बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साझा प्रकाशनको रडाको

आइतबार, २२ साउन २०७४, १२ : ०८
आइतबार, २२ साउन २०७४

लीला लुइटेल


साझा प्रकाशन अधिकांश नेपाली लेखकहरूको आस्थाको केन्द्र हो र यस आस्थामा आँच आउनु हुँदैन भन्ने दृष्टिकोण पनि अधिकांश साहित्यकारमा रहेको हुनुपर्छ । केही समययतादेखि साझा प्रकाशनबनरे चर्चापरिचर्चा व्यापक रूपमा हुनथालेको छ । यस क्रममा नेपाली साहित्यलाई माया गर्ने व्यक्ति एवं साझाको सेयर सदस्यका हैसियतले आफ्ना धारणाहरू राख्नु अतिशयोक्ति हुँदैन । 


अहिले साझाको चर्चापरिचर्चामा उठेको मूल सन्दर्भ आर्थिक अनियमितता, भ्रष्टाचार र विदेश भ्रमण रहेको छ । आर्थिक अनियमितता र भ्रष्टाचारबारेको विषयले अहिले संसद्मा पनि प्रवेश पाएको छ । अहिले नेपालका हरेक क्षेत्रमा भ्रष्टाचारसम्बन्धी कुरा प्रशस्तै सुनिन्छन् । कुनै पनि संस्थाको आर्थिक अनियमितता एवं भ्रष्टाचारप्रति अनुमानका भरमा कसैलाई आरोप लगाउनुभन्दा गम्भीरतापूर्वक ढङ्गले लेखापरीक्षण तथा अन्य प्रशासनिक पक्षहरूको छानबिन गरी सार्वजनिक रूपमा जानकारी गराइने कुरा सबैले आश गरौँ । 


अर्को कुरा साझाका पदाधिकारी एवं सञ्चालक सदस्यहरूको विदेश भ्रमणको सन्दर्भ अहिले अत्यन्त चर्चित रहेको विषय हो । उहाँहरू विदेशमा नेपाली साहित्यको बजार विस्तार गर्न जाने रे ∕ नेपाली साहित्यको विस्तार अन्तर्राष्ट्रिय रूपमा हुनु खुसीको कुरा हो । यस सन्दर्भमा केही चर्चा गर्नु आवश्यक देखिन्छ । 


नेपाली साहित्यको विकास र विस्तार नेपालबाहिर पनि हुनुपर्छ भन्ने कुरामा कसैको पनि दुई मत हुँदैन । बजारको खोजी गर्दा अत्यन्त झिनामसिना कुरा पनि विश्लेषण गरेर हेर्नुपर्छ भन्ने बजारशास्त्रको सामान्य सिद्धान्त हो । पुस्तकको व्यापार पनि नेपाली साहित्यको विकास र विस्तारको एउटा प्रमुख पाटो भन्ने कुरा पनि सबैले बुझेकै हुनुपर्छ । नेपाली साहित्यका पुस्तक व्यापारको दृष्टिले भारतका विभिन्न क्षेत्र निकै सहज रहेको र दूरीका हिसाबले पनि नजिकै रहेका छन् । अझ नेपाली साहित्यका पुस्तकका क्रेता भनेका नेपाली भाषासाहित्यमा उच्च अध्ययन गर्ने विद्यार्थी पनि हुन् । यस दृष्टिले हेर्दा नेपाली भाषाको उच्च अध्ययन एवं अनुसन्धानमूलक कार्यक्रम भारतका विभिन्न क्षेत्रमा हुने गरेको यथार्थ सर्वविदितै छ । शैक्षिक एवं प्राज्ञिक उन्नयनका दृष्टिले सम्बन्धित क्षेत्रको भ्रमणमा जाँदा त्यस क्षेत्रका थुप्रै विद्यार्थीले नेपाली पुस्तकको फोटोकपी आदानप्रदान गरेको यथार्थसँग म स्वयं साक्षात्कार छु । उता पुस्तक फोटोकपी गरेर पढ्नुपर्ने अनि यता त्यस्ता पुस्तक साझा प्रकाशनका गोदाममा पानी परेर ढुसी परेको, कुहिएको तथा किराले खाएर नष्ट भएको कटुअनुभव पनि रहेकै हो । अहिले पनि उताका थुप्रै साथीहरूले नेपाली साहित्यका पुस्तक किनेर पठाइदिन सहयोग मागेका कुरा मेरा मेसेन्जर बक्समा ताजै छन् । नेपाली साहित्यको बजार विस्तार भनेर विदेश भ्रमणको योजना बनाउने सञ्चालक एवं साझाको वर्तमान नेतृत्वको ध्यान खोलापारि यति नजिकै रहेको व्यापक क्षेत्र ओगटेको बजारतिर चाहिँ किन न नगएको होला भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन । अझ भारतको सिलिगुडीमा रहेको साझाको बिक्री कक्ष बन्द भएको कुरा सर्वविदितै छ ।


यस सन्दर्भमा भारतका असम, मेघालय, सिक्किम राज्यलगायतका दार्जिलिङ्का विभिन्न क्षेत्र भनेको नेपाली साहित्यमै उच्चशिक्षा हासिल गरी अध्ययनअनुसन्धानमा लाग्नेहरूको सङ्ख्या बहुल रहेको क्षेत्र हो । यस क्षेत्रका अधिकांश पाठकको स्थायी बसोबास भएकाले नेपाली साहित्यका कृतिहरू सङ्ग्रह गरेर राख्न उनीहरूलाई कुनै समस्या हुँदैन तर समुद्रपारिका विदेशी भूमिमा अनेकतिर बसाइ सर्नुपर्ने स्थितिमा उच्चतर मूल्य तिरेका र अर्काे बसाइमा पनि दैनिक रूपमा अनिवार्य चाहिने अनेक सामानसमेत सडकमा फालिदिएर हिँड्नु पर्ने अवस्था रहेको हामीले सुनेका छौँ र देखेकै पनि छौँ । यस स्थितिमा त्यस्ता पाठकले कति पुस्तक सङ्ग्रह गर्छन् भन्नेसमेत सोच नराखिएको अपरिपक्व मनस्थिति पनि देखियो । यस सन्दर्भबाट हेर्दा अन्य देशका तुलनामा दक्षिण कोरियामा बसोबास गरिरहेका नेपालीहरूले पुस्तक किनेर सङ्ग्रह गर्ने स्थिति अत्यन्त न्यून देखापर्नु अस्वाभाविक होइन । उता नेपाली साहित्यमै उच्चशिक्षाको पठनपाठन एवं अध्ययनअनुसन्धान हुने क्षेत्र एवं खोलापारि यति नजिकै रहेको स्थायी खाले बजारलाई फर्केरै नहेरी थातथलोकै सुनिश्चितता नभएको ठाउँमा ठूला जहाज चढेर बजारको खोजीमा हिँड्नु कति सान्दर्भिक हुन्छ, त्यो सबैले बुझ्नुपर्छ । यसको अर्थ विदेशमा नेपाली साहित्यको बजार विस्तार गर्न नहुने भन्ने होइन, कुनै पनि कुराको विकास एवं विस्तार सापेक्षित हुनुपर्छ भन्ने हो । 


यसो भनेर साझाका पदाधिकारी एवं सञ्चालक वर्ग विदेश भ्रमणमा गएकोमा विरोध गर्न खोजिएको पटक्कै होइन । यो समूह पहिले दक्षिण कोरिया पनि गएकै हो, त्यसपछि बेलायत पनि गयो तर यताबाट ती स्थानमा लगेका पुस्तकहरू केकति बिक्री भए र बिक्री हुन नसकेका पुस्तकहरू कसको जिम्मामा छोडेर आइएको छ, सम्बन्धित व्यक्तिले कतिसम्म जिम्मा लिइदिने हो अनि पछि पनि बिक्री हुन नसकेका पुस्तकहरूको व्यवस्थापन कसले कसरी गर्ने भन्ने कुरामा साझाले के नीति बनाएको छ ? यस्ता सन्दर्भहरू साझा प्रकाशनले कसैलाई पनि बताउन आवश्यक ठानेन अथवा बताउन चाहेन । अझ बेलायत जाँदा लगिएका अधिकांश पुस्तक साझाका नभएर व्यक्तिका भएको प्रत्यक्ष देखिएकै हो । यसरी साझाको बजार विस्तार एवं प्रवर्धनका लागि जाँदा महँगो जहाज भाडा तिरेर व्यक्तिका पुस्तक लैजानु कतिसम्म सान्दर्भिक हुन्छ यतातर्फ सम्बन्धित निकाय एवं व्यक्तिको ध्यान जानुपर्छ । 


अब जापान भ्रमणको प्रसङ्गका कुरा गरौँ । साझाका पदाधिकारी एवं सञ्चालक अन्य केही व्यक्तिलाई साथमा लिएर जापान भ्रमणको योजना बनेको रहेछ । त्यसबारे सञ्चालक समितिको निर्णय बैठकमा नभएको कुरा पनि सञ्चालक समितिकै सदस्यहरूबाट बाहिर आयो । २०७४ असार २८ गते जापानी राजदूतावासमा पासपोर्ट हातमा राखेर खिचेको फोटो र २०७४ साउन १४ गते अनेसास जापान च्याप्टरबाट प्रकाशित सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएकै हुन् । यस विषयमा चासो राखेर नागरिक दैनिकले २०७४ साउन १७ मा एउटा समाचार प्रकाशित गरेको छ । विदेश भ्रमणका विषयमा साझा सञ्चालक समिति सदस्य नेपालले महाप्रबन्धक शर्माले आफूलाई भ्रमणको प्रस्ताव गरे पनि अस्वीकार गरेको बताएका छन् । म केही समय पहिले मात्र जापान गएर फर्केको हुा, त्यसैले मैले डोलिन्द्रको प्रस्ताव अस्वीकार गरेको छु । म जान लागेको भन्ने कुरा असत्य हो भनी नेपालले भने । अर्का सदस्य शर्माले भने सुरुमा आफूलाई यस विषयमा जानकारी नभएको बताए पनि भिसा आवेदनको प्रमाण नागरिकसँग रहेको बताएपछि आफूले आवेदन गरेको तर जाने–नजाने निश्चित नभएको बताए, समाजका अध्यक्ष लेकालीले पनि नागरिकसँग कुरा गर्दै आफू साझाका सदस्यसहित जापान भ्रमणमा जान लागेको स्वीकार गरेका छन्’ भनी उक्त समाचारमा उल्लेख गरिएको छ । 


साझा प्रकाशनमा अनियमितता भएको सम्बन्धमा शिक्षा मन्त्रालयले छानबिन गरिरहेका बेला संस्थाका अध्यक्ष तथा महाप्रबन्धकलगायत सञ्चालकहरूको टोली जानु उपयुक्त हो कि होइन भनी नागरिक दैनिकले उठाएको सवाल कुनै पनि दृष्टिकोणबाट असान्दर्भिक र अस्वाभाविक होइन । यसमा उल्लिखित समाचार सत्य हो भने दुईजना सञ्चालकमध्ये एकजनाले म जाने होइन भन्नु र अर्काेजनाले मलाई थाहा छैन भन्नु कतिसम्म हास्यास्पद देखिन्छ । यसै प्रश्नलाई मैले सामाजिक सञ्जालमा उठाएकी हुँ । सामाजिक सञ्जालमा यो कुरा प्रसारण भएपछि केही व्यक्तिहरूले गोपनीयता भङ्ग गरिदिएको भनी मसँग प्रकट गरेका आक्रोशहरू म अहिले यहाँ सार्वजनिक गर्दिना, आवश्यक परे पछि सार्वजनिक गर्नेछु । आफू स्वयंले हातमा पासपोर्ट देखाएर जापानी राजदूतावास परिसरभित्र खिचेको फोटो अरूले थाहा पाउन ढिला हुन्छ कि भनेर तात्तातै स्वयं सामाजिक सञ्जालमा प्रकाशन गर्नु अनि तेस्रो व्यक्तिले गोप्यता भङ्ग गरिदियो भनेर आक्रोश प्रकट गर्नु एउटा विवेकी व्यक्तिका लागि कतिसम्म उचित हुन्छ ? नागरिक दैनिकले प्रकाशन गरेको समाचार सामाजिक सञ्जालमा सार्वजनिक भएका सन्दर्भ र सम्बन्धित विभिन्न व्यक्तिहरूसँग भएका कुराकानीमै आधारित रहेको कुरा स्पष्टै देखिन्छ । उल्लिखित सन्दर्भबाहेक यस समाचारमा कसैको गोप्यता भङ्ग भएको र हुनसक्ने अन्य सन्दर्भ के छ ? यति कुरा सार्वजनिक रूपमा स्पष्ट हुँदाहुँदै पनि यसमा दुईजना सञ्चालकले सफेद झुट किन बोलेको होला भन्ने जिज्ञासा मात्र मेरो हो । यदि यो समाचार गलत हो भने यसको खण्डन गर्नुपर्‍यो होइन भने आफैँले सार्वजनिक गरेका घामजत्तिकै छर्लङ्ग प्रसङ्गलाई पनि अन्धकारमा राख्ने असफल प्रयास गरिन्छ भने अन्य बाँकी के नै रहला र ?


झुटको खेतीकै सन्दर्भमा नागरिक दैनिकमा प्रकाशित अर्काे समाचार पनि आश्चर्यलाग्दो रहेको छ । साझाका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझा प्रकाशनमा भइरहेको अनियमितता छानबिन गर्न गठित समितिका सदस्य तथा शिक्षा मन्त्रालयका लेखा अधिकृत भोला पौडेलकी पत्नी नवीना कोइराला पौडेललाई सहायक तृतीय (मुखियासरह) पदमा नियुक्त गरेका छन् । आफूले गरेको अनियमितता ढाकछोप गर्न शर्माले छानबिन समितिका सदस्य पौडेलकी पत्नी नवीना साउन १५ गते साझाको केन्द्रीय कार्यालयमा हाजिर भएको’ कुरा उल्लेख गरिएको छ । 


कुनै ठाउँमा कसैले जागिर पाउनु, खानुलाई अन्यथा मान्नुपर्ने आवश्यकता छैन, पौडेलकी श्रीमतीको पनि जागिर पाउने, खाने हक सुरक्षित छ । उनले पाएको रोजीरोटीको विरोध कसैले पनि गर्दैन तर चारैतिरबाट साझाको विरोध भइरहेको यस्तो असहज परिस्थितिमा छानबिन समितिका सदस्यकी पत्नीलाई नियुक्त गरिनुचाहिँ दालमा कालो छ भन्ने कुराको प्रमाण हो भनेर लाटाबुङ्गाले पनि सजिलै बुझ्न सक्छ भन्ने कुरातर्फ साझाको वर्तमान नेतृत्व एवं सञ्चालक सदस्यहरूको समेत ध्यान नगएको किन होला ? अझ यसभन्दा अगि बढेर ‘मेरी पत्नी साझामा प्रतिस्पर्धाका आधारमा छनोट भएकी हुन्’ भनी सदस्य पौडेलले दिएको प्रतिक्रिया त संसारको कुनै पनि झुटसँग तुलनै हुनसक्दैन किनकि यस समयमा साझा प्रकाशनमा पदपूर्तिका लागि विज्ञापन गरेर प्रतिस्पर्धा गराइएको थियो भन्ने कुरा कसैले गर्छ र त्यसका समर्थनमा कसैले अभिव्यक्ति दिन्छ भने त्यसका लागि कस्ता शब्दका माध्यमबाट कुन स्तरको प्रतिक्रिया आउँछ यो सम्बन्धित व्यक्ति आफैँले विचार गर्नुपर्ने कुरा हो । 


कलम चलाउने व्यक्तिहरूले आफ्नो विवेक बन्धक राखी आफूलाई कहिल्यै निहुर्‍याउनु हुँदैन । खानै नपाएका सन्दर्भमा अर्कै कुरा हो, भोको पेटले कोही आदर्शवादी हुन सक्तैन । वर्तमान सन्दर्भमा मैले देखेका अधिकांश साहित्यकारहरू तीन छाक पेटभरि खान पाउने अवस्थाका भएकाले कसैको सीमित स्वार्थका लागि कसैलाई उचाल्ने र पछार्ने कार्यमा लाग्ने कृत्य एउटा विवेशील व्यक्तिका लागि शोभनीय हुँदैन भन्ने कुरा सबैले बुझ्नुपर्छ । यसैले वर्तमान सन्दर्भमा पनि साहित्यकारले देखेका कुरा सत्यतथ्य रूपमा बोल्नुपर्छ र लेख्नुपर्छ अनि यसरी लेख्दा र बोल्दा कसैले कसैलाई धम्क्याउनेजस्तो अशोभनीय कार्य पनि गर्नु हुँदैन ।  


अन्त्यमा, साझा प्रकाशन नेपाली साहित्यलाई माया गर्ने सबैको साझा चौतारी हो । बाह्य रूपमा यस्ता हास्यास्पद एवं विपर्यासयुक्त स्थितिको सिर्जना भए पनि आन्तरिक रूपमा भएको आार्थिक भाँडभैलो एवं भ्रष्टाचार छानबिन समितिले निष्पक्ष एवं गम्भीर रूपमा छानबिन गरोस् र यस्ता हल्लाहरूचाहिँ झुट मात्र रहेछन् त्यहाँ भ्रष्टाचार भएको रहेनछ भनी छानबिन समितिको प्रतिवेदन सार्वजनिक होस् भन्ने अपेक्षा मजस्तै साधारण शेयर सदस्यको रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप