सुडानमा सेना र विपक्षीबीच सहमति
खार्तुम– सुडानको सैनिक सत्ता र विपक्षीहरुबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ । विपक्षीहरुले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्र सहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन् ।
सुडानमा विगत २० वर्षदेखि जनरल ओमार अल–बासिरको नेतृत्वमा सैनिक शासन कायम थियो । तर सेनाले बसिरलाई पदच्यूत गरी आफैंले राष्ट्रिय सैनिक परिषद गठन गरी सरकार सञ्चालन गरिरहेका छन् ।
दुबै पक्षबीच अघिल्लो साता सुडानको भावी शासन प्रणालीका बारेमा छलफल भएको थियो तर एक जना सैनिकको हत्या भएपछि भडकिएको हिंसाका कारण अरु पाँच जना प्रदर्शनकारीको पनि मृत्यु भएको छ । साथै वार्तामा पनि गतिरोध आएको थियो ।
करिब १२ घण्टाको वार्तापछि दुबै पक्षले सङ्क्रमणकालीन तीन वर्षे अवधिभित्रै सेनाले नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको घोषणा गरेका छन् । सैनिक परिषदका एक सदस्य जनरल यासेर अल–आताले तीन वर्षको सङ्क्रमणकालीन अवधि रहने गरी दुबै पक्षबीच सहमति भएको जानकारी दिए । जनरल आताले शक्ति बाँडफाँडको विषय सहित आगामी सरकार गठन गर्नेबारे एक दुईदिनभित्रै विपक्षी गठबन्धन एलायन्स फर फ्रिडम एन्ड चेन्जसँग सम्झौता हुने बताए ।
प्रदर्शनमा सहभागी मोहमद अब्दुल्लाहले दुबै पक्षबीच मध्यस्थता भएकामा खुशी व्यक्त गरे । तर उनले सैनिक परिषदसँगको सम्झौतालाई कसरी विश्वास गर्ने भन्दै अझै पनि नागरिक तहबाट खबरदारीको आवश्यकता रहेकामा जोड दिए ।
सैनिक परिषदले आगामी ६ महिनाभित्र सुडानका युद्धग्रस्त क्षेत्रहरु जस्तै डार्फर, ब्लु नाइल र साउथ कर्डोफानमा सक्रिय विद्रोहीसँग शान्ति सम्झौता गर्ने तयारी पनि गरेको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'