शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगानीकर्ता आकर्षित गर्न सरकारले ‘बन्द ढोका’ खोल्यो

लगानीकर्ता आकर्षित गर्न एकल बिन्दु सेवा, लगानीको झन्झटिलो प्रक्रिया अन्त्य
बुधबार, ०१ जेठ २०७६, १४ : १५
बुधबार, ०१ जेठ २०७६

काठमाडौं–बुधबारदेखि एकल बिन्दु सेवा केन्द्र शुरु भएसँगै लगानीको झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ । 

एकल विन्दु सेवाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले गरेपछि औपचारिक रुपमा शुरु भएको छ ।  

सरकारले ढोका थुनेर लगानी गर्न बोलाउने गरेको आरोप लगानीकर्ताले लगाउँदै आएका थिए । 

विदेशी तथा स्वदेशी लगानीकर्ताले विभिन्न निकायको ढोका चाहनुपर्ने तर काम समयमै नगरिदिँदा लगानीकर्ताहरु निराश हुने अवस्था मात्र नभइ  लगानीकर्ता लगानीनै नगरी फर्कने अवस्था समेत थियो । लगानीकर्ताले लगानीको सहज वातावरण बनाउन एकल विन्दु सेवाको माग गर्दै आएकोमा बल्ल उनीहरुको माग सम्बोधन भएको छ ।  

मन्त्री यादवले एकल विन्दुसेवाको शुरुसँगै  एउटा उद्योग दर्ता गर्दा लगानीकर्ताले पाउनुपर्ने सास्तीको अन्त्य भएको बताए । 

मन्त्री यादवले भने, ‘पहिला सरकार लगानी गर्न बोलाउँथ्यो तर ढोका थुनेर बस्थ्यो र लगानीकर्ताहरु झ्यालबाट छिर्नुपथ्र्यो । झ्यालबाट छिर्नेलाई चोरको जस्तो व्यवहार हुन्थ्यो तर अब ढोका खुलेको छ । पूर्णरुपमा भने खुल्न बाँकी नै छ किनकी यहाँ अलिअलि खिया छ । त्यसलाई हटाएर सेवामा सहज बनाउँछौ ।’ 

कर्मचारीहरु सेवाग्राही आउँदा शिकार आएजस्तो गर्ने र कागजपत्र बोकाएर घुमाएको घुमाएकै गर्ने गरेको भन्दै मन्त्री यादवले अब शासक होइन सेवक बन्नुपर्ने उल्लेख गरे । 

उद्योग सचिव यम कुमारी खतिवडाका अनुसार राष्ट्र बैंक, भूमिसुधार मन्त्रालय लगायतले एकल विन्दु सेवा कार्यालयमा आफ्नासेवा दिनका लागि कर्मचारी पठाइसकेकोे छ ।

के हो एकल विन्दु सेवा ? 
परियोजनाको अनुमति, समझदारी पत्र, लगानी अनुमति र सम्झौता लगायत काम गर्ने र परियोजनालाई सहजीकरण गर्ने उदेश्यले एकल बिन्दु सेवा शुरु गरेको हो ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहने एकल विन्दु सेवामा ८ वटा युनिटहरु रहनेछन् । यसमा उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण, भिषा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजस्व प्रशासन र कानुन इकाइ रहनेछ । 
एकल विन्दु सेवा केन्द्रले उद्योग दर्ता गर्नुअघिका काम देखि उद्योग दर्ता भइसकेपछि त्यसको सञ्चालन प्रक्रिया र उद्योग बन्द भइ लगानी झिक्नु पर्ने अवस्थासम्म सबै सरकारी सेवा, सुविधा र सहुलियत एकै ठाउँबाट दिइनेछ । 

सरकारले आफ्नो नीति तथा कार्यक्रममा एकल विन्दु सेवा जेठ एक गतेबाटै सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सोही अनुरुप सेवा शुरु भएको हो । 

एकद्वार प्रणालीको खाका मन्त्री परिषदबाट पारित भइ राजपत्रमा समेत प्रकाशित भएको छ । एकल विन्दु सेवाको भवन उद्योग विभाग परिसर त्रिपुरेश्वरमा छ । यसको सम्पूर्ण निर्माण कार्य नसकिएपनि निर्माण भएको भुइतल्लाबाट सेवा शुरु हुन्छ । 

उद्योग विभागका महानिर्देशक केन्द्रका कार्यकारी 
एकल विन्दु सेवा केन्द्रको संगठन संरचनामा उद्योग विभागका महानिर्देशकलाई कार्यकारी प्रमुखको जिम्मा दिइएको छ । यस अन्र्तगत आठ वटा इकाइ रहेनछन् । भन्सार तथा राजस्व इकाइमा ३ जना, पूर्वाधारमा ( उर्जा तथा सञ्चार समेत) ४ जना, जग्गा सहजीकरण इकाइमा २ जना, उद्योग दर्ता इकाइमा ६ जना, वातावरण इकाइमा ५ जना, विदेशी विनिमय सहजीकरण इकाइमा १ जना प्रशासन तथा कानुन इकाइमा १६ जना गरी ४१ जनाको दरबन्दी रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप