केन्द्रीय संस्करण
टिप्पणी

प्रधानमन्त्रीमा उग्रअहङ्कार, अधिनायकवादको गन्ध

person explore access_timeजेठ ३, २०७६ chat_bubble_outline2

‘कम्युनिस्ट सरकार आए रुन पनि पाइँदैन’ काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि दिएको अभिव्यक्ति लामो समयसम्म चर्चित रह्यो । कतिले तत्कालीन एमाले र माओवादी गठबन्धनसामु निरिह बन्दै देउवाले टिप्पणी गरेको आरोप पनि लगाए । चुनावबाट कम्युनिट पार्टीले जनताको विश्वासको आधारमा जुन मत ल्याएर आफ्नो सरकार बनायो त्यसयता भए गरेका केही परिदृश्यले कतै केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको त हैन ? भन्नेतर्फ बल पुगेको आशङ्का गर्नेहरुको कमी छैन ।

वैशाख २४ गते सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीको प्रस्तुतिमा अहम्ता झल्किन्थ्यो । उनले सुरुमै विपक्षीलाई कुनै महत्त्व नदिई आफूले ‘कुण्ठा र निम्छरा अभिव्यक्ति वास्ता नगरेर प्रश्नहरूको जवाफ दिने’ बताए । जनताको चाहना, विपक्षीको सुझाव तथा आलोचनालाई सकारात्मक रूपमा ग्रहण गरी सबैलाई मिलाएर उनकै शब्दमा भन्ने हो भने ‘विकास र समृद्धि’तर्फ लम्किनुपर्नेमा उनी विपक्षीको प्रश्नमै समेत चर्किए । यति मात्रै होइन विपक्षीले ओलीको अभिव्यक्तिको थप आलोचना गर्न थालेपछि ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्दै रातोपिरो बन्दा उनमा अहङ्कारी प्रवृत्ति देखिएको भन्दै विभिन्न टीकाटिप्पणी भए । प्रधानमन्त्रीको कुर्सीबाट ओलीले अरूलाई शिष्टताको पाठ सिकाउँदै गर्दा आफ्नै शिष्टता भने भूले अर्थात संसद्मा रहेको दुई तिहाइको दम्भले उनलाई अहङ्कारी बनायो  ।

संसदमा ओलीबाट व्यक्त अभिव्यक्ति गैरसंसदीय रहेको ठहर गर्दै सभामुख कृष्णबहादुर महराले संसदको रेकर्डबाट हटाउन निर्देशन गरिसकेपछि पनि ओलीले गल्ती स्वीकारेनन् । त्यो कुरा कम्बोडिया र भियतनाम भ्रमणबाट फर्किएपछि विमानस्थलमा दिएको अभिव्यक्तिले छनक दिन्छ । ओलीले विमानस्थलमा भने, मैले संसदीय मर्यादाअनुसार नै बोलेको थिएँ, बरु विपक्षीले गैरसंसदीय शब्दहरू प्रयोग गरेकाले त्यो चाहिँ हटाइएको हो । संसद्मा विपक्षीले उत्ताउला, अमर्यादित र असंसदीय शब्द प्रयोग गरेकाले सभामुखले अभिलेखबाट हटाइएको उनको तर्क थियो ।


प्रधानमन्त्री ओली जहाँ पनि प्रतिक्रियामाथि प्रतिक्रियामा सीमित देखिन्छन् । एउटा  शासकमा अहङ्कारी सोच र व्यवहार पक्कै पनि शोभनीय हुँदैन तर केपी ओली सानाभन्दा साना विषयमा पनि प्रतिक्रियात्मक भएको देखिन्छन् ।


 उनले यो पनि भने ‘विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरू  अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो । यो अनाहक र अनुचित ढङ्गले आएको छ ।’

माथि प्रस्तुत गरिएका त पछिल्ला दुई उदाहरण मात्रै हुन् ।

प्रधानमन्त्री ओली जहाँ पनि प्रतिक्रियामाथि प्रतिक्रियामा सीमित देखिन्छन् । एउटा  शासकमा अहङ्कारी सोच र व्यवहार पक्कै पनि शोभनीय हुँदैन तर केपी ओली सानाभन्दा साना विषयमा पनि प्रतिक्रियात्मक भएको देखिन्छन् । खासमा प्रधानमन्त्री ओलीसामु जनताको पक्षमा काम गरेर आफूलाई सफल र एक उदाहरणीय राजनेता बन्ने अवसर छ । तर त्यसविपरीत  उनको अभिव्यक्ति, प्रतिक्रियात्मकता, कार्यशैली जस्ता प्रवित्ति नियाल्दा कुनै कमजोर शासकको गतिविधिको झल्को दिन्छ ।

लोकतन्त्रका लागि १४ वर्षभन्दा बढी जेल खपेका प्रधानमन्त्री ओलीमा सत्तारोहण गरेपछि चाहिँ लोकतान्त्रिक मूल्य मान्यताभन्दा पनि पञ्चायतकालमा पञ्चेहरुले देखाउने जस्तो, शाहीकालका कमल थापाहरुले देखाउने जस्तो व्यवहार देखिन थालेका छन् । ओलीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिमार्फत बाचन गराउँदा ‘मेरो सरकार’ शब्दावलीको प्रयोग गराएर आफूलाई सर्वैसर्वा देखाउन खोजे । उनी हरेक सार्वजनिक कार्यक्रममा आफूलाई हरेक कोणबाट सही देखाउन अनेक तर्कवितर्क गर्छन् र विपक्षीलाई सकेजति खुइल्याउन तल्लीन हुन्छन् । जनताका सामु आफूलाई महान् देखाउन प्रयासरत देखिछन् । ओलीमा आफू सही र अरू गलत भन्ने जुन प्रवृत्ति छ, यो एक अहङ्कार र अधिनायकवादी पथको प्रारम्भविन्दु नै हो । अहङ्कार भनेको आफूलाई सर्वैसर्वा सम्झने क्रिया तथा घमण्ड र मपाइँत्व नै हो, जुन ओलीमा देखिन थालेको छ ।


चाभेजको जस्तो समाजवादको सपना बोकेका ओली झिना मसिना कुरामा अल्झिएर कस्तो समाजवादको यात्रामा अघि बढ्न लागेका हुन् ?


भेनेजुएलाका चर्चित क्रान्तिकारी योद्धा तथा पूर्वराष्ट्रपति स्वर्गीय ह्युगो चाभेज भन्थे, ‘क्रान्तिको गफ हाक्ने तर सिन्को नभाँच्ने भन्दा सङ्घर्ष गर्दागर्दै मर्नु उत्तम हो । मलाई यो कुराले बारम्बार झस्काइरहन्छ ।’ उनको भनाइ र गराइमा समानता थियो अर्थात भेनेजुएलाका राष्ट्रपतिका रूपमा निर्वाचित भएलगत्तै उनले देशमा नयाँ संविधान लागू गरे, जसले सीमान्तकृत वर्गका जनताहरूलाई अधिकार प्रदान गरे । नयाँ संविधान सरकार सञ्चालन प्रक्रियामा पनि बदलाव ल्यायो । उनले आफ्नो कार्यकालमा सहकारी संस्थाहरूको व्यवस्था गरे, भूमिसुधार कार्यक्रम लागू गरे, देशका प्रमुख उद्योगहरूको राष्ट्रियकरण गरे । उनकै नेतृत्वमा भएको क्रान्तिको बलमा भेनेजुयलामा समाजवादी व्यवस्था कायम भयो ।

ओलीको पार्टी नेकपाको घोषणापत्रमा सिद्धान्त माक्र्सवाद लेनिनवाद रहने उल्लेख गरिएको छ ।  त्यस्तै घोषणापत्रमा पार्टीको तत्कालीन कार्यनीति समाजवाद उन्मुख जनताको जनवाद रहने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले पार्टीको अगुवाइमा नेपाल राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानतासहित समाजवादतर्फको यात्रामा रहेको बताउँदै आइएका छन् ।

तर चाभेजको जस्तो समाजवादको सपना बोकेका ओली झिना मसिना कुरामा अल्झिएर कस्तो समाजवादको यात्रामा अघि बढ्न लागेका हुन् ? मिडियामा लगामको प्रयास, सङ्घीयताको मर्मअनुसारको प्रयोगमा कञ्जुस्याइँ गर्दै दुई तिहाइको बलमा एकोहोरो अघि बढ्दा लक्ष्य प्राप्ति होला कि अवस्था थप भयाभह बन्ला ? ओली र उनका सहयोगीहरूले यसबाट आइलाग्न सक्ने परिस्थित पक्कै आँकलन गरेको हुनुपर्छ । जनताले कम्युनिस्ट सरकारबाट अधिनायकवादको छनक होइन, शान्ति, स्थायित्व, लोकतन्त्रको प्रत्याभूति, प्रेस स्वतन्त्रता, सुशासन, विकास र समृद्धिको सपनाका साथ नेकपालाई भोट दिएर सत्तामा विराजमान गराएका हुन् । यसमा हेक्का हुनुपर्छ ।  

कमेन्ट

  1. May 19, 2019, 8:35 a.m. amrit
    हामि जस्ता मुर्ख जनता सन्सार मा कोइ छैन ,भत्ता को उखान को पछि लागेर ,१बोतल रक्सि १पिलेत चाउमिन को भर मा इमान बेछौ अनि अहिले को सर्कार जस्तो निरिह सर्कार त सायेद सन्सार मै छैन होला ,गुन्दागिरि को सर्कार्सर्कार्,अरु कुरा छोदौ यो सर्कार ले सभै भन्दा बधि पुलिस लाइ गुन्दा गिरि गर्ने छुत दियोदियो,चितवन मा हिरासत को मान्छे कुतेर मार्यो अनि झुन्दियेर मर्यो भन्यो होइन यो सर्कार आयेपछि कहा कुन नेपालि जनताले न्याय पायो कोइले कहि छैन
  2.  0 Reply
  3. May 18, 2019, 4:35 p.m. Dilliram Adhikari
    आफूलाई सर्वैसर्वा सम्झने , घमण्ड र मपाइँत्व ओलीमा देखिन थालेको छ ...
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...