अमेरिकी भूमिकाले जेलिएको कोरियाली सङ्कट

person access_timeसाउन २२, २०७४ chat_bubble_outline0

‘मेरो विचारमा तिमीले अन्तिम साम्राज्यवादी लडाइँ भोगिरहेका छौँ । यसपछि जनताको आवज गुन्जिनेछ र धनतन्त्रका दिन समाप्त भएर जानेछन् ।’– हार्वड फास्ट लिखित अमेरिकनको पात्र अल्टगेट । 

उत्तरकोरियाविरुद्ध संयुक्त राज्य अमेरिकाको प्रत्यक्ष भिडन्त हुन सक्ने सम्भावनाबारे पश्चिमी सञ्चारमाध्यमबाट बारम्बार समाचार सम्प्रेषित भैरहेको सन्दर्भमा बुद्धिजीवीहरुको त्यतातर्फ ध्यानाकर्षण भएको छ । विश्वको सूचना संयन्त्रमा एकछत्र एकाधिकार जमाएका पश्चिमी सञ्चारगृहहरुलाई नै उदृत गर्दै यहाँ पनि समाचार प्रकाशित र प्रसारित हुने गरेका छन् । जसमा जुनसुकै बेला पनि उत्तरकोरियाका आणविक मिसाइलले दक्षिणकोरिया, जापान र अमेरिकालाई समेत मार हान्न सक्नेबारे बताइरहेका छन् । यी समाचारहरु पढ्दा झण्डै इराक युद्धको वैचारिक अवधारणा निर्माणमा भूमिका खेलेका पश्चिमा मिडियाको युद्ध तयारीको झल्को आउँछ । 

यसको पृष्ठभूमिमा उत्तरकोरियाले सन् २००६, ००९, ०१३ र जनवरी र सेक्टेम्बर २०१६ को गरी पाँचवटा मिसाइलको सफलतापूर्वक गरेको परीक्षण रहेको छ । यिनै मिसाइलको सफल परीक्षणले उत्तरकोरिया आणविक शक्ति सम्पन्न राष्ट्रमा दरिन पुगेको छ भने उसले त्यसैको भरमा अमेरिकी हस्तक्षेपको पनि मुकाविला गरिरहेको देखिन्छ । उत्तरकोरिया ती मुलुकहरुमा पनि दरिन्छ, जोसँग विश्वको चौथो ठूलो सैन्य शक्तिसहितको जनसेना रहेको छ ।  

त्यही शक्तिलाई टुक्राउन र आफ्नो सैन्य क्षेत्र बढाउन अमेरिकाले दक्षिण कोरियासँग पटक–पटक संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । बर्सेनि हुने यस्ता भीषण सैन्य अभ्यासमा आफ्नो सैन्य अड्डामा हाई अलर्टका साथ नाभिकीय अस्त्रसहितको बी–२, र बी–५२ बम वर्षक विमान पठाउनु, टीएचएएडी (टर्मिनल हाई अल्चिटुयुट एरिया डिफेन्स) एन्टी व्यालेस्टिक मिसाइल सिस्टम तैनाथी गर्नु र भीषण तयारीसाथ कम्तीमा ५० हजार दक्षिण कोरियाली तथा अमेरिकी सैनिक छदम युद्धलाई वास्तविक युद्धामा फड्को मार्न खोजेको निहितार्थले कोरियाली प्रायद्वीप अत्यन्त जोखिममा आफ्नो जीवनको कोल्टे फेर्दैछ ।

युद्धको जगमा टिकेको अमेरिकी अर्थतन्त्र र त्यहाँका युद्ध सरदारहरुको टाट पल्टँदो अवस्थालाई भरथेग गर्न यदि कोरियाली प्रायद्वीपमा युद्ध भयो भने एक अमेरिकी जनरलका अनुसार त्यहाँ सम्भावित ७० लाख मानिसको मृत्यु हुन सक्नेछ । कोरियाली प्रायद्वीपमा हुने युद्धले दुई कोरिया र अमेरिकालाई मात्र तान्ने छैन । त्यसले समग्र एसियाको सम्पन्न अर्थतन्त्रलाई समेत नराम्रो गरी विथोल्नेछ । सन् २००८ मा अमेरिकी अर्थतन्त्रमा छाएको आर्थिक मन्दीको जस्तै अवस्था आउन नदिन उनीहरुले विश्वका सबै ठाउँमा युद्ध छेड्ने र आफ्नो अर्थतन्त्रको भरथेग गर्न चाहन्छन ।

त्यसको उदारहरण दक्षिणकोरियाको सैन्य गतिविधि निषेधित क्षेत्रको भ्रमण गरेर हालै फर्किएका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको अभिव्यक्ति हो । उनले उत्तरकोरियासँगको रणनीतिक धैर्यताले अब काम नगर्ने र उत्तरकोरिया विरुद्ध सैन्य कारवाही विचारणीय हुनसक्ने सञ्चारमाध्यमलाई प्रतिक्रिया दिए । रेक्स टिलरसनको अभिव्यक्ति आएसँगै अमेरिकाकै पूर्व विदेशमन्त्री क्रिस्टोफर रोवर्ट हिलले ट्रम्पको विदेश नीति बाराक ओवामाको भन्दा कडा हुन सक्ने सङ्केत देखिएको बताए । यसै सन्दर्भमा उत्तरकोरिया स्थित नेसनल पिस कमिटी अफ कोरियाले ०९ मार्च २०१७ मा विज्ञप्ति निकाल्दै दक्षिणकोरियाको कठपुतली सरकारको सेनालाई अमेरिकी राष्ट्रपतिले टीएचएएडी डिप्लोवायड गर्नु कोरिया वरपरका ठूला शक्तिका विरुद्धसमेत लक्षित हुनसक्ने सतर्क गरायो । उसले अमेरिकी र दक्षिण कोरियाली कठपुतलीहरुले गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी समेत दियो । 

कोरियाली प्रायद्वीपमा उत्तेजक तत्व
एकतर्फ अमेरिकी शासकमा हावी भएको सर्वोच्चताको अहम् र त्यसलाई आफ्नो अनुकुलतामा प्रयोग गर्ने पश्चिमी मिडिया कोरिया प्रायद्वीपमा शान्ति हुन नदिनेमध्येका एक कारण हो । त्यसो त यी मात्र मूल कारण हुन भन्ने हो भने घटनाको सामान्यीकरण हुन्छ । यसको मूल कारणहरुमध्ये अमेरिकाको प्रभुत्ववाद लागू गराउने सोच, विभिन्न देशहरुलाई नियन्त्रणमुखी सैन्य क्षेत्रको स्थापना, तथा एसियामा उदाउँदै गरेको चीनलाई उठ्न नदिनु रहेको छ । 

जसमा अमेरिकाले दक्षिणकोरियालाई आफ्नो प्रभावमा पारी संयुक्त सैन्य अभ्यास, थार्ड जस्ता एन्टी व्यालेस्टिक मिसाइल र हजारौँ हजार सैन्य गतिविधि अगाडि बढाएको पाईन्छ । अमेरिकी प्रयोजनमा संयुक्त राष्ट्रसंघाद्धारा मानवअधिकार रिकर्ड जाँचका लागि आयोग गठन गरिए पनि त्यसलाई आड बनाई अन्य गतिविधि गर्दै आउनु यस क्षेत्रमा अशान्ती छाउनुको कारण हो । उत्तरकोरियाले गोयवल्स शैलीमा हुने प्रचार र विभिन्न बाहानामा लगाइने नाकाबन्दीलाई सन् १९५३ यता झण्डै ७० बर्षदेखि सामना गर्दै आउनुले यसलाई थप पुष्टी गरेको छ । 

पश्चिमी सञ्चारमाध्यमहरुले उत्तरकोरियालाई आक्रमणकारी र दोषीका रुपमा चित्रित गर्दै आउनु यस क्षेत्रमा युद्धको मानसिकता तयारीको महत्वपूर्ण कडी हो । जुन तथ्यहरुको विपरीत हुने गरेका छन् । तर, नेपाली मिडियाहरुले पनि त्यसको वास्तविक धरातलमा नगई पश्चिमी मिडियालाई नै उदृत गर्दै गरेको पाइन्छ । त्यसैमध्येको एक हो सन् २००६ र २००९ मा उत्तरकोरियाले परमाणु परीक्षण ग¥यो भन्दै अमेरिकाले आफ्नो पश्चिमीतट अलास्कामा ४४ वटा मिसाइल बेटरिज तैनात ग¥यो । साथै तत्कालीन राष्ट्रपति ओबामाले उत्तरकोरियालाई डुबाई छाड्ने प्रतिवद्धता जनाए । तर मूलधारका सञ्चारमाध्यमहरुले यसतर्फ ध्यान नै दिएनन् । 

तथ्यलाई कसरी बुझ्ने 
क) फरवरी २०१२ मा वेजिङमा छ पक्षिय (अमेरिका, दक्षिणकोरिया, उत्तरकोरिया, चीन, जापान र रुस) सम्झौता वार्तामा फेरी पनि मुख्यतः दुई कुराहरु स्विकार गरियो । पहिलो– उत्तरकोरियाद्धारा लामो दुरीको मिसाईल र परमाणु परिक्षण रोक्ने तथा अन्तर्रा्ष्ट्रिय एजेन्सी आईएइएबाट आफ्नो सम्यन्त्रको परिणक्ष अनुमति दिने । दोस्रो– उत्तरकोरियाले त्यसो गरे बापत अमेरिकी सरकारले २ लाख ४० हजार मेट्रिक टन पौष्टिक आहार उपलब्ध गराउने ।

तथा आपसी सम्मान, सम्प्रभूता तथा समानताको दुवै पक्षले बढावा दिँदै सम्बन्ध सुधार गर्ने । 

तर वार्ताको प्रारम्भ सन् २००३ देखि २००५, २००७ र २०१२ सम्म आई पुग्दा पनि अमेरिकाद्धारा कुनै पनि बुँदामा यसको पालना गरिएन । अमेरिकी प्रशासनको एउटै मात्र ध्यये त्यसबेलामा के देखियो भने सम्झौता मार्फत विभिन्न बाहानामा उत्तरकोरिया प्रवेश गर्ने । उत्तरकोरियामा सैन्य प्रभाव विस्तारमा जोड दिने । 

ख) सन् २००६ देखि हालसम्म सन्युक्त राष्ट्रसङ्घ, अमेरिका, जापान, युरोपियन युनियन र दक्षिणकोरिया लगायतबाट उत्तरकोरिया विरुद्ध अनेकौँ प्रतिबन्ध लागाउँदै आएको छ ।

ग) बर्सेनि उत्तरकोरियाविरुद्ध हुँदै आएको सैनिक अभ्यासमा राष्ट्रसङ्घले कुनै भूमिका खेल्न नसकेको बरु उल्टै विभिन्न बाहानामा उत्तरकोरिया विरुद्धनै विभिन्न प्रस्ताव पारित हुने गरेको । 

 

घ) सन् १९५३ मा अस्थायी युद्धविराम भएदेखि आजसम्म उत्तरकोरियाको प्राथमिक र मूल कार्य आफ्नो देशको शन्तिपूर्वक एकीकरण गर्नु र जापानसँग क्षतिपूर्ति सम्झौता तथा सम्बन्धलाई सामानन्यकरण गनरहेको बुझिन्छ । विगत ७० वर्षदेखि उत्तरकोरिया निरन्त अमेरिकी प्रमाणुअस्त्रको धम्कीबाट त्रस्त हुनुपर्ने । अमेरिकी सेनाका चिफ जनरल डगलस मैकार्थरले आफूले उत्तरकोरियामा २० भन्दा धेरै परमाणु बम खसाल्न चाहेको तर सम्भव हुन नसकेको एक अन्तरवार्ताका क्रममा भने । 

उत्तरकोरिया विरुद्ध अमेरिकी कार्यनीति
क) स्वयम् र सहयोगी मार्फत एकपछि अर्को आर्थिक, राजनीतिक र प्राविधिक नाकाबन्दी लगाउँदै कोरियालाई एक्ल्याउने । 
ख) भ्रमपूर्ण गोयवल्स शैलीको प्रयोग गर्ने । 
ग) उत्तरकोरियाभित्र विग्रह पैदा गराउने । 
घ) कम घनिभूत युद्ध जारी राख्दै तर्साउने र उत्तरकोरियालाई रक्षा खर्चमा बृद्धि गराउन बाध्य पार्ने । 
ङ) मौका छोपेर युद्ध थोपर्ने । 

अन्त्यमा 
उत्तरकोरिया इराक, लिविया, जस्तो सजिलो शिकार होइन । वास्तविक युद्ध भएमा अमेरिकी शासक वर्गले मात्र नभई निर्दोष अमेरिकी जनताले पनि अकल्पनीय दुःख व्यवहोर्न पर्नेछ । तसर्थ कोरियाली जनताको इच्छाविरुद्ध विश्व शक्तिबाट जबरजस्त दुत्कारिएको खण्डमा भयावह परिणाम आउन नदिन विश्व समुदायले नै उत्तरकोरयालाई सहयोग गर्नुपर्ने देखिन्छ । कोरियाली जनताले आफ्नो भाग्यको फैसला आफैले गर्न पाउनु पर्नेहुन्छ न कि कुनै प्रभूत्ववादी मुलुकबाट । सबै घटनाक्रम र तथ्यांकलाई केलाउँदा के देखिन्छ भने सम्पूर्ण क्षेत्रको अशान्तिमा विश्व महाशक्तिको रुपमा रहेको अमेरिकी साम्राज्यवाद नै कारक हो । 

चाहे तपाई अफगानिस्तान जानुस, इराक जानुस, लिविया जानुस अथवा आजको सिरिया, तपाईले राम्रो गरी केलाउनुस्, त्यहाँबाट आउने तथ्य र निष्कर्ष एउटै हो– अमेरिकी शासकहरुको युद्ध मनोविज्ञान । चाहे हिजोका शासक हुन अथवा आजका । अमेरिकी शासक के सोच्दछन भन्ने बुझ्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ निकै महत्वपूर्ण छ ।– ‘अमेरिकाले उत्तर कोरियालाई एक्लै तह लगाउनेछ, चीनले सहयोग गरोस वा नगरोस’– डोनाल्ड ट्रम्प, वासिङटन पोस्ट । 

तर माथि भनेझै एक्साइशौँ शताब्दीका स्पार्टकसहरु हार्ने छैनन् बरु उनीहरु न्यायको पक्षमा विश्वको हरेक कुनाबाट आफ्नो सङ्घर्ष जारी राख्नेछन् । 

binodkadhikari2017@gmal.com

सन्दर्भ सामाग्री
१. बीबीसी डटकम, एशिया, North Korea Nuclear Programme : How Advance Is It.। 
२. समायान्तर, जुन २०१३ वर्ष, ४४ अङ्क ९ । कोरियालीद्वीपका सङ्कट, (प्रकाश चौधरी)
३. अन्नपूर्ण पोष्ट, २० चैत्र २०७३ । 
४. THAAD, Deployment will bring catastrophic Disaster to South Korea, Spokesman For NPCk\ (9th march 2017)
५. Sanctions Against North Korea (From Wikipedia, Free encyclopedia)
६. कोरिया विभाजनको नालेवेली http://www.onlinekhabar.com/2013/04/59697
७. The New York Times– North Korea's Nuclear Qmength, Encatsulated in an online ad for lithium by, David Sanger and Wifll\iam j\ Broad . 3 Aprlif\ 2017. Lorean News Agency via Agence France Prosse, Getty Images .

विनोद अधिकारी

विनोद अधिकारी यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ