केन्द्रीय संस्करण
शिक्षा

अङ्ग्रेजी माध्यमका कारण सरकारी विद्यालयमा भर्ना वृद्धि

person explore access_timeजेठ १, २०७६ chat_bubble_outline0

वैशाख लागेसँगै विगतका वर्षझैँ यो वर्ष पनि भर्ना अभियान सञ्चालन गरियो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’ भन्ने नारासहित यो वर्षको भर्ना अभियान सुरु गरिएको थियो ।

सरकारले दुई चरणमा भर्ना अभियान कार्यक्रम सञ्चालन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ देखि ९ वर्ष उमेर समूहका करिब ९१ हजार बालबालिका अझै पनि विद्यालय बाहिर रहेको बताएको छ ।

शैक्षिक सत्रको सुरुमा भर्नादर बढे पनि बीचमै विद्यालय छाडेर जाने विद्यार्थीलाई रोक्न भने कार्यक्रम प्रभावकारी नदेखिएको तथ्याङ्कले देखाउँछ ।

सबै सरकारी विद्यालयको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा यो वर्ष भर्नादर बढेको बताइएको छ । भर्ना दर बढ्नुको कारण अधिकांश विद्यालयले अङ्ग्रेजी र नेपाली दुवै माध्यमा पठन पाठन प्रमुख कारण देखिन्छ । सरकारी विद्यालयमा नयाँ विद्यार्थीहरू धेरैजसो निजी विद्यालयबाट आएका छन् ।

महेन्द्र राष्ट्रिय मावि बालुवाटारका प्रधानाध्यापक देवराज गुरुङ भन्छन्, ‘१ देखि ५ कक्षासम्म भर्नादर अपेक्षाकृत बढ्न सकेको छैन तर ६ देखि १० कक्षासम्म भने भर्नादर राम्रो छ । हामीले ९ देखि १२ कक्षासम्म सिभिल इन्जिनियरिङ विषय पनि राखेका छौँ तर विज्ञापन गर्न नसकेका कारण ४८ सिटमध्ये १३ सिट खालि नै छन् ।’

उनी भन्छन् ‘जति तीव्र रूपमा विद्यार्थी भर्ना हुनुपर्ने हो, त्यति हुन सकेको छैन । प्रचार प्रसार गर्न बजेटको अभाव छ । अभिभावकलाई सरकारी विद्यालयप्रति विश्वास कायम गराउन पनि गाह्रो छ ।’

यद्यपि अघिल्लो वर्षको तुलनामा भने यो वर्ष भर्नादर बढेको दाबी उनको छ । उनी भन्छन्, ‘अघिल्लो वर्ष १ सय २५ विद्यार्थी भर्ना भएकामा यो वर्ष अहिलेसम्म १ सय ३ विद्यार्थी भर्ना भइसकेका छन् भने निरन्तर भर्ना हुुने क्रम जारी नै छ । असारसम्म भर्ना हुन विद्यार्थी आउँछन् ।’

अधिकांश अर्काको घरमा ज्याला मजदुरी गर्ने अभिभावकका छोराछोरी भर्ना हुन आउने हुनाले टिकाउदर कम रहेको उनको तर्क छ ।

‘अभिभावकले निजी विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउन नसक्ने कारण पनि सरकारी विद्यालयमा विद्यार्थी बढेका हुन् । अभिभावक पनि सरकारी स्कुलतर्फ आकर्षण हुन लागेका छन्,’ उनी भन्छन्, ‘हामीले शिक्षाको माध्यम नेपाली र अङ्ग्रेजी दुवै गराएको र शिक्षकको गुणस्तरमा पनि वृद्धि गरेका कारण नै यो वर्ष भर्नादर बढेको हो ।’

जनविकास मावि बल्खुुकी प्रधानाध्यापक सीताकुमारी ढकाल भन्छिन्, ‘भर्नादर पोहोरको तुलनामा यसपालि बढेको छ । अहिले कम्युटर विषय पनि राखेका छौँ । अङ्ग्रेजी र नेपाली दुवै माध्यममा शिक्षण हुुन्छ । त्यसैले पनि भर्नादर बढेको हो ।’

तर संस्कृत मावि (प्रदर्शनीमार्ग) का प्रधानाध्यापक बद्रीप्रसाद दाहाल भन्छन्, ‘हाम्रो स्कुलमा भने भर्ना अभियान प्रभावकारी भएन ।’

 ‘अघिल्लो वर्ष ५०, ६० जना विद्यार्थी भर्ना भएकोमा यो वर्ष २०, २२ जना मात्र विद्यार्थी भर्ना हुुन् आएका छन्,’ उनी भन्छन् ‘वाल्मीकि परिसरमा विद्यालय सञ्चालन गरेको र भूकम्पले भवनमा क्षति पुुर्याएको हुनाले यस्तो अवस्था आएको हो ।’

जनप्रभात मावि कालीमाटीका प्रधानाध्यापक सत्यन्द्रलाल कर्ण भन्छन्, ‘भर्नादर राम्रो छ । अघिल्लो वर्ष ७०, ८० विद्यार्थी भर्ना भएकोमा यसपालि १ सय ५० को हाराहारीमा भर्नादर पुुगेको छ र भर्ना निरन्तर जारी  छ । यो वर्ष भर्नादर बढ्नुको कारण १ देखि ८ कक्षासम्म अङ्ग्रेजी माध्यम पनि गराएका छौँ ।’

उनी भन्छन्, ‘कक्षा ८ देखि निजी स्कुलबाट पनि विद्यार्थी आएका छन् । सानो कक्षामा खाजाको व्यवस्था गरेका छौँ । अभिभावकहरूलाई पनि निरन्तर भेला गराइरहेका छौँ ।’

ज्याला मजदुरीमा काम गर्ने र साना व्यापारीका छोराछोरी पढ्ने हुुनाले आफ्ना अभिभावक जहाँ जान्छन्, बच्चा पनि सँगै जाने हुुनाले विद्यार्थीको टिकाउदर कम भएको उनको दाबी  छ ।

पद्मोदय मावि रामशापहपथकी प्रधानाध्यापक मीना कोइराला भन्छिन्, ‘भर्नादर राम्रो छ । कक्षा ८ देखि १० सम्म धेरै भर्ना भइसके तर सानो कक्षामा भने अझै आउने क्रम जारी छ । पोहोर ४०, ५० जना भर्ना भएका थिए भने यसपालि २ सयभन्दा बढी पुगिसकेका छन् । भर्ना हुुन आउने अधिकांश विद्यार्थी निजी विद्यालयबाट आएका छन् ।’

 यो वर्ष धेरै सरकारी स्कुुलमा विद्याहरू आकर्षित हुनुको कारण  नेपाली र अङ्गे्रजी माध्यममा पठन पाठन सुुरु गरेको उनले बताइन् । उनी भन्छिन्, ‘विद्यार्थीहरू स्कुुलभन्दा बाहिर जान पाउँदैनन् । सानो कक्षाका विद्यार्थीलाई खाना तथा खाजा निःशुल्क दिन्छौँ ।’

ज्ञानोदय मावि बाफलका प्रधानाध्यापक नातिकाजी महर्जन भन्छन्, ‘अहिले हामी नयाँ विद्यार्थीलाई ठाउँ दिन सकिरहेका छैनौँ । यहाँ भर्ना हुन आउनेलाई अरू सरकारी स्कुलमा भर्नाका लागि सिफारिस गरिरहेका छौँ ।’

 उनी भन्छन्, ‘पोहोर साल र यो वर्ष उस्तै उस्तै सङ्ख्यामा विद्यार्थी भर्ना हुन आए तर सबैलाई भर्ना गर्न सकेनौँ । २५ सय नयाँ विद्यार्थी आएका छन् । निजी विद्यालयबाट पनि उत्तिकै आएका छन् ।’

उनी भन्छन्, ‘अभिभावकलाई आफ्ना छोराछोरी अङ्ग्रेजीमा बोलिदिए वा लेखिदिए हुुन्थ्यो भन्ने लाग्छ । त्यसैले हाम्रा स्कुल अभिभावकको चाहना अनुरूपको छ । आईसीटी पनि पढाइरहेका छाँै । सानो कक्षामा मन्टेस्वरी पनि छ । ४ देखि १० कक्षासम्म आठ पिरियड पढाइ हुन्छ ।’

काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुुख निर्मला केसी भन्छिन्, ‘पहिलेको तुलनामा सरकारी विद्यालयमा धेरै विद्यार्थी भर्ना भएका छन् । विद्यालय बाहिर थोरै प्रतिशत मात्र बाँकी छन् ।’

‘निजी विद्यालय छाडेर सरकारी विद्यालयमा विद्यार्थी भर्ना हुनुको कारण सरकारी विद्यालयले सुरु गरेको अङ्ग्रेजी माध्यम नै हो’ उनी भन्छिन् ।

‘अहिले सरकारी विद्यालयमा पठनपाठन राम्रो छ र साधन स्रोतले पनि भरिपूूर्ण छ । तालिम प्राप्त शिक्षक छन् । अहिले निजी र सरकारी स्कुलको प्रतिस्पर्धा छ ।’

भर्ना गरेर मात्र नहुनाले विद्यार्थीलाई अन्तिमसम्म विद्यालयमा टिकाउनका लागि प्रयास गरिरहेको उनले बताइन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र निर्देशक गेहनाथ गौतम भन्छन्, ‘पहिलो चरणको विद्यार्थी भर्ना अभियान प्रभावकारी रहेको छ भने दोस्रो चरणको घरदैलो अभियान जारी छ ।’

‘तर पहिलो चरणको भर्ना अभियान प्रभावकारी रूपमा नै सञ्चालन भयो’ उनी भन्छन् ।

शैक्षिक सुुधार बढेको र अभिभावकमा पनि जनचेतना बढेकाले सरकारी विद्यालयमा भर्ना अभियान प्रभावकारी रूपमा सञ्चालन भएको उनको दाबी छ ।

काठमाडौँ शिक्षा विभाग अधिकृत मोतिराज खनाल भन्छन्, ‘सरकारी स्कुलमा आउने विद्यार्थी भनेका निजी विद्यालय छाडेर आउने हुुन् । निजी विद्यालयमा अभिभावकलाई पैसाले धेरै गाँजिरहेको छ । त्यसबाट अभिभावक पीडित छन् । त्यसैले पनि सरकारी विद्यालयमा भर्नाको आकर्षण बढेको हो ।’

उनी भन्छन्, ‘निजी विद्यालयमा बच्चालाई धेरै अनुशासनमा राखिन्छन् । धेरै सीसीटीभीको पनि डर देखाइन्छ ।’

‘निजी विद्यालयले विभिन्न बहानामा पैसा लिन्छन् । बिहान ७ बजे विद्यार्थीलाई बोलाई होटल, स्टेसनरी, फेन्सी चलाउँछन् । अभिभावक पीडित छन् । त्यही गुणस्तरको पढाइ सरकारीले दिन लागेपछि निजी विद्यालयका विद्यार्थीहरू सरकारीमा आएका हुुन् ।’

‘निजी विद्यालयमा पढ्दा न नेपाली राम्रो भयो न अङ्ग्रेजी राम्रो भयो । त्यसैले अभिभावक पनि विकल्पमा जानुपर्छ भन्ने सोचेका होलान्,’ उनले बताए ।

‘महानगरपालिकामा विद्यालय बाहिर रहेका विद्यार्थी छैनन् । बाहिरबाट आएर यहाँ बसेका बच्चाहरू भर्ना अभियानका आकर्षण हुुन् । यहाँका स्थानीय बासिन्दाका बच्चाहरू विद्यालयको पहुँचमा नपरेका छैनन् । जो यहाँ भाडामा बस्छन् र ठाउँ परिवर्तन गरिरहन्छन् उनीहरू विद्यालयभन्दा बाहिर छन् ।’ 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...