बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१३ औं साग खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

सोमबार, ३० वैशाख २०७६, १६ : ४६
सोमबार, ३० वैशाख २०७६

काठमाडौं– सरकारले ‘१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको हो । सो प्रतियोगिताको कामलाई तीव्रता दिने गरी लोगो सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए ।

कलाकार भोलानाथ पौडेलले तयार पार्नु भएको सो लोगोमा राखिएको परेवाको आकृति र त्यसमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँदछ भने त्यसको पृष्ठभूमिमा राखिएको सोही रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँदछ । लोगोमा सार्क राष्ट्रहरुको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ । मन्त्री विश्वकर्माले सो प्रतियोगिताको पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको बताए । 

सरकारले सो खेलकुद प्रतियोगिताका लागि करिब ४ अरब खर्च लाग्ने अनुमान पनि गरेको छ । करिब ४ अरब खर्च सो प्रतियोगितामा लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । सो बजेटको व्यवस्थापनका लागि परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाको संयोजकमा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

सरकारले सो प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिसकेको छ । त्यस अन्तरगत रहने गरी अरु पनि विभिन्न समिति गठन गरिएको र सो प्रतियोगिताको कामलाई तीव्रता दिइएको युवा तथा युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप