शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बौद्ध–साँखु सडक: हिजो आन्दोलन, आज कालोपत्रे

बुधबार, ०१ जेठ २०७६, १८ : ५१
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– सडक पिच नगरेको भन्दै काठमाडौं बौद्धका स्थानीयले आन्दोलन गरेपछि कालोपत्रे थालिएको छ । गत बैशाख २६ गते स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै दिनभर सडक अवरोध गरेका थिए ।  चावहिल–साँखु खण्डको १२ किलोमिटर सडक २ बर्ष अघि नै कालोपत्रे गर्नुपर्ने भएपनि ठेकेदार, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्ती र केही स्थानीय घरधनीले मापदण्ड विपरितको घर भत्काउन नमानेपछि सडक विस्तारको काम अलपत्र परेको थियो । बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण हैरानी पाएका सर्वसाधारणले स्वतस्र्फूत रुपमा आन्दोलन गरेका थिए ।  

सो सडक २०७२ असोजमा २ वर्षभित्र कालोपत्रे हुनुपर्ने गरी ४ प्याकेजमा ठेक्का सम्झौता भएको थियो । २२ मिटर चौडाइमा सडक बनाउने योजना थियो । जिएलडी मापदण्ड अनुसार मापदण्डमा परेका घर भत्काउने र सडक बनाउने योजना थियो । सडकको बीच भागबाट दुबैतर्फ एघार–एघार मिटर हुने गरी सडक बनाउने मापदण्ड तय गरिएपनि काम भएको थिएन । 

स्थानीयको आन्दोलनपछि भएको सहमतिपछि बौद्ध टुसालदेखि जोरपाटी खण्ड र नारायणटार खण्डमा कालोपत्रे गर्न थालिएको छ । सुरुमा चाबहिल–साँखु सडकखण्डको डिजाइन गर्दा २२ मिटर चौडाइ भएपनि सो मापदण्ड पूरा गर्न नसकेपछि अन्धाधुन्ध कालोपत्रे गरिन लागिएको छ । घर तथा व्यक्तिको जग्गा परेको ठाउँमा साँघुरो सडक हुनेछ भने मुआब्जाममा कुरा मिलेको ठाउँमा फराकिलो सडक हुने भएको हो । भत्काउनु पर्ने ठाउँको घर नभत्काउदा ढल निकासको बाटो पनि तय नहुने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप