मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रादेशिक बस सेवा सञ्चालन गरिनेछ : मुख्यमन्त्री भट्ट

सोमबार, ३० वैशाख २०७६, १९ : ३७
सोमबार, ३० वैशाख २०७६

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यापार गर्न नभई जनतालाई सेवा दिन प्रदेश सरकारले प्रदेश बस सेवा सञ्चालन गर्न लागेको बताएका छन् । 

प्रदेशमा बस सेवा सञ्चालन गर्नका लागि हाल भइरहेको अध्ययनका क्रममा सरोकारवालाहरुसँग सुझाव लिन आज यहाँ आयोजित अन्तरक्रियामा मुख्यमन्त्रीले प्रदेश बस सेवा सञ्चालनमा सहयोग पु¥याउन सरोकारवालासँग आग्रह गरे ।

नयाँ काम शुरु गर्नुअघि केही जटिलता हुनु अस्वाभाविक नभएको भन्दै उनले बस सेवा सञ्चालन पूर्व प्रदेशका सडक, हाल सञ्चालनमा रहेका यातायातको समग्र अवस्था, सामाजिक र आर्थिक पाटोलाई समेत गम्भीर रुपमा अध्ययन विश्लेषण गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘एकल, प्राधिकरण वा साझेदारी जुनसुकै ढाँचामा भए पनि बस सेवा शुरु गर्नुपर्छ ।’  

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले बस सञ्चालनको विधि प्रक्रियालगायत विषयमा स्पष्ट हुनुपर्ने बताए । 

भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बस सेवा सञ्चालनका लागि आवश्यक तयारी मन्त्रालयले गरिरहेको जानकारी दिए । 

कार्यक्रममा उद्योग, पर्यटन, वन, वातारवरणमन्त्री माया भट्ट, प्रमुख सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सञ्चारकर्मी लगायतले पनि आफ्नो सुझाव दिएका थिए । 

प्रादेशिक बस सेवा सञ्चालनका लागि हाल अध्ययन गरिरहेको ग्रिड कन्सल्टेन्सी प्रा लिका टोलीप्रमुख डा प्रदीपकुमार श्रेष्ठले अध्ययन कार्यबारे जानकारी दिए । 

प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश बस सेवा सञ्चालनका लागि रु २० करोड बजेट विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप