बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन शुरु

बुधबार, ०१ जेठ २०७६, १९ : ४४
बुधबार, ०१ जेठ २०७६

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन आज शुरु भएको छ ।  प्रदेशको मन्त्री परिषद्को निर्णय अनुसार प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभाको अधिवेशन आव्हान गर्ने सम्बन्धमा पठाएको पत्र सभामुख अर्जुनबहादुर थापाले सदनमा पढेर सुनाएपछि बैठक शुरु भएको थियो ।

प्रदेश सभाको चौधे अधिवेशनको पहिलो बैठकमा प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रस्तुत भएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सो विधेयक टेबुल गरेकी हुन् । सो विधेयक पास भएमा सरकारी, संस्थागत र नीजि क्षेत्रलाई सुदूरपश्चिममा उद्योग स्थापना तथा सञ्चालनमा सहयोग पुग्ने छ ।

प्रदेशसभाको बजेट अधिवेशनको रुपमा शुरु भएको अधिवेशनको पहिलो बैठकको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेशको योजना आयोग, प्रदेश प्रहरी ऐन तत्काल ल्याएर संघीयतालाई मजबुत बनाउन आग्रह गरे । उनले लोकसेवा आयोग समेत तत्काल गठन गरी प्रदेशमा रिक्त रहेका दरबन्दी पुरा गर्न आग्रह गरे । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका प्रमुख सचेत तारा लामा तामाङले प्रदेश, स्थानीय र संघीय सरकारबीच समन्वयको अभाव खड्किएको बताए । उनले बजेटलाई सहि ढंगले कार्यान्वयन गरी संघीय व्यवस्थालाई बजबुत बनाउन आग्रह गरे । कांग्रेसका प्रदेश सांसद भरतबहादुर खड्काले संसद्बाट पास भएको बजेटमा आफू खुशी तरिकाले बाँडेको आरोप लगाए । 

नेकपाका सांसद् विरमान चौधरीले बजेटले गरेको परिकल्पना अनुसार प्रदेश सरकारले बजेट र योजना सञ्चालन गरेको दावी गरे । उनले प्रदेश सरकार लोकसेवा आयोग गठनको प्रक्रियामा अगाडि बढिसकेको भन्दै प्रदेश सरकारको तारिफ गरे ।

राष्ट्रिय जनता पार्टी (राजपा)ं की सांसद् मालामती रानाले प्रदेश सरकारले सेती अञ्चल अस्पतालमा पानीको हाहाकार भइरहेको अवस्थामा पनि सम्बन्धित मन्त्रालय चुप लागेर बसेको बताए । नेकपाकी सांसद् कुन्ती जोशीले बजेट कार्यान्वयनको अवस्थाबारे कसैलाई कुनै जानकारी नरहेको भन्दै सरकारको बजेट कार्यान्वयनको समिक्षा र रेखदेख गर्ने व्यवस्था मिलाउन सभामुखलाई आग्रह गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप