शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विभेदविरुद्ध उभिएकी एउटी युवती

मङ्गलबार, ३१ वैशाख २०७६, ०८ : ५८
मङ्गलबार, ३१ वैशाख २०७६

एक्कासि मोबाइलमा घन्टी बज्यो । फोनमा उही परिचित आवाजले निम्तो दियो– ‘मनिकरजी हामी अहिले नेपाल–भारत सीमाको पूर्वी नाकाको मेची पुलमा आइपुगेका छौँ । भोलि हाम्रो पदयात्रा समापन कार्यक्रम हुँदैछ, तपाईं जसरी पनि आउनुपर्यो ।’ टेलिफोनको परिचित आवाज थियो सामाजिक अभियन्ता रीता परियारको । रीतासहित होमराज आचार्य र अशोक दर्नालको टोलीले करिब दुई महिनादेखि जारी रहेको महाकालीदेखि मेचीसम्मको पदयात्रा सम्पन्न गर्दैथियो । यो आफैँमा एउटा महत्त्वपूर्ण परिघटना हो । दुःख, कष्ट र पीडालाई छिचोल्दै दुई महिनासम्मको एक हजार २४ किलोमिटरको पदयात्रा आफैँमा दुस्साहसपूर्ण कदम हो । यो कठिन र पीडादायी यात्रा सम्पन्न गरेकोमा सबै पदयात्रीहरुलाई बधाई ।

जातीय छुवाछूत र विभेद अन्त्यका लागि भन्दै झण्डै दुई महिनादेखिको पैदलयात्रा नेपालको पूर्वी सीमाना मेचीनगरमा समापन हुँदै थियो । काठमाडौँमै रहे पनि समय व्यवस्थापन गर्न नसक्दा पङ्क्तिकारले समापन कार्यक्रममा सहभागिता जनाउन सकेन । यद्यपि पङ्क्तिकारले सो टोलीलाई एक महिनाअघि बुटवलमै साक्षात्कार गर्ने अवसर पाएको थियो । सायद नेपालमा कुनै सामाजिक मुद्दालाई लिएर गरिएको यो नै अहिलेसम्मको लामो पदयात्रा हुनुपर्छ । जातीय छुवाछूत र सबै प्रकारको विभेदको अन्त्यका लागि नेपाल पदयात्रा २०१९ लाई सफलतापूर्वक सम्पन्न गर्नु निकै चुनौतीपूर्ण काम त छँदैथियो, यो आफैँमा एक दुस्साहसपूर्ण कदम पनि थियो नै ।

यो पदयात्राकी एक मात्र महिला पात्र हुन्, ३५ वर्षीय रीता परियार । संयोगवश उनीसँगको पहिलो भेट पनि बुटवलमै भएको थियो र पदयात्राको दौरान पनि उनीसँगको दोस्रो भेट बुटवलमै भयो । शिशिर ऋतुको अन्त्यतिरको एक साँझ उनीसँग पहिलो पटक साक्षात्कार भएको थियो । शिशिरको अन्त्यतिरको मौसम साह्रै रोमाञ्चकारी हुन्छ । अझ साँझ बिहानको वैंशालु बतासको मायालु स्पर्शले तन मनलाई नै पुनर्ताजगी बनाइदिन्छ । झन् तराई मधेसका लागि यो याम असाध्यै रोमाञ्चकारी हुन्छ । न जाडो, न गर्मी एकदमै ठिक्कको मौसम भनेकै शरद र शिशिरको अन्त्यतिर हो । शिशिरकै एक साँझ बुटवलमा उत्साहप्रद भेट भएको थियो, सामाजिक अभियन्ता रीता परियारसँग ।

उनी कुनै सेमिनारमा बुटवल आएकी थिएन् । त्यसै मेसोमा हाम्रो आकस्मिक भेट भएको थियो, बुटवलस्थित एक बुक क्याफेमा । त्यो उत्साहप्रद भेटमा धेरै कुराकानी त हुन पाएन तर उनको बौद्धिकतामिश्रित सुन्दरताले यसै पनि प्रभावित पारेकै थियो । लामो यात्राको थकानमा पनि उनको कुरा गर्ने उत्साह र जाँगर कायमै थियो । गोरो मुहारमा लामो केश राशि अनि हल्का मेकअपले मुहार उज्यालिएको थियो नै लामो समय युरोप बसेकी उनको हाउभाउ, बान्की अनि बोलीको लवज पनि आधुनिक थियो । अक्सर अङ्ग्रेजी मिसाएर बोल्ने उनको लवजमा नेपालमा केही गर्ने हुटहुटी थियो । थियो, यहाँको व्यवस्था र काम गर्दा भोग्नुपरेको सास्तीको दिक्दारी पनि ।

उनका आशा र निराशामिश्रित अभिव्यक्तिले आम युवा पुस्ताको मनोविज्ञानकै प्रतिनिधित्व गरिरहेको भान हुन्थ्यो । रीताजीसँगको पहिलो बसाइमा यस्तै राजनीतिक, सामाजिक, आर्थिक विषयमै विमर्श भयो । खासगरी सामाजिक क्षेत्रमा काम गर्न रुचि राख्ने उनको शैली आधुनिक त थियो नै विचार पनि आधुनिक नै थियो । यो थियो ती रीताको कुरा ।

संयोगवश एक महिनापछि तिनै रीतासँग सोही स्थानमा भेट भयो, गत चैत महिनाको अन्तिम साता । दोस्रो भेटमा उनी बिल्कुल फरक थिइन् । उनी फरक मात्र थिइनन्, उनको उद्देश्य पनि फरक थियो । उनको हुलिया पनि फरक थियो । उनको बातचित गर्ने शैली अनि प्रस्तुति सबै फरक थिए । कुनै समय अत्तरको बास्नासँगै झुल्किएकी रीता यस पटक भने बेपर्वाह एक सामाजिक योद्धको रूपमा उत्रिएकी थिइन् । एउटा सामान्य टिसर्ट अनि सुरुवाल । उनका ती लामालामा केश राशिको ठाउँमा केश ठुटो बनाइएको मुडुलो टाउको थियो । घामले डढेर रातै बनेको त्यो मुहारमा फरक किसिमको कान्ति थियो । अनि औसतभन्दा ठूला लाग्ने जुत्ता । सायद हिँड्न सजिलो होस् भनेर ठूलो साइजको जुत्ता लगाएकी थिइन् ।

अङ्ग्रेजी मिसिएको लवजमै कुरा गर्न रुचाउने उनले हाँस्दै भनिन्– ‘तपाईंलाई लागिरहेको होला मेरो यो के हुलिया हो भनेर । म अहिले फरक अभियानमा छु । समाज बुझ्दैछु । यहाँको दुःख बुझ्दैछु । यहाँको समुदायसँग घुलमिल हुँदैछु । यहाँको उत्पीडनको पीडाबोध गर्दैछु । छुवाछूतजन्य विभेदको अुनभूति गर्दैछु । त्यसैले मेरो विगतको हुलिया र योबीच प्रतीकात्मक रूपले फरक हुनुपर्छ । म अहिले एक सामाजिक अभियन्ता हुँ ।’

विदेशका अनुभूति बाँड्दै युवापुस्तालाई उत्प्रेरणा दिने ती रीता र यी महिना दिनसम्म लगातार हिँडेर झण्डै ५ सय किलोमिटर पैदलयात्रा गरेर पैतालामा फोहोरा पार्दै सामाजिक आन्दोलनमा लागेकी रीताबीच अतुलनीय फरकपन देखिन्थ्यो । यी रीतामा असीम आत्मविश्वास र ५०० किलोमिटर धर्तीलाई आफ्नै पैतालाले स्पर्श गरी भुइँतहमा देखिने विभेदको पीडा सुन्दै र अनुभूति गर्दै हिँड्ने रीता निकै फरक देखिन्थिन् ।

अनौपचारिक शैलीमा आफ्ना अनुभूति सुनाउँदै भनिन्– मलाई लाग्थ्यो, आजको २१औँ शताब्दीमा छुवाछूत र जातीय विभेद हुने कुरै रहँदैन । यो केवल राजनीतिक उद्देश्य पूर्तिका लागि उठाइने मुद्दा मात्र हो । म आफैँ लामो समय युरोप बसेँ । जीवनमा उत्पीडनको खासै अनुभूति पनि गरिनँ । मलाई लाग्थ्यो– विभेद भन्ने कुरा कहाँ छ ? हामी सबै सँगै त छौँ । सबै समानै त छौँ तर यो पदयात्रामा उत्रिएपछि थाहा पाएँ दृश्य त अर्कै रहेछ । फिल्डमा उत्रिएपछि मेरा सबै भ्रमहरु चिरिएका छन् । मान्छे मान्छेबीचको विभेद र छुवाछूतको जरो त यति बलियो रहेछ कि त्यो सीतिमिति काटिने देखिएन ।

अहिलेको २१औँ शताब्दीको समाजमा पनि अझै जातीय छुवाछूत छ भन्दा कतिपयलाई अविश्वास पनि लाग्न सक्छ । तर यो यथार्थ हो । ती पैदलयात्रीहरुको पीडाजन्य अनुभव छ– नेपालमा छुवाछूत त झनै झाँगिएको देखियो । तर यो दृश्यबाट अझै पनि लज्जाबोध नगर्ने समाजको संवेदनाहीनता देख्दा उदेक लाग्छ । केही समयअघि रूपन्देही जिल्लाको सुद्धोधन गाउँपालिकामा गैरदलितहरुको एक समूहले दलितको घरमा बिहेको निम्तो मान्न जाँदा सामूहिक रूपमै खाना नखाएकाले उनीहरुको दक्षिणा नै फिर्ता दिइएको घटना सार्वजनिक भएको थियो । पछि दुवै पक्षबीच छुवाछूतजन्य विभेद नगर्ने र सहभोजको आयोजना गर्ने सहमति भएको सुनियो ।

विश्व कहाँ पुगिसक्यो हामीभने अझै त्यही छुवाछूतकै मुद्दामा अल्झिरहेका छौँ । आखिर किन ? किन हामीलाई यसले पोल्दैन ? के अझै पनि हाम्रा होनाहार युवा पुस्ताले छुवाछूतको अन्त्यका लागि भन्दै कष्टसाध्य पदयात्रा गरिरहनुपर्ने हो ? आखिर यो कहिलेसम्म ? हामीले मानवीयता किन गुमाइरहेका छौँ ? यो कस्तो संस्कार र संस्कृति हो, जसले मानवलाई जनावरभन्दा तल्लो श्रेणीमा राखिरहेको छ ?

यसो हेर्दा छुवाछूत र जातीय विभेद सामाजिक समस्या जस्तो देखिन्छ । समाजमा चेतनाको कमीकै कारण यस्तो व्यवहार भएझैँ लाग्छ । अनि यसलाई सामाजिक मुद्दाकै रूपमा हेर्ने गरिएको छ । तर यो केवल सामाजिक मुद्दा मात्र हैन रहेछ । आखिर २०१९ सालमै छुवाछूत र जातीय विभेदको अन्त्यको घोषणा गरियो । राज्यले संविधान र कानुनमा छुवाछूतको अन्त्य गरिसकेको छ । तर समाजमा व्यवहारमा राज्यले नै कतिपय अवस्थामा छुवाछूत गरिरहेझैँ प्रतीत हुन्छ । त्यसकारण यो सामाजिक समस्या मात्र होइन । यो राजनीतिक समस्या हो । आर्थिक समस्या हो । सत्ताले नै यस्ता विभेदजन्य संस्कृतिको पक्षपोषण गरेर आफ्नो शासकीय मनोकाङ्क्षा पूरा गर्ने गर्छ ।

जातीय विभेद र छुवाछूत आर्थिक एवं राजनीतिक मुद्दा हो । ठूला ठूला सत्ताधारी राजनीतिक पार्टीहरु छन् । समाजको भुइँतहसम्म तिनका सङ्गठनहरु छन् । हरेक व्यक्ति तिनका मतदाता हुन् । यदि उनीहरुले चाहेको खण्डमा आफ्ना मतदातालाई छुवाछूतको अन्त्यका लागि एकै झमकमा स्कुलिङ पनि गर्न सक्छन् । राजनीतिक जागरण पैदा गर्न सक्छन् । तत्काल सामाजिक र सांस्कृतिक सुधारका अभियान सञ्चालन गर्न सक्छन् । नागरिक तहसम्म चेतना फैलाउन सक्छन् । आखिर यी सबै गर्ने राजनीतिक दलहरुको जिम्मेवारी र कर्तव्य पनि हो । समाज बदल्ने, समाज सुधार्ने अनि नागरिकलाई चेतनशील बनाउने काम राजनीतिक दलहरुको पनि हो । तर यहाँ यी गर्नुपर्ने आधारभूत काम भएको छैन । किनकि त्यसो भयो भने पारम्परिक राजनीतिको लय बदलिन्छ । राजनीति गर्ने आधार धरापमा पर्छ । यहाँ धार्मिक, सामाजिक, सांस्कृतिक कुरा अनि अभाव र गरिबीमै राजनीति फस्टाएको छ । त्यसकारण राजनीतिमै शुद्धीकरण नहुँदासम्म यी र यस्ता सामाजिक विभेदजन्य व्यवहार निर्मूल हुँदैन ।

छुवाछूत वास्तवमा मानवता विरोधी कुरा हो । त्यसैले यसको अन्त्यका लागि सामाजिक अन्तरघुलनसँगै उत्पीडकहरुबाटै अन्तरघुलनको अभियान सुरु हुनुपर्छ । अन्य समुदायबाटै यसको उठान हुनुपर्छ । साथै शास्त्रीय रूपमा पनि यसको सुरुवात कसरी भयो ? र किन गरियो ? त्यसको कारण खोजेर समाधान गर्नुपर्छ । विभेद र छुवाछूतसँग राज्यको व्यवहार र उदासीपन पनि जोडिएर आउँछ । यसको पछाडि सत्ताले गरेको विभेद नै मुख्य हो । वैधानिक सत्ताले निर्माण गरेका धार्मिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक सत्ताले विभेदलाई संस्थागत गरिरहेको छ । यसर्थ, यसको समाधानका लागि सत्ताकै पुनर्संरचना अपरिहार्य देखिन्छ ।

उत्पीडित समुदायहरु दोहोरो उत्पीडनमा छन् । राज्यको उत्पीडन त छँदैछ, पछिल्लो समयमा त्यही समुदायका टाठाबाठाले पनि नयाँ खालको उत्पीडन गरिरहेका छन् । उत्पीडित समुदायलाई प्रयोग गरी राजनीतिक लाभ लिने यस्तो गलत प्रवृत्तिले समस्याको दीर्घकालीन समाधानभन्दा पनि राजनीतीकरणलाई नै बढावा दिइरहेको छ । कतिपयलाई लागिरहेको छ कि छुवाछूत छ र न छुवाछूतविरुद्ध विभिन्न कार्यक्रमहरु चलिरहेका छन् । विचार गोष्ठी इत्यादि भइरहेका छन् । अझ धेरै अधिकारकर्मीहरुको रोजगारी चलिरहेको छ । कसैको राजनीतिक र सामाजिक क्यारियर सुरक्षित छ । जातीय विभेदको अन्त्यको कुरा गर्दैगर्दा अब यी र यस्ता गलत प्रवृत्तिको पनि अन्त्य अपरिहार्य छ । आशा गरौँ रीता परियारको परिवर्तित हुलियाले हाम्रो सामाजिक संस्कृति पनि परिवर्तन गर्नेछ र एक दिन हामी मानवीयतालाई उच्चाशनमा राखेर व्यवहार गर्नेछौँ ।

(तस्बिरहरु रीता परियारको फेसबुकबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनिकर कार्की निवर्तमान
मनिकर कार्की निवर्तमान

Twitter : @nibartaman

[email protected]

लेखकबाट थप