शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले उठाए प्रधानमन्त्री ओलीमाथि गम्भीर ४ प्रश्न

बुधबार, ०१ जेठ २०७६, २१ : ५८
बुधबार, ०१ जेठ २०७६

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भिर प्रश्न उठाएका छन् । 

प्रधानमन्त्री ओली अनुपस्थित भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीको कार्यशैलीदेखि लिएर सरकारका काम कारबाहीबारे खुलेरै आलोचना गरे । नेता नेपालले सिधै नाम त लिएनन् तर उनको निशाना प्रधानमन्त्री ओलीमाथि थियो । उक्त कार्यक्रममा नेकपाका धेरै शीर्ष नेता उपस्थित थिए । 

सांगठनिक एकीकरणमा बेला बेला असन्तुष्टि राख्दै आएका नेता नेपालले पार्टी एकताको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री ओलीमाथि उठाएका गम्भिर अविश्वासले नेकपामा तरङ्ग पैदा गरेको छ । 

युवा संघ नेपालको २९ औँ बार्षिक उत्सवको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा नेता नेपालले प्रधानमन्त्री ओली माथि उठाएको पहिलो प्रश्न थियो सरकारको कामरवाही । प्रधानमन्त्री ओलीले बारम्बार आफ्ना भाषणमा सरकारले जनताको भावना अनुरुप काम गरेको दावी गरिरहँदा नेता नेपाललाई त्यो कुरा मन परेन । र, उनले प्रधानमन्त्रीको दावी माथि यस्तो प्रश्न गरेका छन् । 

पहिलो– ‘हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ । जनताका पीर, मर्कामा सहयोगी भयौ भने जनताको दुःख कष्टमा साथ दियौ भने अनि जनताको सुखमा पनि रमायौ भने अनि जनताले हामीलाई मन पराउनेछन् । नभए त्यतिकै जनताले मन पराउँछन् भनेर त्यसको ग्यारेण्टी गरेर बस्न सक्दैनौ । ख्याल गर्नुहोस् । यसअर्थमा पनि जनताका समस्याहरु के हुन् ? जनताका चाहानाहरु के हुन् ? जनता के भनिरहेका छन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु । हाम्रो बानी के भएको छ भने धेरै बोल्ने । सुन्ने कम ।’

दोस्रो– प्रधानमन्त्री ओलीले बारम्बार जनताले विश्वास गरेर पठाएको दुई तिहाइको जननिर्वाचित सरकार भनिरहँदा नेता नेपालले उनको भनाईलाई यसरी खण्डन गरेका छन् । 
–उनले भनेका छन्, ‘प्रगति यथेष्ट छैन । अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौ । ख्याल गर्नुहोस्, दुई तिहाई होइन । धेरै जनताको विश्वास जित्न बाँकी छ । धेरै जनताको माझमा पुग्न बाँकी छ । धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ । त्यो के बाट गर्न सक्छौ ? राम्रो कामबाट ।’

तेस्रो–त्यस्तै प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा पार्टी विधि र पद्धतिमा चलिरहेको दावी गरिरहँदा नेता नेपाललाई त्यो कुरा पनि मन परेन । र उनले यसमा पनि गम्भिर प्रश्न उठाएका छन् ।
–‘हाम्रो आचरण र व्यवहारमा कतै ठुला समस्या त खडा भएका छैनन् ? अनौठो खालका वकृतिहरु झाँगिएका त छैनन् ? भ्रष्टाचार, जनसम्बन्ध, व्यवहारसँग जोडिएको होस् । पारदर्शीता छ कि छैन ? कमिटीभित्र सबै कुराहरु छलफल हुन्छ कि हुँदैन ? कामको बाँडफाँड गरिन्छ कि गरिँदैन ? योग्यता क्षमताको मूल्याँकन गरिन्छ कि गरिँदैन ? यी जम्मै कुराहरुलाई हेर्नुहोस् । किनभने अन्त्यमा तपाईको व्यवहारले नै मान्छेको मन जित्छ ।’

चौथो– प्रधानमन्त्री ओलीले सामाजिक न्याय सहितको समृद्धिको यात्रामा अगाडि बढेको दावी गरिरहँदा नेता नेपालले त्यसमा पनि गम्भिर प्रश्न उठाएका छन् । 
–‘हामीले सामाजिक न्याय सहितको समृद्धि भनेका छौँ । समृद्धि भनेको मुठ्ठी भरका जमातका लागि होइन, आम नागरिकको लागि हो । त्यसको निम्ति शिक्षाका सवालमा हो । रोजगारीको सवालमा हो । स्वास्थ्यका सावलमा हो । जनतासँग जोडिएको गाँस बास कपासमा हो । जनताका पिर मर्का बुझ्नुपर्छ । अहिले समाजमा कस्ता कस्ता विकृतिहरु छन् ? सामाजिक, सांस्कृतिक अनेकौ किसिमका विकृतिहरुमा ध्यान पुर्याउनु आवश्यक छ । यी सवै कुराको लागि मुख्य दृष्टिकोण के हो भन्ने हुन्छ । माक्र्सवादको गहिरो अध्ययन गर्नुपर्छ । अध्ययन गर्ने वानी छुट्यो । त्यो तपाईहरुले विचार गर्नुस् । पढ्दै नपढ्ने, अध्ययननै नगर्ने । सिद्दान्तको विचारको पक्षलाई वास्ता नगर्ने । त्यसमा ध्यान दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप