शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु

शुक्रबार, ०३ जेठ २०७६, १० : ११
शुक्रबार, ०३ जेठ २०७६

स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ ।

स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्र्षीय अनिस कुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो ।

उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरी गरेको आरोपमा विजुली पोलमा बाँधेर स्थानीयले कुटपिट गरेका थिए । यो घटना वैशाख २८ गते शनिवार रातीको हो । 

कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते दिउँसो काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखदर्शक भएको पीडित पक्षले आरोप लगाएको छ । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेका थिए । उनीहरुले ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई समेत घेराऊ गरेका थिए । घेराऊ पछि प्रहरी र स्थानीय बीच ३ बुँदे सहमति भएपछि घेराऊ र सडक अवरोध खुला गरिएको थियो ।

मुखदर्शक बनेका प्रहरीलाई करवाही, दोषीलाई हदैसम्मको करवाही र तीन दिन भित्र अपराधीलाई पक्राउ गरी करवाही अगाडी बढाउने सहमति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

घटनाबारे मृतकका काका मनोज सिंह भन्छन्,

बैशाख २८ गते राती हामीहरु सबै परिवार लहानमा थियो । घरमा ७५ वर्षीया हजुरआमा र अनिस मात्रै घरमा थियो । राती केही युवाहरु घरमा अएर चोरको आरोप लगाउँदै समातेर अनिसलाई घरबाट तेनुवापट्टी लगे । तेनुवापट्टीमा बिजुलीको पोलमा बाँधेर कुटपिट गर्न थोलेको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई खबर गर्दा पनि समयमा प्रहरी पुगेन । केही घण्टापछि प्रहरी पुगे पनि मुखदर्शक मात्र बन्यो । न कसैलाई नियन्त्रणमा लिइयो न अनिसलाई कुटाई खानबाट बचायो ।

मृतकका काका विजय कुमार सिंह भन्छन्,

हामीहरु बिहान ४ बजे घटनास्थलमा पुगेका थियौँ । विजुली पोलबाट खोलिदिन आग्रह गर्दा पनि कसैले मानेनन्, उल्टै हामीलाई थर्काए । हामी लाचार थियौँ, आफ्नै अगाडिमा भतिजा कुटाइ खाइराखेको हेर्न बाध्य भयौँ । हामीले जति हारगुहार गरे पनि उनीहरुले सुनेनन् । उनीहरुले कुट्न छाडेपछि तत्कालै उनलाई लहानको सप्तऋषी अस्पतालमा लग्यौँ । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल अस्पताल विराटनगरमा रेफर गरियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाडौँमा रेफर गरियो । पछि उपचारकै क्रममा मृत्यु भएको खबर सुन्नुपर्यो ।

यता, चोरीको आरोप लगाउँदै जाहिरी दिएका विरेक्षण यादवको घरमा पुग्दा त्यहाँ ताल्चा लागेको रहेछ । त्यसपछि अनिसलाई विजुली पोलामा बाँधेर कुटपिट गरेको ठाउँका पुग्यौँ । त्यहाँका छिमेकीहरुलाई सोध्दा उनीहरु बोल्नै मानेनन् । बोल्नेहरुले आफूलाई केही थाहा नै नभएको बताए । यतिबेला गाउँमा पुरुषहरुको संख्यामा पनि कमी देखिएको छ । घटनास्थल नजिकैका घरहरुमा पुरुषहरु नै थिएनन् । महिलाहरुले केही बताउन नै चाहेनन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप