई उपहार लिएर आउने छ । दुबै टोलीको भेट कोठी नदीमा हुने छ । त्यहाँबाट संयुक्त टोली हर्ष बढाई गर्दै तिलौराकोट दरबार पुग्नेछ ।

साँझ दरबारमा मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा नाचगानसहित साँस्कृतिक कार्यक्रम गरी प्रसुति उत्सव समापन गर्नेे कार्यक्रम रहेको छ । प्रसुति उत्सवका लागि १५ लाख रुपैयाँ छुट्टयाइएको छ । लुम्बिनी भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई अर्को वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।

नेपाल–भारत सीमा नाका दुई दिन बन्द हुने

बुटवल– भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि दुई दिनसम्म भारतसँग जोडिएका नवलपरासीको सिमा नाका बन्द हुने भएको छ । नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुनेछ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका अनुसार एम्बुलेन्स सेवा र दमकल भने रोकिने छैन । ‘एक महिनाअघि नवलपरासीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो । नवलपरासीको महेशपुर नाका भारतसँग जोडिएको छ ।

नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ । भारतको लोकसभा निर्वाचनलाई लिएर बेला–बेला नाका बन्द हुने गरेका छन् ।

दुई महिनाकी छोरी हत्या गरेको आरोपमा आमा पक्राउ

गुल्मी– गुल्मीको विरवास बाख्रेगाउँकी एक महिलाले आफ्नी दुई महिनाकी छोरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गुल्मीदरवार गाउँपालिका–४ साविक विरवास गाविसको बाख्रेकी ३५ वर्षीया जमुना विक छोरी हत्या गरेको मैखिक जाहेरीका आधारमा पक्राउ परेकी हुन् ।

उनलाई मौखिक उजुरीकाका आधारमा गत राती नै पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी मिनबहादु घलेले जानकारी दिए ।  ‘लिखित जाहेरी परिसकेको छै्रन,’ डिएसपी  घलेले भने, ‘उनले छोरी हत्या गरे, नगरेको अनुसन्धान गर्न बाँकी छ, उनी हाम्रो नियन्त्रणमा छन् ।’

वडा नम्वर ४ बीरवासका वडाअध्यक्ष खुमबहादुर पल्लीका अनुसार ती महिलाले हिजो दिउँसोदेखि  छोरी मार्ने प्रयास गर्दै गरेको स्थानीयले देखेका थिए । बिहीबार साँझ महिलाका श्रीमान् खुमबहादुर विक छोरीलाई पिलाउने दुध लिन छिमेकमा गएको बेला छोरीको हत्या भएको उनको भनाई छ ।

खुमबहादुर घर फर्कदा छोरीलाई अचेत अवस्थामा भेटेका थिए । लगत्तै शिशुलाई स्थानीय एक क्लिनिकमा लगेर परीक्षण गर्दा मृत्त घोषणा गरिएको थियो । मृतक शिशुको कञ्चटमा निला डामहरु छन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको छ ।

विक दम्पत्तिको विवाह  १५ वर्ष अघि भएको थियो । उनीहरुका ११ वर्षीय छोरा पनि रहेका छन् । ती छोरालाई पनि आमाले पटक–पटक आक्रमण गरिरहेकोले उनलाई बाबुले मावली घर राखेर पढाउँदै आइरहेको वडाअध्यक्ष पल्लीको भनाई छ । घटनाका सम्बन्धमा अनुसन्धान सकेपछि मात्र हत्या भए नभएको पुष्टि हुने डिएसपी घलेले जानकारी दिए  ।

लागुऔषधसहित तीन पक्राउ

नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको   छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान, वर्ष १९ का कुर्सेद मियाँ र वर्ष ३१ का तेजबहादुर कुर्मी रहेका छन् ।

उनीहरुको साथबाट एक ग्राम खैरो ब्राउनसुगर र नौ ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । 

पाल्पाका आगलागी पीडितलाई प्रदेशसभा सांसद रानाको सहयोग

बेझाड– आगलागीपीडित पाल्पा बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका विष्णुबहादुर दिशाको परिवारलाई प्रदेश नं ५ का प्रदेशसभा सदस्य सांसद वीरबहादुर रानाले सहयोग गरेका छन् । रानाले पीडितकै घरमा पुगेर पीडित परिवारलाई खाद्यान्न सामग्री, लत्ताकपडा, नगद सहयोग गरेका हुन् । सो सामग्री लिएर पीडितको घरपुगेका सदस्य रानाले विपत् कतिबेला आइलाग्छ भन्ने कुरा यकिन नहुने हुँदा विपत् आइप‍र्यो भनेर नआत्तिन आग्रह गरे । ‘एक परिवारमा पुगेको क्षतिले गाउँ, समाज र सबैमा पीडा दिएको छ, पीडित परिवारका लागि सदैव सहयोगमा तत्पर रहनेछु’, उनले भने ।

गत वैशाख १८ गते साँझ करिब ७ बजे पीडित विष्णुबहादुर दिशाको घरमा आगलागी हुँदा घरमा रहेका सबै सामान जलेर नष्ट भएको थियो । घरमा कोही पनि नभएको समयमा एक्कासि आगलागी भएको पीडित परिवारले जनाएको छ । तीनतले जस्ताको छानो भएको घरमा रहेका अनाज, लत्ताकपडा लगायत करिब रु ६ लाख बराबरको क्षति भएको छ ।

घरमा राखिएको रु दुई लाख ३५ हजार रकम पनि जलेर नष्ट भएको थियो । सांसद रानासहित नेपाल राष्ट्रिय मगर सङ्घ जिल्ला सभापति झमनराज मगर, नेपाल तरुण दल पाल्पाका सभापति मेजरसिहं केसी, नेपाल महिला सङ्घ प्रदेश सदस्य मीना पन्थी, वडा नं १ का सभापति शेरबहादुर चिदीसहितको टोली पीडितको घरमै पुगेर राहत प्रदान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप