केन्द्रीय संस्करण
विचार

पुष्पलाल नै समस्याका जड हुन्

person explore access_timeबैशाख ३०, २०७६ chat_bubble_outline0

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको सत्तरी वर्ष भएको छ । पुष्पलाल समेतका चार (पाँच ?) जनाले स्थापना गरेको यो पार्टी प्रचण्ड बहुमतका साथ अहिले सत्तामा छ । फुट र विभाजनको मार्गबाट गुज्रँदै यहाँसम्म आइपुगेको यो पार्टी आज पनि आधादर्जन बढी समूहमा विभाजित छ । विभाजनको यो रोग स्थापनाकालदेखि नै थियो । राणशासनको अन्तिम अवस्थातिर भारतीय भूमिमा गठन भएको कम्युनिस्ट  पार्टीप्रति नेपालमा आज पनि गजबको आकर्षण छ । आकर्षक नारा, चर्का भाषण र विपक्षीको दोहोलो काढ्ने कला भएका नेता कार्यकर्ताका कारण नेपाली राजनीतिमा आज पनि कम्युनिस्ट ट्रेडमार्कको माल राम्रोसँग बिक्री भइरहेको छ ।

विश्व व्यापीकरण, खुलाबजार अर्थनीति र प्रतिस्पर्धात्मक प्रजातान्त्रिक पद्धति, जीवनशैली बनिसकेको समयमा झण्डै–झण्डै रुढीवादकै हदसम्म कठोर, कठमुल्लावादी र एकदलीय तानाशाही प्रणालीमा विश्वास राख्ने कम्युनिस्टको नाम भजाएर राजनीतिक दुनो सोझ्याउन सम्भव भइरहेको छ । तर सही अर्थमा कम्युनिस्ट दर्शनमा आधारित आदर्श र सिद्धान्तबाट अनुप्राणित शक्तिको भने अभाव छ । सरकारमा पनि कम्युनिस्ट नामधारी पार्टी नै हुनु र सडकको प्रतिपक्ष पनि कम्युनिस्ट नै हुनुलाई बिडम्बनाका रूपमा स्वीकार गर्नुपर्ने वास्तविकता बनेको छ ।

शक्ति प्रयोगको उपायबाट राज्यसत्ता कब्जा गर्ने कम्युनिस्ट सिद्धान्तलाई अपनाएर अघि बढिरहेको सत्तारुढ दलकै नामको एउटा प्रभावशाली समूह अहिले सरकारका लागि चुनौती बन्न पुगेको छ । राजनीतिक उपायबाट त्यो चुनौतीलाई सामना गर्न नसकेपछि सरकार अहिले फौजी शक्ति उपयोग गर्न अग्रसर भएको छ । सरकारमा जाने र प्रतिपक्षमा बस्ने, सत्ता सञ्चालनको बागडोर सम्हाल्ने र त्यसलाई ध्वस्त पार्ने अभियान चलाउने शक्तिको जरो भने एउटै हो । वि.सं. २००६ सालमा पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीकै सन्तानका रूपमा आज सरकार चलाउने, सरकारकै अनुचित कदमको विरोध गर्ने र हतियारकै बलमा त्यसलाई उडाउन चाहने शक्तिले आफ्नो अस्तित्व थामिरहेका छन् ।

आज नेपाल कम्युनिस्ट पार्टीभित्र कम्युनिस्ट सिद्धान्त, नीति कार्यक्रमको सम्बन्धमा जुन अन्तरविरोध छ, जुन वादविवाद र मतभेद छ, यो रातारात पैदा भएको होइन । यसको उद्गमविन्दु पार्टी स्थापनाकाल नै हो । यद्यपि आज विश्वकम्युनिस्ट आन्दोलन विघटन भइसकेको छ । क्रान्तिकारिता प्रभावशून्य भएको छ । तेस्रो विश्वका एकाध मुलुकमा छिटफुट गतिविधि देखिएका छन् । त्यहाँ शुद्धता र भड्कावको सम्बन्धमा सामान्य मतभेद पनि देखिन्छ । तर विकसित र औद्योगिक उन्नति भएका मुलुकमा अब कम्युनिस्ट पार्टीको अस्तित्व समाप्त भइसकेको छ । कतिपयले त्यसलाई औचित्य समाप्त भइसकेको अर्थमा पनि लिएका छन् । अहिले दुनियाँको हतियार, सेना, विद्रोहको ठेक्का आतङ्ककारीको हातमा पुगेको छ । कुनै समय मुक्ति आन्दोलनको पर्याय बनेका कम्युनिस्टहरू कम्युनिस्टकै रूपमा आफ्नो अस्तित्व बचाउन असमर्थ भएका छन् ।

कम्युनिस्ट फिलोसफी पढेका, बुझेका र सम्पर्क अलि व्यापक रहेकाहरूलाई पुष्पलालले पार्टी स्थापना भेलामा खबर नै नगर्नुको रहस्य आजसम्म खोतल्ने काम भएको छैन । त्यसो गर्दा सत्यतथ्य बाहिर आउँछ, पुष्पलालको आलोचना हुन्छ र उनको मर्यादामा आँच आउँछ भन्ने भ्रम छ । त्यो ठम्याइ कम्युनिस्ट सिद्धान्त विपरीत छ । त्यसले आन्दोलनलाई धराशायी बनाउन भूमिका खेलेको छ । कम्युनिस्टहरू बढी कर्मकाण्डी हुन्छन् । उनीहरू कर्मकाण्डमा विश्वास राख्छन्, व्यवहारमा होइन ।

नेपालमा कम्युनिस्टको नाम भजाएर साम, दाम, दण्ड भेदको नीति अपनाएर सत्तामा पुग्ने गरेको पनि झण्डै साँढे दुई दशक बित्न लागेको छ । यसबीचमा अनियमितता, भ्रष्टाचार, बेथिति, विकृति बढाउनमा सत्ताको दुरूपयोग गरेर व्यक्तिगत र पारिवारिक लाभ हासिल गर्नमा नै उसले आफ्नो सारा शक्ति खर्च गर्यो । त्यस प्रवृत्तिको त्यहीँभित्रबाट र बाहिरबाट पनि बारम्बार चर्को विरोध भइरह्यो । तर त्यसप्रति सत्ताधारी कम्युनिस्टहरूले खासै चासो देखाएनन् । अहिले त सत्तामा रहेका तथाकथित कम्युनिस्ट नेताहरू आलोचना, विरोध र असहमतिलाई आफूले ‘गरिखाएकोमा डाहा गरेको’ अर्थमा लिन थालेका छन् । आलोचनाप्रति कठोर बन्दै गएका छन् । यसबाट कस्तो परिणाम निस्कन्छ भन्ने चिन्ता न तिनलाई सिंहासनको यात्रामा साथ दिनेहरूमा देखिन्छ, न सिंहासन जोगाउनु पर्नेहरूमा नै । सिंहासनमोहले अन्धो बनेका शासकका कारण कम्युनिस्ट आन्दोलन बद्नाम भयो भन्ने चिन्ता राख्ने एउटा शक्ति आज पनि जीवित छ । उसको चिन्ता बारम्बार व्यक्त पनि भएको छ । तर त्यो खोलाको गीतझैँ प्रभावहीन देखिएको छ ।

सिद्धान्त, नीति, विधि र प्रक्रियाको विवादमा उल्झन चाहनेलाई चिल्ला गाडी, आलिशान महल र राजशी सुविधाले हास्यास्पद बनाइदिएको छ । अब सिद्धान्तको बहस चलाएर तिनमा देखिएको भड्काव हटाएर तिनलाई सही बाटोमा फर्काएर ल्याउने कोशिसलाई मूर्खता शिवाय अरू केही भन्न सकिँदैन । तिनीहरू कम्युनिस्ट दृष्टिकोणबाट हेर्दा पूर्ण रूपले पतन भइसकेका छन् । पतन भइसकेको शक्तिलाई पुनः जीवन दिन सक्ने सामथ्र्य यो दुनियाँमा कसैसँग पनि हुँदैन । यति गर्न सकिन्छ, आन्दोलनलाई जोगाउन, अघि बढाउन र सफल गराउन यस्ता भडकाउको सुरुवात कसरी भयो ? कुन भूलले यो मौलायो ? र सारा आन्दोलनलाई नष्ट पारिदियो भन्ने समीक्षा गर्न सकिन्छ । समीक्षा निर्मम, तथ्यपरक र पूर्वाग्रहरहित ढङ्गले गरिनुपर्छ । कसैको मानमर्दन गर्ने, अवमूल्यन गर्ने, कसैलाई अति मूल्याङ्कन गर्ने र अनावश्यक रूपले उठाउने दृष्टिले हुनु हुँदैन । यथार्थमा आधारित तथ्यपरक मूल्याङ्कनले भविष्यमा मार्ग स्पष्ट हुनसक्छ ।

त्यो गर्नका लागि हामी फर्केर यसको स्थापनाकाल अर्थात २००६ सालमै पुग्नु आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना निर्विवाद छैन । यो पार्टीको स्थापना नेपालमा साम्यवादी आन्दोलन उठाउने, नेपाली जनतालाई दासताको चङ्गुलबाट मुक्त गराउने र स्वतन्त्र गराउने उद्देश्यले भएको होइन । यसको स्थापना असफल र निराशहरूको सानो समूहले आफ्नो निहित स्वार्थपूर्तिका लागि गरेको देखिन्छ । नेपाली काँग्रेसका केन्द्रीय कार्यालय सचिव पुष्पलालको नेतृत्वमा खुलेको नेपाल कम्युनिस्ट पार्टीको सैद्धान्तिक जग नै कमजोर देखिन्छ । काँग्रेस पार्टी सभापति पदका दुई लालची विश्वेश्वरप्रसाद कोइराला र डिल्लीरमरण रेग्मीबीचको पदको झगडा मिलाउन नसकेपछि दिक्क भएर पुष्पलालले कम्युनिस्ट पार्टी गठन गरेका हुन् । हुन त उनले कम्युनिस्ट पार्टी गठन गर्नुअघि नै कम्युनिस्ट मेनिफेस्टो नेपालीमा अनुवाद गरिसकेका थिए । उनलाई साम्यवादी दर्शनको सामान्य ज्ञान अवश्य नै भइसकेको हुनुपर्छ । कम्युनिस्ट पार्टीको स्थापनामा पनि नेपाली काँग्रेस झैँ षडयन्त्र, पदलोलुपता, व्यक्तिगत स्वार्थ र चरम महत्त्वकाङ्क्षाको रोगबाट मुक्त नरहेको स्पष्ट देख्न सकिन्छ ।

पुष्पलाललाई आफू नेता बन्ने रोगले गाँजेको देखिन्छ । नेता बन्ने सम्भवनालाई सफल पार्न उनले स्थापना भेलामा आफूले भनेको मान्ने, आफूले विश्वास र भरोसा राख्न सक्ने तीनजना अरू व्यक्ति ती पनि काठमाडौँ उपत्यकाका नेवारलाई मात्र भेला गराए । भेलापछि उनले प्रकाशित गराएको पर्चामा पनि कम्युनिस्ट दृष्टिकोणको छनक भेटिँदैन । उनले नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जनगोविन्द वैद्यलाई लिएर पार्टी स्थापना गर्दा भारतीय कम्युनिस्ट नेता अयोध्याप्रसाद सिंहको उपस्थिति छ तर माक्र्सवादी अध्ययन केन्द्र खोलेर बसेका र कलकत्तामै अध्ययन गरिरहेका केशरजङ्ग रायमाझीलाई बोलाइएको छैन । माइलाबाजे भनिने रत्नलाल ब्राह्मणको प्रभावबाट कम्युनिस्ट बनिसकेका मनमोहन अधिकारीलाई पनि निमन्त्रणा छैन । डीपी अधिकारी, शैलेन्द्रकुमार, महेशकुमारहरूलाई खबर छैन ।

कम्युनिस्ट फिलोसफी पढेका, बुझेका र सम्पर्क अलि व्यापक रहेकाहरूलाई पुष्पलालले पार्टी स्थापना भेलामा खबर नै नगर्नुको रहस्य आजसम्म खोतल्ने काम भएको छैन । त्यसो गर्दा सत्यतथ्य बाहिर आउँछ, पुष्पलालको आलोचना हुन्छ र उनको मर्यादामा आँच आउँछ भन्ने भ्रम छ । त्यो ठम्याइ कम्युनिस्ट सिद्धान्त विपरीत छ । त्यसले आन्दोलनलाई धराशायी बनाउन भूमिका खेलेको छ । कम्युनिस्टहरू बढी कर्मकाण्डी हुन्छन् । उनीहरू कर्मकाण्डमा विश्वास राख्छन्, व्यवहारमा होइन । आलोचना र आत्मालोचना प्रत्येक बैठकको एजेन्डा हुन्छ । तर हिम्मतसाथ कुनै  नेताको आलोचना भएको, नेताले आत्मालोचना गरेर सुध्रिएको उदाहरण भेटिँदैन ।

पुष्पलाल नजानिँदो हीतनाबोधको रोगको शिकार भएको देखिन्छ । उनले काँग्रेस छाडेर कम्युनिस्ट पार्टी खोल्दा आवश्यक तयारी नगर्नु र बुझेका, काम गर्न सक्ने, नेतृत्व लिनसक्ने व्यक्तिलाई थाहा नदिनुको कारण थियो, महासचिवको पद । यदि उनले पढेलेखेका, बुझेका व्यक्तिलाई खबर गरेको भए उनी संस्थापक महासचिव हुने सम्भावना कम रहन्थ्यो । त्यसको एउटा अकाट्य प्रमाण हो,  महाधिवेशनअघि नै उनलाई महासचिवबाट हटाउनु । क्यारिरिस्टक चरित्रको नेपाली राजनीति चाहे, राणा शासक हुन्, चाहे काँग्रेस हुन् वा कम्युनिस्ट सबैले सबभन्दा पहिले आफ्नो पद सुरक्षित गराउन खोजेको देखिन्छ । प्रधानमन्त्री देवशमशेर ‘कु’ घटना, जुद्धशमशेर अवकाश घटना, पद्म शमशेर गद्दी त्याग, बीपी, डिल्लीरमण द्वन्द्व र नेपाल कम्युनिस्ट पार्टी स्थापना घटनामा एक खालको सुरक्षित पद हासिल गर्ने प्रवृत्ति देखिन्छ ।

पार्टी स्थापनाकालमा भएको भूल तुरुन्तै सच्याएको भए आज यो विकृति आउने थिएन । अहिले नाम जे राखे पनि पार्टी खोल्नु, राजनीति गर्नुलाई अपराधको रूपमा लिन थालिएको छ । यो स्थिति किन आयो, यसलाई कसरी हटाउन सकिन्छ, त्यतातिर युवापुस्ताको ध्यनआकृष्ट हुन जरुरी छ ।

प्रवासमा गठन गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको मिति र संस्थापक सदस्यको सम्बन्धमा पनि अनावश्यक विवाद गरिँदै आएको भेटिन्छ । अहिले नेपाल मजदुर किसान पार्टीबाहेक अरू कम्युनिस्ट पार्टीले पुष्पलाललाई आफ्नो पार्टीको संस्थापक मान्ने गरेका छन् र पार्टी स्थापना दिवस किन त २२ अप्रिल कि १५ सेप्टेम्बरलाई मान्छन् । २६ डिसेम्बरमा स्थापना भएको झापाली मालेले समेत पुष्पलाललाई संस्थापक नेता मानेको इतिहास छ । तर पुष्पलाल स्वयंले दाबी गरेको स्थापना दिवस र संस्थापक सदस्यका सम्बन्धमा अझै विवाद छ । पुष्पलाल १५ सेप्टेम्बरलाई स्थापना दिवस मान्छन्, अहिलेका धेरैजसो कम्युनिस्ट पार्टी २२ अप्रिललाई । पुष्पलालले मोतीदेवी श्रेष्ठको नाम पनि संस्थापक सदस्यमा राखेका छन् तर अरू तीन संस्थापकले वक्तव्य नै जारी गरी पुष्पलाल, नरबहादुर, निरञ्जनगोविन्द र नारायणविलाश मात्र संस्थापक रहेको र २२ अप्रिल नै स्थापना दिवस रहेको दाबी गर्छन् । यो विवाद नै वास्तवमा नेपाली कम्युनिस्ट आन्दोलनको विवादको प्रस्थान विन्दु हो । पछि पुष्पलाल, मनमोहनको व्यक्तित्वको टकराव, पदका लागि लुछाचुँडी हुँदै नेपाल कम्युनिस्ट पार्टी विभाजनको डरलाग्दो दलदलमा फस्यो । यहाँसम्म कि व्यक्तिपिच्छेका पार्टी भए । जसरी पुष्पलालको पार्टी स्थापनामा योगदान छ, त्यसैगरी विभाजनमा पनि उनकै भूमिका छ भन्ने गरिन्छ । हुन त पुष्पलालले कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेकै ताका काठमाडौँमा गङ्गालाल हलुवाइको अगुवाइमा लाल कम्युनिस्ट पार्टी खुलेको प्रसङ्ग पनि आउँछ । तर पछि त्यो समूहले आफ्नो अस्तित्व बचाउन सकेन ।

यसरी आज चरम विवादमा रहेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै विकृति, विसङ्गतिग्रस्त र अन्तद्र्वन्द्वको शिकार भएको देखिन्छ । शुद्धताका अनेक डिङ हाँक्ने नेताहरू आफू पद र प्रतिष्ठा (पछिल्लो समय पैसाको पछि कुदेको समेत)का लागि मरिमेट्ने गर्छन् । आजका काँग्रेस, कम्युनिस्टले बोकेको विकृतिको प्रारम्भ पार्टी स्थापनाकालदेखि नै सुरु भएको हो । पदका लागि बीपीले मापदण्ड कसरी बदले भन्ने कुरा मातृका कारबाही प्रकरण र २०१६ सालको सरकार निर्माणपछि पार्टी सभापति र प्रधानमन्त्री पद नछोड्नुले पनि प्रष्ट पार्छ । जनतासम्म राजनीति पुर्याउन योगदान गर्ने कम्युनिस्ट र काँग्रेसका मूल नेतृत्वमा रहेको यो नियतमाथिको खोट वा कमजोरीको वस्तुसम्मत आलोचना नहुनु र यथासमय यसलाई हटाउन प्रयास नगर्नु नै आजको डरलाग्दो अवस्था आउनुको जिम्मेवार कारण हो ।

अझ पुष्पलाललाई देउता मान्ने, उनको आलोचनालाई पचाउन नसक्ने एउटा पक्ष र उनका सकारात्मक पक्षलाई पूर्णतः अनदेखा गर्ने अर्को पक्ष नेपाली कम्युनिस्ट आन्दोलनमा धमिरा लगाउने कारण हुन् । आलोचनाले कसैलाई हानि गर्दैन भन्ने मान्यता छ । आफ्नो पक्ष, आफन्त भनेर आलोचना मुक्त गर्नु गम्भीर गल्ती हो । त्यसले कालान्तरमा बिनाश निम्त्याउँछ ।

चिनियाँ क्रान्तिका नेता माओत्सेतुङले ‘उदारवादको विरोध गर’ भन्ने रचनामा स्पष्ट लेखेका छन् । गलत कामको छुट न प्रिय कार्यकर्ता भनेर, न आदरणीय नेता भनेर, न साथी भनेर न आफ्नो मान्छे भनेर नै दिन सकिन्छ । त्यस्तो छुटले पार्टीलाई ध्वस्त पार्छ र क्रान्ति असफल हुन्छ भन्ने उनको ठम्याइ छ । तर समूह, उपसमूहमा विभाजित कम्युनिस्टहरू आफ्नो नेतालाई मसिहा भन्ने ठान्छन् र आलोचनामुक्त गराउने प्रयास गर्छन् ।

पार्टी स्थापनाकालमा भएको भूल तुरुन्तै सच्याएको भए आज यो विकृति आउने थिएन । अहिले नाम जे राखे पनि पार्टी खोल्नु, राजनीति गर्नुलाई अपराधको रूपमा लिन थालिएको छ । यो स्थिति किन आयो, यसलाई कसरी हटाउन सकिन्छ, त्यतातिर युवापुस्ताको ध्यनआकृष्ट हुन जरुरी छ । युवा पुस्ताले इतिहासको सही मूल्याङ्कन गर्ने साहस गर्नुपर्छ । आँखा चिम्लिएर गरेको समर्थन र विरोधले कसैको हित गर्दैन । त्यस उपायबाट निजी स्वार्थ र महत्त्वाकाङ्क्षा पूरा गर्न त सम्भव होला तर जनता र देशलाई त्यसबाट ठूलो क्षति पुग्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...