मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँच दिनदेखि आमरण अनसनमा छन् यी नर्स, सुनिदिने कोही छैन

मङ्गलबार, ३१ वैशाख २०७६, १६ : ५७
मङ्गलबार, ३१ वैशाख २०७६

स्थान : बीपी स्मृति अस्पतालको तेस्रो तल्ला ।

वेड नम्बर ३२५ ।

वेडमा एक महिला दुवै हात सिरानीमा राखेर टुलुटुलु हेरिरहेकी थिइन् । उनीसँगैको टेबलमा स्लाइन, सुई अनि औषधिहरु राखिएको थियो ।

उनी बोल्न सक्ने अवस्था छैन । उनको आँखाबाट आँशु बगिरहन्थ्यो ।

उनी हुन् सिनियर नर्स जीता बराल ।

जीता गत वैशाख २७ शुक्रबार दिउँसो २ बजे देखि नर्सिङ संघको केन्द्रीय कार्यालयमा अनसन बस्दै आइरहेकी थिइन् । स्वास्थ्यमा समस्या आए पछि उपचारको लागि बसुन्धारास्थित बीपी स्मृति अस्पतालमा लगिएको हो । जीताको अहिले छातीमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

अनसन बसेको आज ५ दिन  पुगेको छ ।  तर, अहिलेसम्म उनको अनसनको बारेमा बुझ्न सरोकारवाला निकायका कोही आएका छैनन् ।

यस्तै शुक्रबार नै दबाबस्वरुप प्रत्यारोपण केन्द्रमा पनि नर्स डिक्की शेर्पाले अनसन सुरु गरिन् । अहिले डिक्कीको स्वास्थ्यमा पनि समस्या देखिएको छ ।

उनलाई सुगरको समस्या देखिएको छ, ब्लडप्रेसरमा घटबड छ भने मौसमी रुघाखोकी पनि देखिएको छ । हाल उनलाई मानव अङ्ग प्रत्यारोपण केन्द्रको आकस्मिक कक्षको ४ नम्बर वेडमा अक्सिन दिएर राखिएको छ । डिक्की प्रत्यारोपण केन्द्र स्थापना भएदेखिनै कार्यरत नर्स हुँन् ।

किन अनसन बसिरहेका छन् नर्सहरु ?

यस्ता छन् मागहरुः

—प्रत्यारोपण केन्द्रका नर्सहरुले समयमै तलब दिनुपर्ने ।

—ठेकेदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने ।

—सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने ।

—पुरानो कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका आधारमा ग्रेडिङ गरिनुपर्ने  ।

— पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने ।

आन्दोलनको बीचमानै लोक सेवामार्फत् आवेदन खुल्ला गरिएको छ । तर, त्यसमा पनि चिकित्सक र नर्सको मात्रै आवेदन खोल्नुमा चलखेल भएको आरोप नर्सहरुले लगाउँदै आएका छन् । नर्सहरु विगत २१ दिनदेखि आन्दोलनमा छन् ।

अस्पतालमा भएका ९६ जना नर्सको स्थानमा ९६ जना नै खुल्ला प्रतिस्पर्धाबाट ल्याउन लागेको भन्दै आफूहरुले पसिना बगाएको अस्पतालले आफूहरुको समस्या नबुझेको गुनासो आन्दोलनरत नर्सहरुको छ । 

आन्दोलनको लामो समयसम्म पनि माग सम्बोधनको लागि अस्पतालले चासो नदिँदा गएको शुक्रबारदेखि जीता र डिक्कीले अनसन सुरु गर्न बाध्य बनेका हुन् । डिक्कीले अस्पतालको ध्यानकर्षणको लागि अस्पतालमानै अनसन सुरु गरिन् भने जीताले देशभरको नर्सको समस्या सम्बोधन गर्नुपर्ने भन्दै नर्सिङको केन्द्रीय कार्यालयमा अनसन सुरु गरिन् ।

तर यी दुवै जना नर्सले उठाएका मागको सम्बोधन गर्न अहिलेसम्म न त नर्सिङ संघले ध्यान दिएको छ न त सरकारले नै चासो दिएको छ ।

नर्सिङ संघले बेवास्ता ग¥यो

नर्सको समस्या सुन्ने संस्था नर्सिङ संघले अहिले पेशाभन्दा पनि राजनितिलाई प्राथमिकता दिदा नर्सिङ पेशा धरापमा परेको आन्दोलनरत नर्सहरुको आरोप छ । नर्सिङ संघले देशभरको नर्सको हितलाई भन्दा पनि राजनितिकलाई महत्व दिदा देशभरको ८७ हजार नर्स समस्यामा परेको नर्स त्रजिना जतिले बताइन् ।  उनी भन्छिन्, ‘देशभरका नर्सहरु विभिन्न समस्याका बीचबाट पनि सेवा प्रदान गर्दा पनि नर्सिङ संघले नर्सको समस्याबारे मौन छ ।

यसरीनै बेवास्ता गर्ने हो भने नर्सिङ संघको सदस्यता खारेज गर्ने र माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने नर्सहरु बताउँछन् ।  

पहल जारी छ : संघ

यता नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले भने नर्सहरुको माग जायज भएको भन्दै माग सम्बोधनको लागि अस्पतालसँग अहिले छलफल भइरहेको बताइन् । नर्सहरुले स्थायी दरबन्दीको माग गरिरहेको समयमा अहिले दरबन्दी खुलाउनु राम्रो कुरा भएको भन्दै अध्यक्ष पोखरेलले आफू नर्सको माग सम्बोधनको लागि दैनिक बैठक गरिरहेको दाबी गरिन् ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जनरल वार्डमा एक नर्सले ६ बिरामी, आइसियू र लेबर रुममा एक नर्सले एक बिरामी, अपरेसन कक्षमा एक बिरामीलाई तीन नर्स हुनुपर्छ । तर नेपालमा अहिले एक जना नर्सले जनरलवार्डमा ४० जनासम्म बिरामी हेर्दै आइरहेका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय प्रावधान अनुसार नर्स राख्ने हो भने ३० देखि ३५ हजार नर्स आवश्यक पर्छ । तर, अहिले सरकारी स्वास्थ्य संस्थामा १० देखि १२ हजार मात्र नर्स कार्यरत छन् । यसले गर्दा देशभरको नर्समा समस्या देखिएको अध्यक्ष पोखरेलको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप