शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारका आरोपित खरेल पक्राउ प्रकरण : तीन सेकेण्डमा काटिएको थियो फोन

बानेश्वर प्रहरीद्वारा थप अनुसन्धान
मङ्गलबार, ३१ वैशाख २०७६, २१ : १५
मङ्गलबार, ३१ वैशाख २०७६

राजु खरेल उर्फ भुवनको बानेश्वरको शान्तिनगरस्थित मिलिजुली चोकमा पाँच तले घर । घरमा श्रीमतीसहित २ छोराछोरी । उनीहरुको परिवार सबैभन्दा माथिल्लो फ्ल्याटमा बस्दै आइरहे पनि बाँकी चार तला भाडामा दिएका थिए ।

आर्थिक स्थिति सम्पन्नशाली भएको खरेलको परिवारलाई नपुग्दो केही थिएन । खरेल राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी समेत हुन् । ७ वर्ष जागिर खाएका खरेलले विभागको जागिर छाडेको ९ वर्ष भयो । 

उनै खरेल आज हत्कडीसहित प्रहरीको निगरानीमा छन् । रामेछापकी ७ वर्षीया बालिका बलात्कारको आरोपमा खरेललाई कञ्चनपुरको बेलौरीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तम सुवदीले कल लोकेशननको आधारमा खरेल भारत भाग्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

घटना यस्तो थियो ?

खरेलकी कान्छी छोरी सुत्केरी छन् । सुत्केरी छोरीको स्याहारसुसार गर्न खरेलले रामेछाप घर भएकी बलात्कृत बालिका र उनकी आमालाई कसैको सम्पर्कबाट घरमा ल्याए ।

गत वैशाख १७ गते बालिकाकी आमा छतमा कपडा धुने समय पारेर माथि गएको बेला बालिकालाई प्रलोभनमा पारेर खरेलले बलात्कार गरेको बालिकाको आमाको आरोप छ ।

यता महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख (डीएसपी) गोविन्द काफ्ले भन्छन्, ‘खरेलले बालिकालाई चकलेटको प्रलोभनमा बलात्कार गरेको बालिकाकी आमाको आरोप छ । खरेलविरुद्ध भोलिपल्ट बालिकाकी आमाले बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएकी हुन् ।’

बानेश्वर प्रहरी वृत्तमा बालिकाकी आमाले आफूविरुद्व किटानी जाहेरी दिएको थाहा पाएपछि खरेलले घरमा कसैलाई जानकारी नदिई भागेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

उजुरी लगत्तै प्रहरीले बालिकालाई परोपकार प्रसुती गृहमा स्वास्थ्य परीक्षण गरेको थियो । बालिकाको योनीमा घाउ देखिएको थियो ।

यसरी पक्राउ परे

डीएसपी काफ्लेका अनुसार सोमबार बिहान ११ बजेर ५८ मिनेटमा खरेल पत्नीको मोबाइलमा फोन आयो । यसैको आधारमा त्यसपछि खरेललाई कञ्चनपुरको बेलौरीबाट पक्राउ गरेको हो ।

प्रहरीले सोमबार खरेलकी श्रीमतीलाई बानेश्वर वृत्तमा लग्यो । डीएसपी काफ्लेले भने, ‘खरेलले परिवारका सदस्यलाई फोन गर्लान् भन्ने आशमा खरेलकी श्रीमती र छोराको मोबाईल नियन्त्रणमा लियौं । त्यसैका आधारमा फरार खरेललाई पक्राउ गर्न सकिने विश्वास थियो ।’

डीएसपी काफ्लेले भने, ‘खरेलको पत्नीको मोबाइलमा आएको त्यो नम्बर सेभ थिएन । त्यो फोन प्रहरीले नै उठायो । फोन आएको तीन सकेन्डमै काटियो । फोनमा बोल्ने व्यक्ति फरार रहेका राजु थिए ।’

राजुले तीन सेकन्डमा मेरो कारणले तिमीहरुलाई दुःख भयो है भनेको डीएसपी काफ्लेले बताए । उनले भने, ‘प्रहरीले सोही नम्बरमा कल ब्याक गरिरह्यो । तर धरै प्रयासपछि उक्त नम्बरमा फोन गएपनि उठेन् ।’

प्रहरीले निरन्तर फोन सम्पर्क गरिरहे पनि यता नेपाल टेलिकमसँग सम्पर्क राखेर उक्त फोनको कल लोकेशन झिकायो । टेलिकमबाट कल लोकेशन झिकाएपछि थाहा भयो आरोपी भनिएका खरेल कञ्चनपुरको बेलौरीमा छन् । उनी भारत पस्ने तयारीमा रहेको बताइएको छ । 

प्रहरीले तत्कालै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर खबर गर्यो । खरेललाई पक्राउ गर्न कञ्चनपुर प्रहरीसँगै महानगरीय अपराध महाशाखाको टोली, काठमाडौं परिसरको टोली र बानेश्वर प्रहरीको टोलीले सहयोग गर्यो । 

प्रहरीले पनि भारत जानेमाथि कडाभन्दा कडा निगरानी बढायो । भारत पस्ने प्रत्येक व्यक्तिहरुमाथि खानतलासी लिने र सोधपुछ गर्ने काम गर्यो । त्यहीबेला खरेल पक्राउ परे ।

खरेल सोमबार दिउँसो २ बजेतिर पक्राउ परेका हुन् । बलात्कार आरोप लागेका खरेलले कहिल्यै पनि जुंगा नकाट्ने गरेको एक स्थानीयले बताए । तर, बलात्कार आरोप लागेपछि फरार रहेका खरेलले जुंगा समेत काटेका थिए ।

७ दिन म्याद थप

कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका खरेललाई मंगलबार दिउँसो २ः४५ बजे काठमाडौं ल्याइएको छ । खरेल अहिले बानेश्वर प्रहरीको निगरानीमा छन् ।

बलात्कार आरोप लागेका खरेललाई अदालतबाट ७ दिनको म्याद थप गरी मेडिकल गर्न लगिएको डीएसपी काफ्लेले बताए ।

उनीमाथि बानेश्वर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप