केन्द्रीय संस्करण

निर्णायक तहमा पुरुषकै हालीमुहाली, यी हुन् नारी स्वतन्त्रताका चुनौती

person explore access_timeजेठ २, २०७६ chat_bubble_outline0

-कानुन कार्की 
 

मानिसका सोच र जीवनशैली समयक्रमा परिवर्तन हँुदै जाने गर्छ । आम्दानीले पनि उसको जीवनशैली र दैनिकीमा धेरै प्रभाव पर्ने गर्छ । समाजलाई दिने र देखाउने नाममा पनि ऊ परिवर्तित हुँदै जन्छ । आजको २१औँ शताब्दीमा धेरै परिवर्तन आए तर महिलालाई हेर्ने दृष्टिकोणमा भने आजसम्म परिवर्तन आउन सकेको छैन ।

नेपालमै पनि विगत ८० वर्षभित्र निकै ठूला ठूला परिवर्तनहरू भए । विभिन्न कालखण्ड पार गरेर आउँदा पित्तृसत्तात्मक सोचका कारण महिला सामाजिक घेराबन्दीबाट बाहिरिन सकेका छैनन् । सभ्यताको सुरुदेखि नै पुरुषहरू महिलामाथि हाबी हुँदै अएका छन् । महिलाप्रति पुरुषले हेर्ने दृष्टिकोण अझै नै साँघुरो छ । 

पटक पटक व्यवस्था बदलियो, शासन बदलियो शासक बदलियोे तर समाज बदलिन सकेन । अधिकांश विकसित मुलुकलाई हेर्ने हो भने महिला र पुरुषबीचको विभेद देखिँदैन । समान सामाजिक अधिकार र स्वतन्त्रता प्रदान गरिएको हुन्छ । जसका कारण महिलाहरुको पहुँच राज्यका हरेक तहमा बराबर हुन्छ तर हाम्रो देशमा भने महिला अधिकारका कुरा कोरा कागजभन्दा माथि उठेको छैन । महिलाका लागि काम गर्ने विभिन्न सङ्घ संस्था पनि नारा, र्याली, कोठे बैठकमै सीमित छन् । 

महिलाका पक्षमा कानुनी रूपमा जति अधिकार भए पनि स्वतन्त्रताको प्रश्नमा भने महिलाहरू पारिवारिक तथा सामाजिक बन्देजबाट बाहिर आउन सकिरहेका छैनन् । महिलाको स्वतन्त्रताका विषयमा सोचदेखि व्यवहारसम्म अझै पनि अंकुस लागिरहेको छ । 
महिला अधिकारका चुनौतीः
नीति अनुरूप व्यवहारमा समानता नहुनुः
कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू पुरुषको तुलनामा निकै पछि छन् । अझै पनि हरेक तह र तप्कामा पुरुषहरुकै बोलबाला छ । करिब ७० प्रतिशतभन्दा बढी हाबी छन् । राज्यले आरक्षणका नाममा केही हदसम्म महिला उत्थानको प्रयास गरेको छ तर नीति निर्माण र निर्णायक तहमा पुरुषकै हालीमुहाली छ । कोटाको नाममा सीमित गरिएका महिला मात्र कोटाभित्र पर्नुपर्छ भन्ने मानसिकताले स्वतन्त्र भएर अधिकार प्राप्तिमा लाग्न महिला अझै सकेका छैनन् । 

वर्गीकरणको शिकार हुनु :
कानुनतः महिला स्वतन्त्र छन् । नेपालको संविधानले महिलाको हकलाई मौलिक अधिकारभित्रै समावेशसमेत गरेको छ, जसमा महिला भएकै कारणले कुनै भेदभाव नहुने उल्लेख छ । तर घरपरिवारले गर्ने व्यवहारदेखि महिलाले पाउने शिक्षामा समेत महिला वर्गीकरणको शिकार हुनुपरेको छ । अघिल्लो पुस्ताका नारीझैँ अहिलेसम्म पनि पहिरनका विषयमा पटक पटक प्रश्न उठेका छन् । सामाजिक प्रभावले बदलिएको परिवारको सोचका कारण आफ्नो इच्छा आकाङ्क्षासँग सम्झौता गर्नुपर्ने बाध्यता छ ।

(ग) महिलाप्रति नकारात्मक सोच :
नेपाली महिला हरेक दृष्टिबाट बन्देज छन् । पहिलेको तुलनामा भन्ने हो भने धेरै हदसम्म सुधार आएको छ । सामाजिक बनावटका कारण आफन्त, छरछिमेक तथा सहकर्मीको हेराइले समेत महिलालाई प्रत्यक्ष असर पारिरहेको छ, जसले महिलाहरू हरप्रहर मानसिक विचलन र तनाव झेल्न बाध्य छन् । पुरुषको तुलनामा स्वतन्त्रत हुन नसक्नु, कामको दोहोरो बोझले थिच्नु र आत्मनिर्भर भए पनि हेपिइरहनु महिलाका बाध्यात्मक परिस्थिति हुन् ।
(घ) तलबविहीन श्रममा बढी संलग्न :
धार्मिक, सांस्कृतिक एवं सामाजिक कार्यक्रममा महिलाको उल्लेखनीय सहभागिता हुने गर्छ तर तलब पाउने खालका काममा उनीहरुको संलग्नता भने शून्य छ । शिक्षित महिला बहुसङ्ख्यक भए पनि घरपरिवारभित्र मात्र सीमित हुनुपरेको छ । पराधीन जीवन बिताइरहेका महिलालाई समेत परनिर्भरताले गाँजेको छ, जसका कारण विभिन्न प्रकारका घरेलु हिंसाको सिकार हुनुपरेको छ । 
पितृसत्तात्मक सोचः
नेपाली महिलाहरुले भनेजति र पाउनुपर्ने जति स्वतन्त्रता पाएका छैनन् । सक्षम, सबल र आत्मनिर्भर महिला पनि पितृसत्तात्मक सोचका कारण पारिवारिक बन्देजमा बाँधिएका छन् । महिलाहरु अझै समयभन्दा केही ढिलो आएमा, रातसाँझ बाहिर हिँडेमा अनेकौँ शङ्का र प्रश्न तेर्सिछन् तर पुरुषहरू भने यी प्रश्नबाट स्वतन्त्र छन् । अर्कोतर्फ समाजले महिलालाई हेर्ने दृष्टिकोण फरक भइदिँदा आफैले हिम्मत गरेर हरेक चुनौतीसँग लड्न महिला सकिरहेका छैनन् । 
नेपाली धरातमा उभिएर सबैले चिन्तन मनन गर्यौँ भने सामाजिक दृष्टिमा महिलालाई हेर्ने नजर नै पीडक भेटिन्छ । देशभित्र घटेका विभिन्न हिंसाका घटनामा, महिला हिंसाविरुद्धका कार्यक्रमका नारा फिक्का हुन्छन् । राज्यको दण्डहीनता र अपराधी जोगाउन लागिपर्ने राजनीतिक परिवेशले समेत महिलालाई पीडा दिइरहेको छ । त्यसैको उपज नेपाली महिला विभिन्न प्रकारका सामाजिक र लैङ्गिक विभेदको दोहोरो मारमा परेका छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...