बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक: यसरी टुङ्ग्याइयो जनवर्गीय संगठनको भागबन्डा

बिहीबार, ०२ जेठ २०७६, १७ : ३८
बिहीबार, ०२ जेठ २०७६

काठमाडौँ–नेकपाको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । बिहिबार वालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठनको भागबन्डा टुङ्ग्याएको हो । 

स्रोतका अनुसार विद्यार्थीका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ, पन्चा सिँह वा सुरेन्द्र बस्नेत मध्ये एक रहने गरी मोटामोटी सहमति जुटेको छ । महर तत्कालीन एमाले निकट विद्यार्थी संगठनका र तामाङ तत्कालीन माओवादी निकट विद्यार्थी संगठनका अध्यक्ष हुन् ।  

यसबाहेक यूवामा रामप्रसाद सापकोटा संयोजक र सहसंयोजक रमेश पौडेल र पौडेलले नमाने किरण पौडेललाई राख्ने सहमति जुटेको स्रोतको दावी छ । सापकोटा तत्कालीन माओवादीका र पौडेल तत्कालीन एमाले निकट यूवा संगठनका नेता हुन् । 

यसबाहेक महिलामा सांयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ । थापा तत्कालीन माओवादी निकट महिला र पौडेल तत्कालीन एमाले निकट महिला संगठनकी नेतृ हुन ।  यसबाहेक मजदुर विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् । 

यसबाहेक प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी र बस्नेत तत्कालीन माओवादी निकट मिडिया संगठनका नेता हुन् । 
त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सहसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादीनिकट बुद्धिजिवी संगठनका नेता हुन् । 

यसैगरी मुस्लिम संगठनको संयोजकमा तत्कालीन एमालेका सहराज अहमद फारुकी र सहसंयोजकमा तत्कालीन माओवादीका अतहर हुसेन फारुकी,  दलित संगठनमा तत्कालीन माओवादीका संयोजक तिलक परियार र सहसंयोजकमा बोमबहादुर विश्वकर्मा, जनसाँस्कृतिक महासंघमा तत्कालीन एमालेका खगेन्द्र राई र सहसंयोजकमा माओवादीका सरल सहयात्री, निर्माण व्यवसायी संगठनमा तत्कालीन एमालेका यज्ञध्वज कार्की र सहसंयोजकमा शिवप्रसाद चौंलागाई र माओवादी केन्द्रका तर्फबाट खोपनिधि लोहनी, आदिवासी जनजाती महासंघमा तत्कालीन माओवादीका सुरेश आलेमगर र सहसंयोजकमा तत्कालीन एमालेका शेरबहादुर तामाङ, अपाङ्ग संगठनमा तत्कालीन माओवादीका इन्द्रमाया गुरुङ र सहसंयोजक रामप्रसाद ढुंगाना रहेका छन् । 

खेलकुद महासंघका संयोजक तत्कालीन एमालेका पुरुषोत्तम पौडेल र सहसंयोजकमा माओवादीका शिव कोइराला, उद्योग व्यवसायी महासंघमा तत्कालीन एमालेका लक्ष्मीदास मानन्धर र सहसंयोजकमा तत्कालीन माओवादीका श्याम पाठक, सुकुम्वासी संगठनमा तत्कालीन एमालेका रामप्रीत पासवान र सहसंयोजकमा तत्कालीन माओवादीका पदम देवकोटा, भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा तत्कालीन एमालेका धनबहादुर चन्द र सहसंयोजक चुनिन वाँकी छ ।

पेशागत महासंघमा तत्कालीन एमालेका विश्वनाथ प्याकुरेल र तत्कालीन माओवादीका दयाराम बस्याल, प्रवास भारत संगठनमा तत्कालीन एमालेका लोकनाथ भण्डारी र उपसंयोजकमा तत्कालीन माओवादीका इश्वरी भण्डारी छन् । 

नेकपामा यसअघि नै इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनमा एकता भइसकेको छ । इन्जिनियरको जनवर्गीय संगठनको संयोजकमा तत्कालिन एमालेका शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा तत्कालिन माओवादीका हरि पराजुली चयन भएका छन् ।

त्यस्तै, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा तत्कालीन एमालेका मीनबहादुर शाही र सहसंयोजकमा माओवादीका हुकुम पोखरेल सर्वसम्मत भएका थिए । यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सर्वसम्मत सिफारिस भएका थिए ।  सबै जनवर्गीय संगठनको नेतृत्वको नाम पार्टी एकताको एक बर्ष पुगेको अवसरमा शुक्रवार घोषणा गर्ने तयारी छ ।

पोलिटव्यूरो र कार्यविभाजन टुंगिएन

नेकपाको विहिबार बसेको सचिवालय बैठकले पोलिटव्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन भने टुङ्ग्याउन सकेन । जेठ ५ गते अर्को बैठक बसेर यी काम सक्ने नेकपाको तयारी छ । 

‘मिडियामा पोलिटव्यूरोको नाम भनेर पहिला नै बाहिर आयो, त्यो अपुरो थियो । अन्तिम रुप अब ५ गते बस्ने बैठकले दिन्छ । त्यसै गरी केन्द्रीय सदस्यका कार्यविभाजनको विषयमा पनि त्यसैदिन निर्णय हुन्छ । सचिवालयका एक सदस्यले भने । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप