बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सीमादेखि जेनीसम्म : ‘पागल’ प्रेमीको निशानामा युवती

बढ्दो एसिड आक्रमण : फितलो सजायको प्रतिफल ?
शुक्रबार, ०३ जेठ २०७६, १४ : ३३
शुक्रबार, ०३ जेठ २०७६

पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा एसिड आक्रमणका घटना बृद्धि हुँदै गएको छ । २०७१ फागुन १० गतेपछि बितेको ५ वर्षमा मात्र १५ वटा एसिड आक्रमणको घटना भएका छन् ।

२०७१ फागुन १० गते काठमाडौँको बसन्तपुरमा एसएलसी परीक्षाको तयारीको सिलसिलामा ट्युशन पढ्न गएको समयमा संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार भएको थियो । राजधानीको मुटुमा भएको उक्त घटनाको महिनौँसम्म मिडियामा चर्चा हुँदा पनि प्रहरीले अपराधी भने पत्ता लगाउन सकेको थिएन ।

एक महिनापछि मात्र प्रहरीले अपराधी जीवन विकलाई पक्रन सफल भयो । विकलाई चैत ६ गते काठमाडौँमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाको एक वर्षपछि २०७२ माघ २४ गते रुपन्देहीको बुटवलमा भएको एसिड आक्रमणमा एकजना महिलाको ज्यान नै गयो ।

धादिङ नौबिसे–१ बस्ने २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट–५ की २७ वर्षीया तुलसा सापकोटालाई एसिड प्रहार गरेका थिए । घटनामा गम्भीर घाइते भएकी तुलसालाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

एसिड हानेका सुनीललाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो । तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले एसिड हानेको प्रहरीसमक्ष बयान दिएका थिए ।

पाँच वर्ष १५ एसिड आक्रमण

पछिल्लो ५ वर्षमा १५ वटा एसिड आक्रमणका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जसबाट १२ महिला तथा ३ पुरुष पीडित रहेका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७१\०७२ मा ४ वटा एसिड आक्रमणका घटना भए । जसमध्ये ३ जना महिला तथा १ जना पुरुषमाथि एसिड आक्रमण भयो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जना पुरुषलाई पक्राउ गरेको छ । चारै जनालाई ज्यान मार्ने उद्योगसम्बन्धी प्रहरीले मुद्दा चलाएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, आर्थिक वर्ष २०७२\०७३ मा २ जना महिलामाथि एसिड आक्रमण भएको छ । यो घटनामा ३ जना पुरुष र एक जना महिलाको संलग्नता रहेको पाइएको छ ।

प्रहरीले चारै जनालाई पक्राउ गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उनीहरुलाई पनि ज्यान मार्ने उद्योगसम्बन्धी प्रहरीले मुद्दा चलाएको छ ।

यता आर्थिक वर्ष २०७३\०७४ मा १ महिलामाथि एसिड प्रहार भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । पक्राउ परेका व्यक्तिलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

त्यस्तै, २०७४\०७५ मा पनि ४ वटा एसिड आक्रमणका घटना भएको छ । जसमध्ये २ जना पुरुष तथा २ जना महिला पीडित भएको देखिन्छ । उक्त घटनामा ६ जना पीडक रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जसमध्ये ५ जना पक्राउ परेका छन् । पक्राउ परेका ३ जनालाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा चलेको छ भने २ जनामाथि के.सा.अ. अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७५\०७६ मा ४ जना महिलामाथि एसिड प्रहार भएको देखिन्छ । सो घटनामा ३ जना पक्राउ परेका छन् । पक्राउ परेका १ जनालाई कर्तव्य ज्यान मुद्दा चलाइएको छ भने १ जनालाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।

यता, बुधबार मात्रै राजधानीको कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । जेनीलाई एसिड प्रहार गर्ने आफ्नै २७ वर्षीय श्रीमान विष्णु भुजेल थिए । भुजेललाई प्रहरीले बुधबार साँझ नै प्रहरीले पक्राउ गरिसकेको छ ।

एसिड आक्रमणको तथ्याङ्कलाई हेर्दा पुरुष नै बढी यस्ता घटनामा संलग्न भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । ५ वर्षको अवधिमा एसिड आक्रमणका घटनामा १७ जना पक्राउ परेका छन् । जसमा १५ जना पुरुष र २ जना महिला यस्ता घटनामा संलग्न देखिन्छन् ।

प्रहरीको केन्द्रीय प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले अधिकांश घटनाहरुमा आफूले प्रेम गरेको कसैले अस्वीकार गरेको अवस्थामा बदलाको भावले सुन्दरता बिगार्नका लागि आक्रमण हुने गरेको बताए ।

एसिड आक्रमणको दोषीलाई के कारबाही ?

कसुरको प्रकृति हेरी कानुनी व्यवस्था रहेको पाइएको छ । दफा १९३ को (२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएका ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

(३) उपदफा (२) बमोजिम जरिवाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्तिबापत दिनुपर्ने पनि उल्लेख छ ।

आखिर किन बढ्दैछ त एसिड आक्रमण ?

विश्वराज पोखरेल, डीआईजी

प्रहरीको केन्द्रीय प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले अधिकांश घटनाहरुमा आफूले प्रेम गरेको कसैले अस्वीकार गरेको अवस्थामा बदलाको भावले सुन्दरता बिगार्नका लागि आक्रमण हुने गरेको बताए ।

खासगरी प्रेममा बाँधिएका जोडीहरूका बीचमा एकअर्काबाट बिछोड भएको अवस्थामा एकले अर्काको मुख हेर्न नचाहने कारण यस्तो घटना हुन गरेको उनले बताए ।

‘युवकले युवतीलाई धेरै प्रेम गर्यो तर युवतीले युवकको प्रेम अस्वीकार गर्दै अर्कोसँग सम्बन्ध राखेको अवस्थामा पनि एसिड आक्रमणका घटना हुने देखिन्छ,’ उनले भने ।

मान्छेको सुन्दरता बिगारिदिने, कुरुप बनाइदिने हिसाबले पनि पुरुषले महिलालाई एसिड प्रहार गर्ने गरेको पाइएको डीआईजी पोखरेलले बताए ।

एसिड हानेर गरिने आक्रमण अन्य आक्रमणभन्दा जघन्य हुने र त्यसले दिएको घाउले दीर्घकालसम्म पीडितलाई असर गर्ने डीआईजी पोखरेलको भनाई छ ।

बासु आचार्य, मनोविश्लेषक

मानसिक समस्याको करण यस्ता घटनाहरु बढेको मनोविश्लेषक बासु आचार्यले बताए । उनले भने, ‘आकस्मिक रुपमा यस्ता घटनाहरु हुने होइन । यस्ता घटनाहरु योजनाबद्ध ढंगले नै हुन्छ ।’

उनले यस्तो समस्या रहेको व्यक्तिलाई मनोपीडित भन्ने गरिएको जानकारी दिए । रिस कन्ट्रोल गर्न नसक्ने व्यक्तिले यस्तो घटना योजनाबद्ध रुपमा गराउने गरेको पाइएको आचार्यको दावी छ ।

यस्ता घटना रोक्न जनचेतनाको आवश्यकता रहेको आचार्यले बताए । उनले भने, ‘जनचेतानासँगै विभिन्न कानुनी बाटो छ । विशेषतः कानुनी बाटोभन्दा पनि जनचेतना मुख्य कुरा हो ।’

यता हाल कानुनमा उल्लेख भएको सजाय कम भएर यस्तो घटना बढेको अधिकारकर्मीहरु बताउँछन् ।  आफूले भनेको कुरामा सहमति नजनाएको भन्दै बर्सेनि महिलाहरुमाथि एसिड प्रहारका घटना बाहिर आउने गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप