शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गौरिकासहित चार खेलाडीले विश्व च्याम्पियनसिप खेल्ने

बुधबार, ०१ जेठ २०७६, २३ : ५५
बुधबार, ०१ जेठ २०७६

काठमाडौं-कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिपका लागि बुधबार चार खेलाडी छनोट गरिएको छ । च्याम्पियनसिपमा महिलातर्फ गौरिका सिंह र सोफिया शाह तथा पुरुषतर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर शाहले नेपालको प्रतिनिधित्व गर्नेछन् । आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा नेपाल पौडी संघले खेलाडी छनोट गरेको हो ।

आठौंमा नेपाली खेलाडीले प्राप्त गरेको समयलाई फिना अंकमा परिवर्तन गर्दा गौरिका सिंहले २०० मिटर फ्रिस्टायलमा २ मिनेट ९.१९ सेकेन्ड समयका साथ ६२४ फिना अंक प्राप्त गर्न सफल भएकी थिइन् । आठौंमा आर्मी क्लबबाट खेलेकी गौरिकाले आठ किर्तिमान सहित १२ वटा स्वर्ण जितेकी थिइन् ।

सोफियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.५९ सेकेन्डका साथ ५१७ फिना अंक प्राप्त गर्दै विश्व च्यामिपयनसिपका लागि छनोट हुन सफल भएकी हुन् । महिलातर्फ वैकल्पिक खेलाडीमा टिषा शाक्य रहेकी छिन् । शाक्यले १०० मिटर फ्रिस्टायलमा १ मिनट ३.५६ सेकेन्डका साथ ४९४ अंक प्राप्त गरेकी थिइन् । डुवाना लामाले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ५०.४७ सेकेन्डमा दूरी पार गर्दै ५२६ अंक प्राप्त गरेता पनि फिनाको नियमानुसार च्याम्पियनसिपमा सहभागी हुन १४ बर्ष पुरा हुनु पर्नेमा उनको उमेर १३ वर्ष ५ महिना १७ दिन मात्र भएकोले उमेरका आधारमा च्याम्पियनसिपमा सहभागी हुन नसकेको संघले जनाएको छ ।

यसैगरी पुरुषतर्फ शुभमले १०० मिटर ब्रेष्ट स्ट्रोक्समा १ मिनट ८.१५ सेकेन्डमा साथ ५४३ फिना अंक र एलेक्सजेन्डरले १०० मिटर फ्रिस्टायलमा ५५.३८ सेकेन्डका साथ ५३४ फिना अंक हात पार्दै च्याम्पियनसिपका लागि छनोट भएका हुन् । वैकल्पिक खेलाडीको रुपमा रहेका शयद हम्जा शाहले १०० मिटर ब्रेष्ट स्ट्रोकमा १ मिनट ८.८७ सेकेन्डका साथ ५२६ अंक हात पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप